राजनीतिक द्वन्द्वको चेपुवामा पिस्ता

तस्बिर स्रोत, Getty Images
- Author, जोइ टमस
- Role, बीबीसी व्यापार संवाददाता
अन्तर्राष्ट्रिय द्वन्द्वमा धेरै हताहत भएका छन्। यो द्वन्द्वमा चाहिँ एउटा फल चेपुवामा परेको तर तपाईँ पिस्ता फल हैन, बीउ हो भन्न चाहिँ सक्नुहुन्छ।
इरान र अमेरिकाबीचको तनावले गर्दा पिस्ताको अन्तर्राष्ट्रिय बजारले अनपेक्षित अवस्थाको सामना गर्नुपरेको छ।
अन्तर्राष्ट्रिय पिस्ता उद्योगमा वार्षिक अर्बौं डलरको कारोबार हुने गर्छ र लोकप्रिय खानेकुरा हुँदै गइरहेका बेला यसको कारोबार बढ्दो छ।
पिस्ता बजारमा अमेरिका र इरानको वर्चस्व छ।
अवरोध
कुल वार्षिक उत्पादनमा पछिल्लो दशकदेखि दुई मुलुकको ७० देखि ८० प्रतिशत हिस्सा रहेको छ।
पछिल्ला ४० वर्षयता इरानी उत्पादनकर्ताले अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रसम्मको आफ्नो पहुँचमा प्रतिबन्ध, दस्तुर र अवरोधको सामना गरेका छन्।
हुन त अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका उत्पादनको सूचीमा पिस्ता समेटिएको छैन।
तर पनि अन्तर्राष्ट्रिय ब्याङ्किङ् प्रणालीमा गरिएको अवरोधका कारण इरानी किसानले कठिनाइको सामना गर्नुपरेको छ।

तस्बिर स्रोत, Getty Images
सन् २०१६ मा इरानको पारमाणविक कार्यक्रमसम्बन्धी 'द ज्वाइन्ट् कम्प्रेहेन्सिभ् प्लान् अफ् एक्शन्' मा सहमति भएपछि त्यो अवस्थामा परिवर्तन आयो।
इरानसँग अमेरिका र उसका साझेदार मुलुकबीच भएको सम्झौतापछि प्रतिबन्धहरू फुकुवा भए।
त्यसपछि इरानी तेलले पुनः अन्तर्राष्ट्रिय बजार पाउन थाल्यो र पिस्ताको निर्यात पनि बढ्न शुरू भयो।
ट्रम्पको चेतावनी
तर यो परिस्थितिले चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाका पालामा इरानसँग गरिएको सम्झौता हालसम्मकै 'नराम्रो' भनेका छन्।
गत अक्टोबरमा उनले उक्त सम्झौतालाई प्रमाणीकरण गरेनन्।
ट्रम्पले पारमाणविक सम्झौताप्रति इरान बफादार रहे वा नरहेको निर्क्योल गर्न र अमेरिका उक्त सम्झौतामा बाँधिरहन हुने वा नहुनेबारे टुङ्गो लगाउने जिम्मा अमेरिकी कंग्रेसलाई सुम्पे।
आफ्नो कदमको घोषणा गर्दै ट्रम्पले पारमाणविक सम्झौताले 'इरानको तानाशाहलाई राजनीतिक र आर्थिक जीवन दिएको तर परमाणु अस्त्रको विकास गर्नबाट रोक्न नसकेको' बताएका थिए।
इरानको पिस्ता उत्पादन संघका उपनिर्देशक होजात् हस्सनी सादीका अनुसार सम्झौता गुमाएमा र प्रतिबन्धहरू पुनः लागू भएमा पिस्ता बजारमा 'पक्षपातपूर्ण र असमान प्रतिस्पर्धा' फेरि शुरू हुनेछ।
प्राचीनता
पिस्ता उद्योगको शुरूवात हजारौँ वर्ष पहिले इरानबाट शुरु भएको मानिन्छ।
त्यसको तुलनामा अमेरिकामा सन् १९३० को दशकमा पर्सियन बीउबाट पिस्ताको खेती शुरू भएको थियो।
सन् १९७९ मा 'बन्धक संकट' लाई लिएर अमेरिकाले इरानसँग सम्बन्ध तोडेपछि अमेरिकामा व्यावसायिक रूपमा पिस्ता खेती फस्टाएको हो।
'बन्धक संकट'पछि नै अमेरिका र उसका साझेदार मुलुकले इरानमाथि प्रतिबन्ध लगाए।
त्यसपछिका कैयौँ दशकसम्म इरानी पिस्ताले प्रवेश पाउने मुलुकहरूमा पनि अन्तर्राष्ट्रिय वित्तीय संस्थामा पहुँचमाथिको अवरोधका कारण पिस्ता उद्योग फस्टाउन पाएन।

