आप्रवासन संकट: ईयू नेताहरूबीच सहमति

तस्बिर स्रोत, Getty Images
युरोपेली संघका नेताहरू ब्रसल्समा नौ घण्टा भन्दा लामो शिखर बैठकपछि आप्रवासन सम्बन्धी नयाँ नीतिमा सहमतिमा पुगेका छन्।
उक्त प्रस्तावले शरण खोजीरहेका आप्रवासीहरूलाई युरोपभित्र हिँडडुल गर्न बन्देज लगाएको छ र शरण लिनका लागि आवेदनहरू लिन केन्द्रहरू खोल्ने वाचा गरेको छ।
तर त्यस्ता केन्द्रहरू कुन कुन ठाउँमा खोलिने छन् भन्ने खुलाइएको छैन।
यसै गरी युरोपेली संघ बाहिरका स्थानहरूमा पनि आप्रवासन केन्द्र खोल्न सकिने सम्भावनातर्फ पनि ध्यान दिने भनिएको छ।
सहकार्य
आप्रवासीको आवतजावतलाई बन्देज लगाउन टर्की र उत्तर अफ्रिकी देशहरूलाई थप आर्थिक सहायता उपलब्ध गराइने प्रतिबद्धता पनि जनाइएको छ।

तस्बिर स्रोत, AFP
रोममा नयाँ दक्षिणपन्थी सरकारको नेतृत्व गरिरहेका इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धता नजनाइए शिखर बैठकको अन्त्यमा जारी गर्ने भनिएको संयुक्त वक्तव्यविरुद्ध 'भिटो' अर्थात विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएका थिए।
कोन्टेले इटली अब एक्लो नरहेको बताए। मुख्यगरी अफ्रिकाबाट आउने हजारौँ आप्रवासीहरूको मूल प्रवेशबिन्दु इटली हो।
फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँले युरोपेली सहकार्यको जित भएको बताए।
यसअघि जर्मन चान्सलर एङ्गेला मर्कलले पछिल्लो मुद्दाले युरोपलाई महत्त्वपूर्ण क्षणतर्फ डोर्याइरहेको बताएकी थिइन्।








