भारत: विमानको ढोका बन्द गर्न लाग्दा कर्मचारी भुइँमा

एअर इन्डिया

तस्बिर स्रोत, Getty Images

भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्।

सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको बोइङ-७७७ को उडानका लागि तयारी गर्दै थिइन्।

सो घटनालाई दु:खद भन्दै एअर इन्डियाले एउटा विज्ञप्तिमा त्यसबारे अनुसन्धान हुँदै गरेको जनाएको छ।

उसका अनुसार ती कर्मचारी बोइङ-७७७ को ढोका लगाउन लाग्दा भुइँमा खस्न पुगेकी हुन्।

अस्पताल पठाउनुअघि उनलाई विमानस्थलमा चिकित्सकहरूले परीक्षण गरेका थिए।

विमानस्थलका एक अधिकारीले समाचारपत्र द हिन्दूलाई ती कर्मचारी होसमै रहेकी तर उनको दाहिने खुट्टाको हड्डी चर्किएको र उनलाई अन्यत्र पनि चोट लागेको बताएका छन्।

पुराना घटना

गत हप्ता दक्षिण भारतको त्रिचीबाट दुबईका लागि उडेको एअर इन्डियाको एउटा विमान धावनमार्गनजिकै रहेको एउटा पर्खालमा ठोक्किएको थियो।

त्यस विमानमा १३० यात्रु र चालकदलका छ सदस्य थिए।

विमान पर्खालमा ठोकिएको थियो

तस्बिर स्रोत, Air India

एअर इन्डिया

तस्बिर स्रोत, Air INdia

सो विमानलाई मुम्बई पठाइएको थियो र त्यसले त्यहाँ सकुशल अवतरण गरेको थियो।

केही हप्ताअघि मध्यआकाशमा रहेको जेट एअरवेजका ३० भन्दा बढी यात्रुहरू विमानभित्र हावाको चापको समस्याका कारण बिरामी परेका थिए।

सो विमानका चालकहरूले चाप नियन्त्रण गर्ने एउटा स्विच थिच्न बिर्सिएका थिए।

चापको सन्तुलन नमिल्दा धेरै जनाको नाक र कानबाट रगत बगेको थियो।

उनीहरूको औषधोपचार गरिएको थियो।