जिम्बाब्वे: मुगाबे-युग अन्त्यको स्वागत

तस्बिर स्रोत, EPA
जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन्।
सत्तामाथि मुगाबेको पकड अन्त्य गर्न सेनाले निर्वाह गरेको भूमिकाको उनीहरुले प्रशंसा गरेका छन्।
बीबीसी संवाददाताहरुका अनुसार, प्रदर्शनकारीहरुले सैनिकहरुलाई अँगालो हालेको र उनीहरुको जयकार गरेको दृश्य देखिएका छन्।
समर्थन
एक जना प्रदर्शनकारीले बीबीसीसँग भने, "यो दिन नयाँ शुरुवातसँग सम्बन्धित छ"।
उक्त र्यालीलाई सेना र सत्तारुढ जानु पी-एफ पार्टीका सदस्यहरुले समर्थन गरेका छन्।
गत वर्षसम्म मुगाबेप्रति बफादार रहेका स्वतन्त्रता संग्रामका योद्धाहरुले पनि अहिले उनले सत्ता छाड्नुपर्ने धारणा राखेका छन्।
हरारेस्थित एक जना बीबीसी संवाददाताले पछिल्लो घटनाक्रम ऐतिहासिक क्षण भएको र यो विन्दुबाट मुगाबे अब सत्तामा फर्कन सम्भव नरहेको बताएका छन्।

तस्बिर स्रोत, EPA
नजरबन्द
९३ वर्षे मुगाबे बुधबार सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा छन्।
तर त्यसयता शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए।
आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गरेका थिए।
उनकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित थिइनन्।








