विश्वकप हेर्दै गर्दा बिसन्चो भएका म्याराडोना भन्छन्, 'सकुशल छु'

तस्बिर स्रोत, AFP
आर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोनाले आफू सकुशल रहेको बताएका छन्।
जारी विश्वकप २०१८ मा मङ्गलवार राति आर्जेन्टिना र नाइजिरियाबीच भएको समूह चरणको खेल हेर्दै गर्दा उनलाई केही बिसन्चो भएको थियो। त्यसपछि एक जना चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए।
म्याराडोनाले आफ्नो गर्दन धेरै दुखेको बताए।
उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्वास्थ्यकर्मीले खेलको मध्यान्तर हुँदा आफ्नो परीक्षण गर्दै गरेको तस्बिर हालेका छन्। तर आफूलाई अस्पताल लगिएको कुराको भने उनले खण्डन गरेका छन्।
"म सबैलाई आफू सकुशल छु भन्न चाहन्छु," उनले लेखेका छन्।
'दाउमा सबै कुरा'
"मलाई डाक्टरले जाँचे र दोस्रो हाफअघि नै घर जान भने। तर म बस्न चाहन्थेँ किनभने हामीले सबै कुरा दाउमा राखेका थियौँ। म कसरी जानसक्थेँ र?"
सो खेलको अन्तिम समयतिर आर्जेन्टिनाले नाइजिरियालाई थप एक गोल गरेर दोस्रो चरणमा आफ्नो प्रवेश सुनिश्चित गरेको थियो।
शनिवार आर्जेन्टिना र फ्रान्सबीच नकआउट चरणमा प्रतिस्पर्धा हुँदैछ।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, AFP
इन्टर्नेटमा प्रकाशित भिडिओमा मङ्गलवारको खेल सकिएपछि उनलाई बसेको ठाउँबाट उठ्न सङ्घर्ष गर्दै गरेको देखिएको थियो।
तर पछि मस्को जान उनी विमान चढेको बीबीसी स्पोर्टले जानकारी पाएको छ।
आँशु र अशिष्ट सङ्केत
नाइजिरियाले गोल फर्काएर खेललाई १-१ गोलको बराबरीको स्थितिमा पुर्याउँदा म्याराडोनालाई भावविह्वल भएर आँशु झार्दै गरेको देखिएको थियो।
त्यो खेलमा विजयी नभएको भए आर्जेन्टिना विश्वकपबाट बाहिरिन्थ्यो।
रोहोले खेलको अन्तिम समयमा गोल गरेर आर्जेन्टिनालाई जिताउँदा म्याराडोनाले हर्षोन्मत्त भएर दुवै हातका माझी औँला उठाएर अशिष्ट सङ्केत गरेको देखियो।
मेस्सीले पहिलो गोल गर्दा पनि उनी खुसी भएका थिए।
आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा म्याराडोना राष्ट्रिय टोलीका कप्तान थिए।
म्याराडोनाले आर्जेन्टिनाका लागि ९१ खेल खेलेर ३४ गोल गरेका थिए। पछि उनी राष्ट्रिय टोलीका प्रबन्धक पनि बने।
'आफैँलाई हास्यास्पद बनाउँछन्'
बीबीसी रेडिओ फाइभ लाइभसँगको अन्तर्वार्तामा म्याराडोनाका पूर्वप्रतिनिधि जन स्मिथले भने:
डिएगो साह्रै ऊर्जाशील व्यक्ति हुन् र उनी सधैँ त्यस्तै छन्। सन् १९८० र १९९० को दशकमा म उनीसँग हुँदा उनी जीवनको उचाइमा थिए। तर अहिले उनको समस्या भनेको अनिद्रा हो। त्यसैले उनी निद्रा लगाउने औषधि खान्छन्। दिउँसो अरू मदिरा जस्ता पदार्थ उपभोग गरे भने त्यसले उनलाई प्रभावित गर्छ।
कहिलेकाहीँ उनी आफैँलाई हास्यास्पद बनाउन रुचाउँछन्। मानिसहरू उनको आलोचना किन गर्छन् भन्ने मलाई थाहा छ। तर उनी राम्रो मन भएका, प्यारा व्यक्ति हुन्।
उनले कुनै बेला एकदमै मूर्खतापूर्ण काम गरेर केही नराम्रो नहोओस् भन्ने म चाहन्छु।










