वैदेशिक रोजगारी: मलेसियासँग कूटनीतिक छलफल जारी

भिसा लगायत विभिन्न शीर्षकका अतिरिक्त शुल्क हटाउन नेपालले थालेको कूटनीतिक पहलको मलेसिया सरकारले तीन हप्ता बितिसक्दा समेत कुनै जवाफ नपठाएको सरकारी अधिकारीहरूले बताएका छन्।
दुई देशबीच कूटनीतिक पहल जारी रहेका बेला वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य मध्येको एक मलेसियामा जाने हजारौँ नेपाली कामदार प्रभावित भइरहेको व्यवसायीहरूले बताएका छन्।
सरकारी अधिकारीहरूले भने मलेसियाबाट जबाफ नआउँदासम्म पहल जारी राख्ने बताएका छन्।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मलेसिया जानका निम्ति आवश्यक सुरक्षा सम्बन्धी पत्र आइएससी दिने प्रक्रिया बन्द हुँदा गएको तीन हप्तामा १० हजार भन्दा बढी कामदारहरु रोकिएका छन्।
मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका अनुसार कामगर्ने अनुमति सहितको प्रवेशाज्ञा अर्थात भिसा लिन आउनेहरुको संख्या शून्य जस्तै भइसकेको छ।
'लगभग शून्य'

भीएलएनका एकजना अधिकारी दिपक गिरीले भने, "भिसाको लागि हाम्रो कार्यालय खुल्ला नै छ। पहिला नै ओएससी गर्नेहरुले भिसा पाएका छन्। तर व्यापक तलमाथि परिसकेको छ। पहिले दैनिक औसतमा ५ देखि ६ सय सम्मले भिसा लगाउँथे भने अहिले स्थिति लगभग शून्य भइसकेको छ।"
सरकारले मलेसिया जाने कामदारहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त रकम उठाएको भन्दै भीएलएनका सञ्चालक लगायत मेडिकल जाँच गर्ने संस्थाहरूका सञ्चालकहरू गरी ४० जनालाई पक्राउ गरी कारबाही अगाडि बढाइरहेको छ।
भीएलएनका सञ्चालक राम श्रेष्ठ बुधवार धरौटीमा छुटेपनि त्यसलगत्तै उनी फेरी पक्राउ परेका थिए।
नेपाल सरकारको कामलाई मलेसिया दूतावासले भने उनीहरुको कार्यक्षेत्रमा गरिएको हस्तक्षेप ठानेको नेपाल स्थित मलेसियाको राजदूतावासले त्यसपछि आइएससी प्रक्रिया रोकिदिएको थियो।
श्रम मन्त्रालयले भने अल्पकालीन रूपमा घाटा हुने भएपनि गैरकानुनी रकम असुली बन्द गरेरै छोड्ने अठोट लिइएको बताएको छ।
प्रतीक्षा
तर अतिरिक्त शुल्क हटाउन नेपालले मलेसिया सरकारसँग गरेको कूटनीतिक पहलको भने अझैसम्म कुनै जबाफ नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह-प्रवक्ता रामबाबु ढकाल भन्छन्, "दुई सरकारकाबीचमा यो विषयमा छलफल भेटघाट भएर कुराकानी भइ नै रहेको छ। उहाँहरु नकारात्मक पनि हुनुहुन्न र सकारात्मक पनि हुनुहुन्न। छलफल निष्कर्षमा पुगिसकेको छैन। जारी नै छ।"
कामदार जाने प्रकृया अबरुद्ध भएसँगै उनीहरूसँग जोडिएका अन्य व्यवसायहरू जस्तै हवाई टिकट, ट्राभल एजेन्सीको काम र होटलको व्यापारमा समेत असर पर्न थालेको बताइएको छ।
यदयपी मलेसियामा हालै नयाँ सरकार गठन भएको र त्यहाँको ठूलो चाड रमजानका कारण जवाफ आउनमा ढिला भएको भन्दै चाँडै नै सकारात्मक जवाफ आउने आशा नेपाली अधिकारीहरूले व्यक्त गरेका छन्।









