प्रधानमन्त्री ओलीको भारत भ्रमण राजकीय हुने

तस्बिर स्रोत, PIB
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेको सरकारले पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण चैत २३, २४ र २५ गते हुने जनाएको हो।
यसअघि भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूले ओलीको भ्रमणबारे समाचार प्रकाशित गरेका थिए।
तर नेपाली अधिकारीहरूले औपचारिक रूपमा त्यसबारे बोलेका थिएनन्।
भारतीय विदेश मन्त्रालयले पनि शुक्रवार नै विज्ञप्ति जारी गर्दै भ्रमणको पुष्टि गरेको छ।
मोदीसँग भेट
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा औपचारिक कुराकानी गर्नेछन्।
त्यस्तै केही वरिष्ठ मन्त्रीहरूसहित भारतीय उच्च अधिकारीहरूले पनि ओलीसँग भेटवार्ता गर्ने छन्।
भ्रमणका क्रममा ओलीको उत्तराखण्ड पनि पुग्ने कार्यक्रम छ।
भ्रमणको विस्तृत तालिका भने सार्वजनिक गरिएको छैन।