तस्बिर स्रोत, Getty Images
त्यो अवधिमा मुख्यतः क्यालिफोर्नियाका किसानले पिस्ता खेती गरेसँगै अमेरिकी पिस्ता बजार विस्तार भयो।
तर सन् २०१४ मा पूर्वी अमेरिकामा गर्मी र सुख्खा मौसमका कारण आधाजति बाली र नाफामा असर पर्यो।
विश्वभर पिस्ताको मूल्य बढ्यो। यो इरानका किसानका लागि पनि एउटा अवसर थियो।
सन् २००२ यता पिस्ताको भाउ बढ्दै गएको छ।
स्वास्थ्यप्रतिको सचेतना र स्वास्थ्यवर्द्धक खानेकुराको बढ्दो मागका कारण पिस्ताको मूल्य बढ्दै गएको अमेरिकी पिस्ता उत्पादकहरूको संगठनका कार्यकारी निर्देशक रिचर्ड् माटोइआन् बताउँछन्।
बढावा
उनले भने, "पिस्ता उद्योगले विज्ञापन गरेर उत्पादनलाई बढावा दिइरहेका छन्।"
विकासशील देशका मध्यम वर्गले माग गर्न थालेपछि पिस्ता निर्यात बढेको उनी ठान्दछन्।
चीनमा पिस्ताको बढ्दो माग पनि त्यसको बजार फस्टाउनुको एउटा प्रमुख कारण हो।
अमेरिकी पिस्ता उत्पादक संगठनका अनुसार सन् २००८ देखि २०१३ को अवधिमा अमेरिकाबाट चीन पठाइने पिस्ताको परिमाणमा १४६ प्रतिशतले वृद्धि भएको छ।
तर सन् २०१४ मा क्यालिफोर्नियामा प्रति ४५३ ग्राम पिस्ताको मूल्य तीन डलरबाट बढेर पाँच डलर पुग्यो।
त्यसको तुलनामा इरानमा पिस्ता उत्पादन बलियो देखियो।

तस्बिर स्रोत, Getty Images
चीनजस्तो बजारमा उनीहरू प्रति ४५३ ग्राम पिस्ता अमेरिकी मूल्यभन्दा ०.२ प्रतिशत कममा बेच्न सक्ने भए।
सन् २०१६ मा अमेरिकामा पिस्ता उत्पादनमा वृद्धि भएपछि अमेरिकी बजार पुनः फस्टाउन पायो र मूल्यमा नियन्त्रण हुन सक्यो।
तर इरानलाई अन्तर्राष्ट्रिय बजारमा फाइदा पुर्याउने अर्को पक्ष छ - त्यो हो उसको अवस्थिति।
माटोइआन् भन्छन्, "यातायातमा पहुँचले इरानलाई फाइदा पुर्याएको छ। उनीहरूले बजार लिन सक्छन् र त्यसको एउटा उदाहरण चीन हो।"
प्रतिबन्ध
इरानका फाइदा र बेफाइदाहरू प्रतिबन्धसँग मात्रै जोडिएका छैनन्।
आफ्नो पिस्ताको स्वाद अरूको भन्दा मीठो भएको इरानको दावी छ। ठूला युरोपेली वितरकहरू पनि त्यस्तै दाबी गर्छन्।
यद्यपि इरान र अमेरिकाले उस्तै खालका पिस्ता उत्पादन गर्छन्।
उदाहरणका लागि टर्कीले फरक किसिमको पिस्ता उत्पादन गर्छ।
अमेरिकाले इरानी पिस्तामाथि २४१ प्रतिशत दस्तुर लगाएको छ। यसको अर्थ प्रतिबन्ध नभए पनि अमेरिकी बजार इरानी पिस्ताका लागि बन्द जस्तै हो।
इरानको पिस्ता उत्पादनमा अर्को समस्या भनेको पानीको अभाव हो।

तस्बिर स्रोत, Getty Images
सादीका अनुसार पिस्ता उद्योगको विस्तारमा त्यो 'सबैभन्दा ठूलो अड्चन' हो।
सन् २०१६ मा अमेरिकामा धेरै राम्रो उत्पादन भएपछि इरान विश्वको दोस्रो ठूलो पिस्ता उत्पादक देश बन्न पुग्यो।
र, पिस्ताको विश्व बजारमा दुई मुलुक हावी भइरहँदा इरानले पुनरागमन गर्नुपर्ने दयनीय स्थिति छैन।
तर विश्वभर पिस्ताका पारखीहरूको बढ्दो संख्याका माझ निर्यातमा इरानी पिस्ताको बढिरहेको पहुँच र घट्दो मूल्यले मीठो फल दिन सक्छ।








