‘गर्मीमा परीक्षाः विद्यार्थीले ल्याउँछन् कम अङ्क’

तस्बिर स्रोत, Getty Images
हार्वर्ड र अरू अमेरिकी विश्वविद्यालयहरूले गरेको एउटा प्रमुख अध्ययनले धेरै गर्मीका बेला हुने परीक्षामा विद्यार्थीहरूले राम्रो गर्न नसक्ने जस्तो देखिएको जनाएको छ।
उच्च तापक्रम र विद्यालयमा विद्यार्थीहरूको कम उपलब्धिबीच 'महत्त्वपूर्ण' अन्तर्सम्बन्ध रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
करिब १३ वर्षमा अमेरिकी माध्यमिक विद्यालयका एक करोड विद्यार्थीको प्राप्ताङ्कको विश्लेषणबाट परीक्षाको नतिजामा गर्मी मौसमको नकारात्मक असर परेको देखिएको छ।
गर्मी बढ्दा विद्यार्थीहरूलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको पाइएको सो अध्ययनले जनाएको छ।
वातानुकूलित
प्रत्येक पटक औसत आधा डिग्री सेल्सियस तापक्रम बढ्दा परीक्षामा विद्यार्थीहरूको प्रदर्शनमा झन्डै एक प्रतिशतले घट्ने गरेको देखिएको छ।
त्यसको व्यावहारिक समाधान विद्यालयहरूलाई थप वातानुकूलित बनाउनुपर्ने हुनसक्ने अनुसन्धानकर्ताहरूको सुझाव छ।
तातो हावा चल्ने बेला जाँच दिने विद्यार्थीहरूले उखरमाउलो गर्मीका कारण आफूहरूलाई असर परेको सधैँजसो गुनासो गरेको हुन सक्छ।

तस्बिर स्रोत, Getty Images
तर हार्वर्ड विश्वविद्यालय, युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलस र जर्जिया स्टेट युनिभर्सिटीका प्राज्ञहरूले गरेको अध्ययनले तापक्रम बढ्दा विद्यार्थीको प्रदर्शन घट्ने गरेको स्पष्ट प्रमाण दिएको बताएका छन्।
अनुसन्धानकर्ताहरूले सन् २००१ देखि सन् २०१४ सम्म अमेरिकाभरि फरक जलवायु र मौसममा फरक वर्षहरूका परीक्षामा माध्यमिक तहका विद्यार्थीले गरेको प्रदर्शनलाई हेरेका थिए।
उपलब्धि
'यूएस न्याश्नल ब्यूरो अफ इकोनोमिक रिसर्च'मा प्रकाशित अध्ययनले उच्च तापक्रम हुने वर्षहरूमा विद्यार्थीहरूले जाँचमा कम अङ्क ल्याउने र चिसो वर्षका जाँचमा राम्रो नतिजा ल्याउने गरेको उल्लेख छ।
फरक जलवायुमा- धेरै चिसो हुने अमेरिकाका उत्तरी राज्यहरूमा अथवा बढी तातो हुने दक्षिण राज्यहरूमा यो लागु हुन्छ।
'हीट एन्ड लर्निङ' नामक उक्त अध्ययनले भनेको छ- उखरमाउलो गर्मीमा विद्यार्थीहरूलाई पाठहरूको अध्ययन गर्न र विद्यालयबाहिर गृहकार्यमा ध्यान केन्द्रित गर्न गाह्रो हुने गरेको छ।
चिसा दिनहरूले चाहिँ विद्यार्थीका उपलब्धिमा असर नपारेको देखिन्छ।
तर २१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्न थालेपछि विद्यार्थीहरूको उपलब्धिमा त्यसको नकारात्मक असर देखिन थालेको अध्ययनले जनाएको छ।









