ट्रम्प र सि को भिन्ना भिन्नै दृष्टिकोण

तस्बिर स्रोत, EPA
भियतनाममा भएको एसिया प्रशान्त आर्थिक सहयोगसम्बन्धी समूह एपेकको शिखर सम्मेलनमा बोल्दै विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरुले विश्व व्यापारको भविष्यलाई लिएर भिन्न भिन्न दृष्टिकोण प्रस्तुत गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका हितलाई पहिलो प्राथमिकता दिने बताए।
चिनियाँ राष्ट्रपति सि जिनपिङले चाहिं विश्वव्यापीकरण उल्टिन नसक्ने बताए।
'पहिले अमेरिका'
उक्त सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो देशले अब अरुलाई अनुचित फाइदा लिन नदिने बताए।
सम्मेलनमा उपस्थित व्यापारिक तथा राजनीतिक नेताहरुलाई सम्बोधन गर्दै उनले अमेरिका फर्स्ट वा पहिले अमेरिका भन्ने आफ्नो नीति रहने बताए।
सोही सम्मेलनमा बोल्दै राष्ट्रपति सि ले चीनलाई स्वतन्त्र व्यापारको प्रवर्तक राष्ट्रका रुपमा प्रस्तुत गरे।
उनले बेइजिङले आउँदा दिनमा बजार पहुँचलाई थप सरल बनाउने भन्दै उनको देशमा रहेका सबै विदेशी व्यापारिक प्रतिष्ठानहरुलाई समान व्यवहार गर्ने बताए।
स्वार्थ
प्रशान्त क्षेत्रका २१ अर्थतन्त्र एपेकको सदस्य छन् जसले विश्वको कुल गार्हस्थ उत्पादनको ६० प्रतिशत समेट्छ।
राष्ट्रपतिमा चुनिएपछि ट्रम्पले आफ्नो देशको आर्थिक स्वार्थमा हानी पुर्याइरहेको भन्दै ट्रान्स प्यासिफिक पार्टनरशिप टिपीपी भनिने एपेकका १२ वटा देशसँग गरिएका एउटा प्रमुख व्यापार सम्झौता रद्द गरेका थिए।
उक्त शिखर सम्मेलन डानाङ नामक भियतनामी बन्दरगाह शहरमा भएको छ।
बीबीसी संवाददाता जनाथन हेड भन्छन्, पछिल्लो तीन दशकयता एपेकमा अमेरिकाले विश्वका सर्वाधिक चलायमान अर्थतन्त्रलाई खुल्ला व्यापार र सुदृढ व्यापार सम्बन्धमा डोर्याउने भूमिका निर्वाह गर्दै आएको थियो।
तर अमेरिकाले बढी नाफा पाउनुपर्ने राष्ट्रपति ट्रम्पको निरन्तरको जोडले उक्त अवस्थामा परिवर्तन ल्याइदिएको छ।
अर्का सम्वाददाता अलिम मकबुल भन्छन् शुक्रबार खासगरि ट्रम्पले अमेरिका पहिलो भन्ने नीति अनि अमेरिकाका लागि उत्तम व्यापारीक सम्झौता मात्र गर्ने भन्ने मूल विषय राखे। त्यो बाहेक उनले विस्तृत दृष्टिकोण राखेनन्।
यस्तो भनाइलाई यस क्षेत्रका धेरैले चीनका निम्ति ढोका खोलिदिएको रुपमा अर्थ्याउने मकबुलले बताए।








