पूर्वसहयात्री भन्छन्, ‘कारबाही गर्नुपर्ने त प्रचण्डजीहरूलाई हो’
नेत्रविक्रम चन्द नेतृत्वको दलका प्रवक्ताले ‘नेपाली जनताको पक्षमा परिवर्तनका निम्ति एकीकृत जनक्रान्ति गर्ने’ बताएका छन्।
बीबीसीसँग कुरा गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले त्यो सशस्त्र वा शान्तिपूर्ण हुन्छ भन्नेबारे प्रस्ट खुलाएनन्।
तर उनले त्यसक्रममा जनताले नभई जनताविरुद्ध काम गर्नेहरूले 'क्षति' बेहोर्ने चेतावनी दिए।
प्रचण्ड लगायतका आफ्नै पूर्वनेता आफूहरूलाई दमन गर्न लागिपरेको आरोप लगाउँदै उनले भने, "त्यो हो भने त नेपाली जनताले क्रान्तिको अवरोध गर्नेलाई दण्डित गर्छ।"
विश्वकर्मा तत्कालीन माओवादी पार्टीका तर्फबाट मन्त्री पनि बनेका थिए।
उनले गत चुनावका क्रममा भएका हिंसा सरकारी कदमका कारण भएको बताए।
तर चुनावविरुद्धको पार्टीको नीतिका क्रममा भएका 'सङ्घर्षको जिम्मेवारी लिने' उनको भनाइ छ।
आफ्ना पूर्वनेता रामबहादुर थापा गृहमन्त्री हुँदा गिरफ्तार गरेर हत्कडी लगाइएकोमा पनि उनले चर्को आक्रोश व्यक्त गरे।
उनी सर्वोच्च अदालतको आदेशपछि मुक्त भएका हुन्।
विश्वकर्माले भने, "खास हत्कडी लगाउनुपर्ने र कारबाही गर्नुपर्ने त प्रचण्डजीहरूलाई हो। जनताले त्यो गर्छन्।"