रमजान: मुसलमान महिलाको व्यस्तता

मुसलमानहरुको पवित्र महिना रमजान चलिरहेको छ। रमजानभरि उनीहरू दिनभरि निराहर ब्रत अर्थात् रोजा बस्छन्।
अरू दिनभन्दा रोजाका बेला मुस्लिम महिलाहरूको भूमिका फरक र महत्त्वपूर्ण हुने उनीहरूले बताएका छन्।
उनीहरूका अनुसार दिनभरिको रोजापछि खाने खानासँगै एकाबिहानै उठेर परिवारका लागि मिठोमिठो परिकार तयार गर्नेदेखि घर सरसफाइ गर्ने लगायत धेरै भूमिका महिलाहरूको हुन्छ।
मुसलमानहरूको बस्ती रहेको सुनसरीको दुहबीस्थित छातावेली गाँउ त्यससम्बन्धी एउटा प्रतिनिधि स्थान हो।

व्यस्तता
नजिकै रहेको मस्जिदबाट नमाज पढ्ने समयको सूचनादेखि बिहान उठेर सेहरी खाने र बेलुका इफ्तारको समयको सूचना प्रत्येक दिन गाँउलेहरूलार्इ दिइन्छ।
त्यही सूचना अनुसार महिलाहरूले परिवारका लागि विभिन्न किसिमका मिठो-मिठो परिकार तयार गर्ने छातावेलीको समुरुन निशाले बताइन्।

रमजानको अन्तिम दिनलार्इ इद-उल-फित्र भनिन्छ ।
त्यो दिन पुरूषहरू इदगाहमा भेला भएर इद मनाउँछन् भने महिलाहरू आफ्नै घर-घरमा भेला भएर शुभकामना आदान प्रदान गर्ने चलन रहेको हुस्नारा खातुनले बताइन्।
पुरुषहरू नमाजका निम्ति मस्जिद जान्छन् भने महिलाहरूको निम्ति घरमा नै मस्जिद हो।

घरको कामका कारण महिलाहरूलार्इ नमाज पढ्न भ्याइ नभ्याइ हुन्छ तरपनि नमाज पढ्ने समय भने सदैव व्यवस्थापन गर्ने गरेको जैमुल खातुन बताउँछिन्।








