दिनको एक खिल्ली चुरोट पनि घातक

चुरोट

तस्बिर स्रोत, Getty Images

ब्रिटेनका वैज्ञानिकहरूले भनेका छन्, चुरोटको मात्रा घटाएर धुमपानका कारण स्वास्थ्यमा पर्ने हानि कम गर्न सकिँदैन त्यही भएर पूर्ण रुपमा चुरोट सेवन रोक्न जरूरी छ।

अनुसन्धानकर्ताहरूका अनुसार दिनको २० खिल्ली चुरोट सेवन गर्ने मानिसले एक खिल्ली मात्र चुरोट पिउँदासमेत स्वास्थ्यमा उल्लेखनीय जोखिम रहने गर्छ।

उनीहरूका अनुसार चुरोट सेवन पूर्ण रुपमा नगर्दा पुरूषको हकमा मुटुको रोग वा मस्तिष्कघातको जोखिम आधा हुन्छ भने महिलाको हकमा दुई तिहाइले कम हन्छ।

उनीहरू भन्छन्- चुरोट सेवन रोक्दा फोक्सोको क्यान्सरको जोखिम पनि नाटकीय रूपमा कम हुन्छ।

असर

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित उनीहरूका लेखका अनुसार एकदमै न्यून मात्रामा भए पनि सुर्तीको धुँवाले मुटु, फोक्सो र रक्तनलिका कामहरूलाई असर गर्नसक्छ।

दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

१४१ वटा अध्ययनको विश्लेषणले दिनको २० खिल्ली चुरोट पिउने बानी भएका १०० जना मध्यम उमेर भएका व्यक्तिमध्ये ७ जनालाई हृदयाघात वा पक्षघात हुनसक्ने देखाएको छ।

तर यदि मात्रा घटाएर दिनको एउटा मात्र चुरोट सेवन गर्ने हो भने पनि ३ जनालाई हृदयाघात हुने उक्त अध्ययनले संकेत गरेको छ।

सुरक्षा

चुरोट

तस्बिर स्रोत, Getty Images

उनीहरूका अनुसार पछिल्लो अध्ययनले धुमपानको सुरक्षित मात्रा नरहेको देखाएको छ।

तर एक जना विज्ञले चाहिँ चुरोट सेवनको मात्रा घटाउँदै जाने मानिसहरूले पूर्ण रुपमा धुमपान त्याग्न सक्ने उल्लेख गरेका छन्।

वैज्ञानिकहरूका अनुसार धुमपानका कारण हुने ४८ प्रतिशत अल्पायुको मृत्यु क्यान्सर नभइ मुटु सम्बन्धी रोगहरूका कारण हुने गर्छ।

अनुसन्धानकर्ताहरूका अनुसार संयुक्त अधिराज्यमा चुरोट पिउने मानिसहरूको संख्या घटिरहेको छ तर दिनको एक खिल्लीदेखि पाँच खिल्ली सम्म चुरोट सेवन गर्ने मानिसहरूको अनुपात द्रुत गतिमा बढिरहेको छ।