पहिला राजपरिवार नजिक, पछि आलोचक बनेका साउदी पत्रकार बेपत्ता

तस्बिर स्रोत, AFP
साउदी अरेबियाका नीतिहरूको कटु आलोचक रहेका एक साउदी पत्रकार टर्कीस्थित आफ्नो देशको वाणिज्य दूतावास गएपछि बेपत्ता भएका छन्।
वाशिङ्टन पोस्ट पत्रिकाका लागि पनि काम गर्दै आएका जमाल खशोग्गी मङ्गलवार इस्तानबुलस्थित वाणिज्य दूतावास गएका थिए।
वाशिङ्टन पोस्टले भनेको छ, "कागजपत्रसम्बन्धी नियमित काम पूरा गराउन उनी गएका थिए, त्यसपछि सम्पर्कमा छैनन्।"
उक्त पत्रिकाले अगाडि भनेको छ, "उनलाई पक्राउ गरिएको छ कि सोधपुछ गरिँदैछ अथवा उनलाई कहिले रिहा गरिनेछ भन्ने हामीलाई थाहा छैन "
अत्तोपत्तो
उनीसँग बिहे छिनोफानो भइसकेकी महिला पनि खशोग्गीसँगै गएकी थिइन्। तर उनलाई वाणिज्य दूतावास छिर्न दिइएन।
खशोग्गीलाई मोबाइल पनि बुझाउन भनिएको थियो। त्यस्तो चलन अरू देशका दूतावास र वाणिज्य दूतावासमा पनि छ।
बिहे दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि उनी वाणिज्य दूतावास गएको बताइएको छ।

तस्बिर स्रोत, Reuters
उनीसँग बिहे छिनोफानो भइसकेकी ती महिलाले वाणिज्य दूतावास बन्द नभएको बेलासम्म आफूले कुरेको वाशिङ्टन पोस्टलाई बताइन्। त्यसपछि अहिलेसम्म खशोग्गी आएका छैनन्।
उनका अर्का साथी तुरान किस्लाक्सीले वाशिङ्टन पोस्टलाई बताएअनुसार उनीबारे प्रहरीलाई सचेत गराइएको थियो र त्यसको मध्यरातदेखि उनको अत्तोपत्तो छैन।
"मलाई शतप्रतिशत विश्वास छ - उनी भित्रै हुनुपर्छ।"
बेपत्तासम्बन्धी कुनै भरपर्दो सूचना नहुँदै खशोग्गीको वेब्साइटले घोषणा गरेको छ, "जमाललाई गरिफ्तार गरिएको छ।"
सम्बन्ध
कतारस्थित अल-जजीरा नेटवर्कका अनुसार टर्कीको प्रहरीले हराइरहेका ती लेखकको खोजी थालेको छ।
खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका छन् र उनी साउदी सरकारका स्थापित आलोचक हुन्।
खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको उनी आलोचक रहिआएका छन्।
यसअघि अल-वतन पत्रिका र केही समय चलेको साउदी टीभी न्यूज च्यानलका सम्पादक रहिसकेका खशोग्गीले साउदी अरेबिया र मध्यपूर्वबारे बीबीसी कार्यक्रमका लागि पनि काम गरिसकेका छन्।
उनी साउदी राजपरिवारका सल्लाहकार पनि थिए। कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा हेर्ने गरिन्थ्यो।
तर प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि गत वर्ष उनले देश छाडेका थिए।
किशोर ओसामा बिन लादेनसँग नजिकको सम्बन्ध रहेकोमा पनि चिनिएका खशोग्गीले उनीसँग सन् १९८० को दशकमा अफगानिस्तानको व्यापक भ्रमण गरेका थिए।
यद्यपि उनले सार्वजनिक रूपमै ओसामा बिन लादेनका दर्शनहरूको आलोचना गरे। र, सन् २००१ मा अमेरिकामा गरिएको आतङ्कवादी आक्रमणभन्दा पहिलादेखि नै उनी ओसामा बिन लादेनको सम्पर्कमा थिएनन्।









