भारत: हावाहुरी र चट्याङले दर्जनौँ मानिसको मृत्यु

तस्बिर स्रोत, Getty Images
उत्तर भारतमा मङ्गलवार चट्याङ र हावाहुरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मङ्गलवार रातिको हावाहुरी र चट्याङबाट धेरै गाउँहरू प्रभावित भएका छन्। घरका भित्ता भत्किँदा दर्जनौँ मानिसहरू घाइते भएका छन्।
बिहार राज्यमा मात्रै चट्याङमा परेर २० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
उत्तर प्रदेशमा १५ जना र झारखण्डमा कम्तीमा पनि १२ जनाको ज्यान गएको अधिकारीहरूले बीबीसी हिन्दीलाई बताए।
समाचार संस्था पीटीआईका अनुसार ढलेको रूखले किच्दा उत्तराखण्ड राज्यमा तीन बालबालिकाको ज्यान गएको छ।
अधिकांश पीडितहरू घरमा सुतिराखेका बेला चट्याङ र हावाहुरीले घर भत्काएर पुरिएका थिए।
केही हप्ताअगाडि धूलोयुक्त आँधी र भीषण वर्षाका कारण उत्तरी राज्यहरूमा १०० जनाभन्दा बढी मानिसहरूको ज्यान गएको थियो।
पूर्वानुमान
मनसुनका बेला चट्याङ पर्नु भारतमा सामान्य नै मानिन्छ।

तस्बिर स्रोत, SPL
भारतको मौसम विभागका अनुसार आगामी हप्ताहरूमा उत्तर भारतमा तापक्रम ४७ डिग्री सेल्सिअससम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ।
त्यसो हुँदा तीव्र गतिमा हावाहुरी र आँधी आउने सम्भावना बढ्छ।
प्रतिकूल मौसमका कारण उत्तरी राज्यहरूमा बिजुली काटिनसक्ने पनि बताइएको छ।
सरकारी तथ्याङ्कले भारतमा सन् २००५ देखि प्रत्येक वर्ष कम्तीमा दुई हजार मानिसहरूको चट्याङमा परेर मृत्यु भएको देखाउँछ।








