सिरियामा युद्ध किन?

तस्बिर स्रोत, AFP
द्वन्द्व सुरु हुनुभन्दा पहिला सिरियाभित्र राष्ट्रपति बशर अल असदको राष्ट्रपतित्वमा उच्च बेरोजगारी एवम् भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भनेर गुनासो सुनिने गरिन्थ्यो।
असदले सन् २००० मा आफ्ना बुवा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए।
छिमेकी देशहरूमा भएको "अरब क्रान्ति"को प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनहरू भए।
सरकारले विरोधीहरूलाई दमन गर्न व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि विरोध प्रदर्शनहरू भए।
गृहयुद्ध

तस्बिर स्रोत, Reuters
अस्थिरता बढ्यो र दमन पनि सघन भयो। विपक्षीहरूले हतियार उठाए।
पहिला आफ्नो सुरक्षाका लागि र पछि आफ्नो क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरू आउन नदिन।
"विदेशीले उकासेको आतङ्कवाद" भन्दै असदले त्यसलाई निमिट्यान्न पार्ने उद्घोष गरे।
हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धको चपेटामा पर्यो।

तस्बिर स्रोत, AFP
कतिको मृत्यु भयो?
संयुक्त अधिराज्यमा आधार भएको र स्थलगत पर्यवेक्षण गर्न सञ्जाल भएको समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले गत मार्च महिनासम्म तीन लाख ५३ हजार नौ सय मानिसहरूको मृत्यु भएको विवरण सङ्कलन गरेको छ।
मृतकहरूमध्ये गैरसैनिकको सङ्ख्या एक लाख छ हजार थियो।
माथि उल्लिखित सङ्ख्यामा हराएका वा मारिएका भन्ठानिएका ५६ हजार नौ सय मानिसहरूको सङ्ख्या जोडिएको छैन।
सो समूहले मारिएका एक लाख मान्छेको विवरण संलग्न नभएको हुनसक्ने बताएको छ।
भाइअलेशन डक्युमेन्टेशन सेन्टर नामक एउटा संस्थाले सिरियामा भएका गैरसैनिकहरूमाथि भएका आक्रमणलगायन अन्य अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवाधिकारका कानुन उल्लङ्घनका घटनाको विवरण सङ्कलन गरेको छ।
उसले फेब्रुअरीसम्म लडाइँ र यससँग जोडिएका घटनामा १,१९,२०० गैरसैनिक समेत १,८५,९८० जनाको मृत्युको विवरण सङ्कलन गरेको थियो।

तस्बिर स्रोत, AFP
लडाइँ केका लागि?
अहिले यो लडाइँ असदका समर्थक र विरोधीबीच मात्र सीमित छैन।
यसमा आआफ्ना उद्देश्य भएका समूह र देशहरू पनि संलग्न हुन आइपुगेका छन्। त्यसले गर्दा परिस्थिति अति जटिल भएको छ र द्वन्द्व लम्बिएको छ।
ती समूह र देशहरूलाई सिरियाभित्र रहेका धार्मिक समूहबीच घृणा फैलाउन उक्साएको आरोप लाग्ने गरेको छ।
बहुमतमा रहेका सुन्नी मुसलमानको समुदायलाई राष्ट्रपतिको 'शिया अल्वाइट' सम्प्रदाय विरुद्ध उकासिएको आरोप छ।
त्यस्तो विभाजनले दुवै पक्षबाट अत्याचार हुने गरेको र अशान्ति बढेको छ।
उनीहरूले जिहादी इस्लामिक स्टेट र अल काइदालाई पनि फैलिन दिएका छन्।
स्वशासनको अधिकार भएका तर असदका फौजसँग नलडेका कुर्दहरूले सिरियाको द्वन्द्वमा अर्को आयाम थपेका छन्।








