उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिणमा

तस्बिर स्रोत, Getty Images
आगामी महिना शीतकालीन ओलिम्पिक्स हुने स्थलहरूको निरीक्षण गर्ने एक महत्त्वपूर्ण भ्रमणका क्रममा एउटा उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ।
लोकप्रिय मोराङबोङ् महिला ब्याण्डकी नेतृ तथा उत्तर कोरियामा ख्याति कमाएकी ह्युन सङ-वोलले सो प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्।
दुई वर्षयता पहिलो पटक भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरियाले शीतकालीन ओलिम्पिक्समा आफ्नो एउटा टोली पठाउने सहमति जनाएको थियो।
उत्तर कोरियाको पारमाणविक अस्त्र कार्यक्रमलाई लिएर उत्पन्न महिनौँदेखिको तनावपछि उक्त निर्णयलाई एउटा महत्त्वपूर्ण कूटनीतिक कदमको रूपमा हेरिएको छ।
केन्द्रित
व्यापक सुरक्षा बन्दोबस्ती भएको सीमाबाट उत्तर कोरियाली प्रतिनिधिमण्डल सवार बस दक्षिण कोरियाका लागि प्रस्थान गर्दै गरेको तस्वीर स्थानीय सञ्चारमाध्यमले प्रकाशमा ल्याएका छन्।
सयौँ प्रहरी अधिकारीबाट घेरिएका प्रतिनिधिमण्डलका सदस्यहरू त्यसपछि रेल चढेर पूर्वी शहर ग्याङनुङ्का लागि प्रस्थान गरे।
तर दक्षिण कोरियाली क्यामेराहरू ह्युन सङ-वोलमा बढी केन्द्रित थिए।

तस्बिर स्रोत, Reuters
उनी र मोराङबोङ् ब्याण्डका १० सदस्य उत्तर कोरियाका आकर्षक अनुहार हुन्।
प्योङयाङ्ले उनीहरूलाई 'स्पाइस गर्ल्स' का रूपमा चित्रण गर्ने गरेको छ।
अफवाह
एकताका ह्युन सङ-वोल उत्तर कोरियाली नेता किम जङ-अनकी 'केटी साथी' हुन् भन्ने अफवाह चलेको थियो।
यद्यपि उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूले त्यसको खण्डन गरेका थिए।
गत चार वर्षयता प्योङयाङ्का अधिकारीहरूले दक्षिण कोरियाको भ्रमणमा गएको यो पहिलो पटक भएको बताइएको छ।
उत्तर कोरियाली प्रतिनिधिमण्डलमा खेलाडी, अधिकारीहरू र खेलकुदका क्रममा नृत्य गर्ने 'चिअरलिडर्स' छन्।








