पाकिस्तान: नयाँ सरकार बनाउन इमरान खान अग्रसर

पाकिस्तान

तस्बिर स्रोत, EPA

पाकिस्तानमा बुधवारको आम चुनावमा सबभन्दा धेरै सिट जितेको पूर्व क्रिकेटर इमरान खानको दल पीटीआईले गठबन्धन सरकार बनाउने अग्रसरता लिएपछि त्यहाँ राजनीतिक परामर्श चलिरहेको छ।

सबैभन्दा ठूलो दलको रूपमा उदाए पनि पीटीआई स्पष्ट बहुमत पाउन विफल भएको छ।

समर्थनको खोजी

इमरान खानको दलले साना दलहरू र स्वतन्त्र उम्मेदवारहरूको समर्थन खोजीरहेको छ।

निर्वाचन आयोगले घोषणा गरेको हालसम्मको परिणामअनुसार पीटीआईले देशका चारमध्ये खैबर पख्तुनख्वा प्रान्तमा आफ्नो पकड कायम राखेको छ।

त्यस्तै पाकिस्तानको सबैभन्दा बढी जनसंख्या रहेको प्रान्त पञ्जाबमा मिलिजुली सरकारको नेतृत्व गर्न सक्ने देखिएको छ।

विपक्षी दलहरूले चुनाव प्रक्रियाको आलोचना गरिरहेका छन्। ती मध्ये केहीले परिणाम अस्वीकार गर्ने बताएका छन्।

नयाँ अध्याय

पूर्व क्रिकेट खेलाडी इमरान खानको दलको चुनावी जितलाई दशकौँदेखि दुई प्रमुख दलहरू र शक्तिशाली सेनाको दबदबा रहेको पाकिस्तानको राजनीतिमा नयाँ अध्यायको आरम्भको रुपमा स्वागत गरिएको छ।

बीबीसीकी दक्षिण एशिया सम्पादक जिल मक्गिभरिङ भन्छिन, "इमरान खानलाई राजनीतिको किनाराबाट केन्द्रमा आइपुग्न दुई दशकभन्दा बढी समय लाग्यो।"

उनका कयौं समर्थक, खासगरी पाकिस्तानका शहरी युवा मतदाता भ्रष्टाचार तथा राजनीतिक खिँचातानीको न्यूनीकरण अनि बढी प्रभावकारी क्षमतासहितको नौलो खालको राजनीति चाहन्छन्।

त्यहाँ तत्काल आर्थिक विकास र रोजगारी तथा स्थिरताको खाँचो देखिन्छ, जुन विदेशी लगानीबाट सम्भव हुनसक्छ।

इमरान खानको सफलताले आशा जगाएको छ, तर उनले आफूले गरेको वाचा अनुसार कति परिवर्तन ल्याउन सक्छन् भन्नेमा त्यसको वास्तविक परीक्षण हुनेछ।