उपेन्द्र यादव: 'अहिले प्रदेश २ को मुख्यमन्त्री परिवर्तन हुँदैन'
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गरको नेकपाप्रति संविधान संशोधनका विषयमा अन्तिम पटक विश्वास गरेर सत्ता सहयात्रा गर्न तयार भएको बताएका छन्।
नेकपाका दुवै अध्यक्षले संशोधन गर्ने लिखित प्रतिबद्धता जनाएकाले अविश्वास गर्नु पर्ने कारण नभएको उनको भनाइ छ।
तर संशोधन नहुने अवस्था आएमा निर्णय गर्न आफ्नो दल स्वतन्त्र रहेको पनि उनले बताए।
मुख्यमन्त्रीप्रति असन्तुष्टि
फोरम नेतृत्वको प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको भोलिपल्ट नेकपा र फोरमबीच दुई बुँदै सहमति भएको हो।
प्रधानमन्त्री केपी ओलीले त्यहाँका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको केन्द्र सरकारप्रतिको आलोचनात्मक अभिव्यक्तिलाई लिएर यादवसँग असन्तुष्टि जनाएको समाचारमा जनाइएको छ।
यादवले पनि मुख्यमन्त्री यादवलाई त्यहाँको सरकारको काम कारबाहीबारे सुझाव दिएको बताइएको छ।
सरकारको कामप्रति तपाईको पनि असन्तुष्टि हो? भन्ने प्रश्नमा उनको जवाफ थियो, "अहिले नै सरकारको कामको मूल्याङ्कन गर्ने बेला भएको छैन। राम्रो काम गर्न भन्नु सैद्धान्तिक कुरा हो। त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन।"
एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपा प्रदेश २ मा सबैभन्दा ठूलो दल भएको छ।
प्रादेशिक सरकारको नेतृत्वको फेरबदलको सम्भावनाबारे अध्यक्ष यादवले भने, "अहिले प्रदेश २ को नेतृत्व परिवर्तन हुँदैन।"
तर उनले सरकारको काम हेरेर मूल्याङ्कन गर्ने र सन्तोषजनक काम हुन नसकेको खण्डमा सन्तोषजनक बनाउने उपाय खोजिने बताए।