लुम्बिनी: 'मानव अवशेष विसर्जन' बारे छानबिन हुँदै
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मानव अवशेष विसर्जन गरिएको भन्ने समाचार प्रकाशित भएपछि लुम्बिनी विकास कोषले त्यसबारे छानबिन हुँदै गरेको बताएको छ।

पुरातात्त्विक र धार्मिक महत्त्व बोकेको लुम्बिनीलाई युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको छ।
युनेस्को र लुम्बिनी विकास कोषको अनुमतिविना त्यहाँ खन्न वा नयाँ संरचना बनाउन पाइँदैन।
केही दिनअघि मायादेवी मन्दिर परिसरमा गाडिएको अवस्थामा मान्छेको भन्ठानिएका दाँत र केशलगायत विभिन्न सामग्रीहरू भएका पोकाहरू भेटिएका थिए।

लुम्बिनी विकास कोषले गठन गरेको आन्तरिक छानबिन समितिले चैत्र १२ गते तीर्थाटनमा आएका करिब ४० जना ताइबानी बौद्धमार्गीहरूको समूहले बुद्धको जन्मभूमिनजिकै ती वस्तुहरू गाडेको हुनसक्ने जनाएको छ।
आश्चर्य
तर ती वस्तुहरू किन त्यसरी विसर्जन गरिएका हुन् भन्नेबारे अझै अध्ययन हुँदै गरेको कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताएका छन्।
मायादेवी मन्दिर परिसरमा चौबीसै घण्टा कडा सुरक्षाव्यवस्था छ ।
तर तीर्थयात्रीहरूले ती वस्तुहरू त्यहाँ पुर्याएको र भुइँ खनेर गाड्न भ्याएको विवरणप्रति सर्वत्र आश्चर्य व्यक्त गरिएको छ।
कोषाध्यक्ष शाक्यका अनुसार त्यस दिन पालो बसेका सबै सुरक्षा कर्मचारीहरूमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
लुम्बिनीको सुरक्षाका निम्ति करिब तीन सय सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।

परम्परा
कतिपय समुदायमा मृतकले प्रयोग गरेका वस्तु वा उनीहरूका अवशेष पवित्र स्थलमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ।
लुम्बिनीमा भेटिएका ती अवशेषहरू पनि त्यही उद्देश्य त्यहाँ गाडिएको हुनसक्ने अनुमान गरिएको छ।
कतिपय स्थानीय बासिन्दाले व्रतबन्ध गर्दा खौरिएको केश लुम्बिनीस्थित अशोक स्तम्भमा चढाउने गरेका छन्।









