यमन द्वन्द्वः वार्ता प्रस्तावको स्वागत

तस्बिर स्रोत, Reuters
साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ।
यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ।
गठबन्धनको एउटा वक्तव्यमा भनिएको छ, "नेतृत्व लिने र आफ्ना जनताको पक्षमा उभिने निर्णयले यमनलाई इरानप्रति बफादार लडाकुहरुबाट मुक्त गराउनेछ।"
गठबन्धनले नाकाबन्दी हटाएमा र आक्रमणहरु रोकेमा 'पानाहरु पल्टाउन' आफू तयार रहेको सालेहले बताएका छन्।
आरोप
तर यसै हप्ता सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि 'कू' अर्थात् सत्तालपटको आरोप लगाएको थियो।
राजधानी सानामा सालेहको फौज र हुथी लडाकुहरुले लडाइँ जारी राखेका छन्।

तस्बिर स्रोत, STRINGER
पछिल्ला दिनहरुमा दुई पक्षबीचको लडाइँका कारण कैयौँ मानिसले ज्यान गुमाएको सहायता समूहहरुले बताएका छन्।
हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ तर अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्दराबुह मंसुर हादीको सरकारविरुद्ध उक्त समूह सालेहको साझेदार रहिआएको छ।
सकारात्मक
टेलिभिजनमा प्रसारण गरिएको एउटा भाषणमा सालेहले भनेका छन्, "छिमेकी राज्यमा रहेका दाजुभाइलाई म घेराबन्दी हटाउन, विमानस्थलहरु खुलाउन र खाद्य सहायता पुग्न दिन तथा घाइतेहरुलाई बचाउन दिन आग्रह गर्दछु, छिमेकीहरुको सहयोगमा हामीले नयाँ पाना पल्टाउनेछौँ।"
उनले थपे, "म उनीहरुसँग सकारात्मक रुपमा प्रस्तुत हुनेछु र यमनमा जे भएको छ, अति भइसक्यो।"
हादीले पनि वक्तव्यको स्वागत गर्दै हुथीविरुद्ध सालेहसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
केही रिपोर्टहरुका अनुसार सालेहका लडाकुहरुले हुथी विद्रोहीका एउटा महत्त्वपूर्ण कमाण्ड पोष्ट नियन्त्रणमा लिएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनको द्वन्द्वमा हस्तक्षेप गरेयता ८ हजार ६ सय ७० जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ९ सय ६० जना घाइते भएका छन्।



















