प्रधानमन्त्रीलाई तीन चौथाइभन्दा बढी सांसदको समर्थन

ओली

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाबाट आइतवार विश्वासको मत लिएका छन्।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानमन्त्रीको दल एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपालले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत हालेका थिए।

यस्तै राष्ट्रिय पार्टी बन्न नसकेका दलबाट जितेका स्वतन्त्र हैसियतका कतिपय सांसद ओलीको पक्षमा उभिए।

संख्या

विश्वासको मत

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मतदानमा भाग लिन जाँदै पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरू।

प्रतिनिधि सभामा कुल २७५ सांसद छन् तर मुद्दा खेपिरहेका एक सांसदले शपथ लिन पाएका छैनन्।

त्यसैले अहिलेको संख्या २७४ हो।

तर २६८ सांसदले मात्रै मतदान गरे।

परिणाम सुनाउँदै सभामुख कृष्णबहादुर महराले भने, "विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २०८ र विपक्षमा ६० मत परेको छ"।

यो भनेको उपस्थित संख्याको तीन चौथाइ अर्थात् २०१ भन्दा बढी हो।

प्रतिनिधिसभामा एमालेको १२१, माओवादी केन्द्रको ५३, राजपाको १७ र फोरमका १६ सदस्य छन्।

प्रस्तावको विपक्षमा कांग्रेसले मत हालेको थियो।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

अर्थपूर्ण

तराई केन्द्रित दलहरूले आफूले कुनै बेला आफ्ना कट्टर विरोधीका रुपमा चित्रण गरेका ओलीलाई समर्थन दिएको विषयलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्।

कतिपयले त्यसलाई संविधान संशोधनतर्फको दिशामा अघि बढ्ने संकेतका रुपमा त्यसलाई हेरेका छन्।

राजपा र फोरम दुवै ओली नेतृत्वको सरकारमा सहभागी हुने तरखरमा रहेको ठानिएको छ।