सीमामा हमला नगर्न टर्कीलाई सिरियाको चेतावनी

तस्बिर स्रोत, Reuters
सिरियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई चेतावनी दिएको छ।
सिरियाका सहायक विदेशमन्त्री फैसल मेकदादले आफ्नो देशको हवाई सीमा उल्लंघन गर्ने टर्कीको कुनै पनि लडाकु विमानलाई सिरियाली सेनाले नष्ट गरिदिने बताएका छन्।
टर्कीले सीमापार कुर्द नियन्त्रणको अफ्रिन क्षेत्रमा सम्भावित हमला गर्न सिरियासँगको सीमा नजिकै सेना जम्मा पारेको छ।
यसअघि टर्कीका राष्ट्रपतिले उत्तरी सिरियामा रहेका कुर्द नियन्त्रित दुईवटा क्षेत्रमा हमला गर्ने चेतावनी दिएका थिए।
टर्कीले आफ्नो सेना तथा ट्यांकहरु सीमा नजिकै जम्मा पारेको छ।
'सफा'
राष्ट्रपति रेजेप तायिप एर्दोआनले सिरियाली विद्रोही सैन्यले समेत अफ्रिन तथा मनबीजमा रहेका "आतंककारीहरुको गढ" सफा पार्ने टर्कीको अभियानलाई साथ दिने बताएका थिए।
ती क्षेत्र वाइपीजी भनिने कुर्द समूहको नियन्त्रणमा छन्।
अंकाराले सो समूहलाई आतंककारी भन्छ।
पछिल्ला ६ वर्षमा वाइपीजी तथा अमेरिका समर्थित 'सिरियन डेमोक्र्याटिक फोर्स'को गठबन्धनले सिरियामा दशौं हजार वर्ग किलोमिटर क्षेत्रलाई नियन्त्रणमा लिंदै आएको घटनालाई टर्कीले निकै चिन्ताका साथ हेरिरहेको थियो।
वाइपीजी लडाकूहरुलाई अमेरिकाले दिएको सहयोगको उसले विरोध गर्दै आएको थियो।
अमेरिकाले उत्तरी सिरियामा कुर्द बाहुल्य भएको एक सीमा सुरक्षा बल स्थापना गर्न लागेको भन्ने समाचारको खण्डन गरे पनि टर्की सन्तुष्ट हुन सकेको छैन।








