अमेरिकी सैनिकलाई रक्सी 'प्रतिबन्ध'

सेना

तस्बिर स्रोत, AFP

अमेरिकी सेनाले ओकिनावा टापुमा रक्सी सेवनसँग सम्बन्धित एउटा गम्भीर दुर्घटनापछि जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ।

त्यसका अतिरिक्त सैनिकहरुलाई सैन्य अखडा र उनीहरुको आवास छाड्न प्रतिबन्ध लगाइएको छ।

आइतवार एक अमेरिकी सैनिकले मिनी भ्यानसँग ट्रक ठोक्काउँदा अर्कै सवारीसाधनका एकजना स्थानीय चालकको ज्यान गएको थियो।

जापानमा तैनाथ अमेरिकी सेनाको आधाभन्दा बढी संख्या ओकिनावामा छ तर बाक्लो सैन्य उपस्थितिप्रति स्थानीयबासिन्दाले लामो समयदेखि आक्रोश व्यक्त गर्दै आएका छन्।

पुष्टि

एउटा वक्तव्यमार्फत अमेरिकी सेनाले आफ्ना एक सैनिक दुर्घटनामा संलग्न रहेको पुष्टि गरेको छ र 'त्यसको एउटा कारक रक्सी हुनसक्ने' जनाएको छ।

अमेरिकी सेनाले 'जिम्मेवार ढङ्गले रक्सी सेवन, जोखिम व्यवस्थापन र वाञ्छनीय आचरणबारे जापानमा रहेका आफ्ना सबै सैनिकका लागि अनिवार्य तालिम'को पनि घोषणा गरेको छ।

विरोध

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१६ मा दशौं हजार जापानीहरुले अमेरिकी सेनाको उपस्थितिको विरोधमा प्रदर्शन गरेका थिए

दक्षिणी जपान र चीनको तटपारी करिब ६४० किलोमिटर क्षेत्रमा रहेको ओकिनावा अमेरिका जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्सा हो।

उक्त अखडामा करिब २६ हजार अमेरिकी सैनिक छन्।

आपत्ति

सो टापुको कम जनसंख्या भएको क्षेत्रमा सेनालाई सार्ने योजनाहरु छन् तर ओकिनावावासी त्यहाँबाट समग्र हवाई अखडा हटाइयोस् भन्ने चाहन्छन्।

फौजहरुसँग जोडिएका अपराध र दुर्घटनाहरुप्रति धेरै ओकिनावावासीहरु आपत्ति जनाउँछन्।

खासगरी सन् १९९५ मा अमेरिकी सैनिकहरुले एक १२ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको घटनापछि अमेरिकी उपस्थितिलाई लिएर धेरै स्थानीयबासिन्दामा आक्रोश बढ्दो छ।

सन् २०१६ मा एउटा सैनिक अखडामा खटिएका एक पूर्व मरिन एकजना महिलाको हत्यामा जोडिएपछि रक्सी सेवन र मध्यरातसम्म लगाइने कर्फ्यूमा अस्थायी प्रतिबन्ध लगाइएको थियो।