संसदमा सरकार विरुद्ध कांग्रेस

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापनका लागि भिन्न खालको विधेयक ल्याएदेखि नै विपक्षी दल नेपाली कांग्रेस सरकारसँग असन्तुष्ट थियो।
अध्यादेश निस्कृय भएपछि विवादास्पद प्रतिस्थापन विधेयककै हुबहु नियमित विधेयक सरकारले पुन: ल्याएपछि ऊ थप चिढिएको छ।
त्यसमाथि उसले शुक्रवार संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यसूचीमा नपरेपछि काँग्रेसले संसदको नियमित बैठक नै अवरुद्ध गरायो।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गराउनु पर्ने अवस्था किन आयो त?
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले भनिन्, "सरकारले दूरदराजमा जनताको प्रतिकूल भएको जुन विधेयक ल्याउने कोसिस गरिरहेको छ र अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको छ। त्यसतर्फ सरकारको ध्यान आकर्षण गर्न र त्यो माग प्रति ध्यान तान्न यो प्रस्ताव ल्याएका हौं। "
छलफल
अब उक्त प्रस्तावलाई संसदको आगामी बैठकमा छलफल गराइने सभामुख कृष्णबहादुर महराले बताए।
उनले भने, "मैले पनि त्यो जरुरी विषय भन्ने ठानें। तर शिक्षामन्त्री बाहिर भएकाले आज छलफल हुन नसकेको हो। त्यसैले आगामी बैठकमा छलफल हुन्छ, मैले सरकारमा पठाइ पनि सकें।"
संसदको बैठकमा बारम्बार सभामुखले बस्न आग्रह गरे पनि कांग्रेसका सबै सांसद आफ्नो सिटबाट उठे पछि संसद बैठक असार २५ गते सम्मका लागि स्थगित गरिएको छ।
स्वास्थ्य अवस्था
डाक्टर गोविन्द केसी जुम्लामा अनसन बसेको शुक्रबार सातौँ दिन पुगेको छ।
उनको स्वास्थ्यको पछिल्लो अवस्थाको जानकारी दिंदै उनको उपचारमा संलग्न चिकित्सक प्रविणकुमार गिरीले भने, "खानेकुरा केही नखाएकाले समस्या हुने नै भयो। पिसाबमा पनि समस्या देखिएको छ, अक्सिजन दिएरै राखेका छौं।"
संसदमा दर्ता भएको सार्वजनिक महत्त्वको प्रस्तावमा सभामुखले बढीमा २ घण्टा सम्म छलफल चलाउने र उक्त छलफलमा सांसदहरुले आफ्ना भनाइ राखिसके पछि सम्बन्धित मन्त्रीले जवाफ दिनु पर्ने व्यवस्था संसद नियमावलीमा छ।









