भारत: बालिकाको बलात्कारपछि हत्या भएको मुद्दा अदालतमा

कठुआ घटनाको निन्दा

तस्बिर स्रोत, AFP

आठजना हिन्दू पुरुषहरूलाई एक आठ वर्षीया मुसलमान बालिकालाई बलात्कार गरेको, यातना दिएको तथा हत्या गरेको अभियोग लागेको छ।

तर ती पुरुषहरूले आफू निर्दोष भएको बयान अदालतमा दिएका छन्।

एउटा घुमन्ते मुसलमान समुदायकी बालिकाको शव गत ज्यानुअरी १७ मा भारत-प्रशासित कश्मीरको कठुआ नगर नजिकैको जंगलमा भेटिएको थियो।

आक्रोश

उक्त घटनालाई लिएर भारतभरि आक्रोश बढेको छ।

यसैबीच भारतको पश्चिमी गुजरात राज्यमा अर्को बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाबारे सोधपुछ थालिएको विवरणहरू आएका छन्।

उक्त घटनाकी पीडितको पहिचान भएको छैन। तर प्रहरीले ती बालिकालाई लागेका चोटहरूबारे आएका विवरणले देशभरि चर्चा पाएको छ।

विवाद

कठुआ घटनामा आरोपित आठ जना व्यक्तिलाई पक्राउ गरिएको विरोधमा दक्षिणपन्थी हिन्दूवादी समूहले प्रदर्शन गरेपछि सो बलात्कारसम्बन्धी मुद्दाले अघिल्लो हप्ता चर्चा पाएको थियो।

त्यहाँका स्थानीय हिन्दू समुदायका सदस्य र मुसलमान समुदायका सदस्यबीच भूमिसम्बन्धी विवाद थियो।

सत्ताधारी भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई जना नेताहरुले आरोपितहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागिता जनाएपछि आक्रोश बढ्न पुग्यो।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये एक जना सेवानिवृत्त सरकारी अधिकारी, चार जना प्रहरी अधिकारी र एक जना किशोर रहेका छन्।

भारतको बालबालिकासम्बन्धी ‌कानुनअनुसार ती किशोरमाथि छुट्टै कारबाही चलाइनेछ।

उक्त मुद्दाको लागि जम्मू-कश्मीर सरकारले दुई जना विशेष सरकारी अभियोजनकर्ताहरू नियुक्त गरेको छ।