जब भारतले अमेरिकालाई गुहार्नुपर्यो...

तस्बिर स्रोत, Getty Images
सन् १९६२ मा चीनसँग भएको युद्धमा भारतले नराम्रोसँग पराजय बेहोर्नुपर्यो।
पछिल्लो समय चीन र भारतबीच उत्पन्न विवादका बीच उक्त युद्ध फेरि चर्चामा छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले सन् १९६२ मा भएको युद्धको स्मरण भारतलाई पटक-पटक गराइरहेका छन् भने भारतले त्यो अवस्थाबाट अब आफू धेरै अगाडि बढिसकेको प्रतिक्रिया दिने गरेको छ।
सो युद्धमा अमेरिकाले भारतलाई सहयोग गरेको थियो।
सामर्थ्य
त्यतिबेला अमेरिकासामु चीनको खासै सामर्थ्य नभएको बताइन्छ।
उसो भए प्रश्न उठ्छ- एउटा महाशक्ति राष्ट्रको सहयोग पाएर पनि भारत चीनसँगको युद्धमा कसरी पराजित भयो?
जवाफमा नेहरु विश्वविद्यालयको अमेरिकी, क्यानाडेली र ल्याटिन अमेरिकी अध्ययन केन्द्रका प्राध्यापक चिन्तामणि महापात्र भन्छन्, "चीनले भारतमाथि आक्रमण गरेको बेला अमेरिकाले 'क्युबाली क्षेप्यास्त्र संकट'को सामना गरिरहेको थियो। सोभियत संघले क्युबामा क्षेप्यास्त्रहरु तैनाथ गरेको थियो र फेरि एक पटक परमाणु युद्ध हुने आशंका व्यक्त हुन थालेका थिए।"
प्राध्यापक महापात्रका अनुसार एकातिर एउटा कम्युनिष्ट मुलुकले भारतमाथि आक्रमण गरेको थियो भने अर्कोतर्फ उसको कम्युनिष्ट मित्र देशले अमेरिकाविरुद्ध क्युबामा क्षेप्यास्त्र तैनाथ गरेको थियो।

तस्बिर स्रोत, Getty Images
त्यस्तो अवस्थामा पनि भारतलाई सहयोग गर्न अमेरिका तयार भएको थियो।
तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले सहयोग गर्न भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति जन एफ केनेडीलाई पटक-पटक पत्र लेखेका थिए।
नेहरुले अमेरिकासँग एउटा लडाकु विमान किन्न पनि भारत तयार रहेको बताएका थिए।
नेहरुको आग्रहमा भारतलाई सहयोग गर्न केनेडी तयार भइसकेका थिए।
तर भारतलाई सहयोग नगर्न पाकिस्तानले अमेरिकी विदेश मन्त्रालयलाई दबाब दिएको बताइन्छ।
के केनेडी एक्लिन पुगेका थिए?
प्राध्यापक महामात्र भन्छन्, "त्यस्तो केही थिएन। उनी एक्लिएका थिएनन् तर पाकिस्तानले अमेरिकामाथि दबाब दिइरहेको थियो।"
"शुरुमा नेहरुले अमेरिकासँग युद्ध सामाग्री खरिद गर्ने कुरामात्रै गरिरहेका थिए तर चिनियाँ सेना अगाडि बढ्न थालेपछि उनले वाशिङटनलाई एउटा 'एसओएस' पठाए। चीन पूर्णरुपमा समथर भूभागमा प्रवेश गरिसकेको थियो।"

तस्बिर स्रोत, AFP
नेहरुको आग्रहमा अमेरिकाले भारतलाई सहयोग गर्ने निर्णय गर्यो।
तर महापात्रका अनुसार अमेरिकी सहयोग पुग्नुअघि नै चीन पछि हटिसकेको थियो अर्थात् अमेरिकाले सहयोग गर्न ढिलो गर्यो। त्यस्तो अवस्थामा अमेरिकाले गर्नुपर्ने केही रहेन।
अमेरिकी निर्णयमा ढिलाई किन?
सन् २००३ मा केनेडी केन्द्रका वरिष्ठ फेलो रहिसकेका कर्णेल अनिल अठालेले सन् २०१२ मा भनेका थिए, "संयोगवश त्यतिबेला 'क्युबाली क्षेप्यास्त्र संकट' चलिरहेको थियो। दुई महाशक्तिहरु सोभियत संघ र अमेरिकाको ध्यान क्युबामा थियो। उक्त पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारत-चीन युद्धलाई खासै महत्त्व दिएका थिएनन्।"
प्राध्यापक महापात्र भन्छन्, "१५ दिन चलेको युद्धमा सहयोगका लागि अमेरिका पुग्ने बेलासम्म चीन पछि हटिसकेको थियो। चीनले हमला गरेकै बेला पाकिस्तानले पनि आक्रमण गरिदेला कि भनेर अमेरिकालाई डर थियो। चीन कम्युनिष्ट मुलुक भएको र आफ्नो प्रभावमा पार्न सक्ने भन्दै अमेरिकाले पाकिस्तानलाई मनाउने प्रयत्न गरेको थियो। तर त्यो मान्न तयार नरहेको देखिएको पाकिस्तानले कश्मीरको पक्षमा उभिन अमेरिकासमक्ष माग गरेको थियो।"
कतिपय विशेषज्ञहरुका अनुसार त्यतिबेला अमेरिकाका लागि 'क्युबाली क्षेप्यास्त्र संकट' महत्त्वपूर्ण थियो।

तस्बिर स्रोत, Getty Images
क्युबा अमेरिकादेखि करिब ८९ किलोमिटर मात्रै टाढा छ जहाँ सोभियत संघले त्यतिबेला क्षेप्यास्त्र तैनाथ गरेको थियो।
त्यस्तो अवस्थामा अमेरिकाको सम्पूर्ण ध्यान क्युबामा हुनु स्वभाविक थियो।
त्यतिबेला भारत-अमेरिकाबीच कुनै सहयोग पनि थिएन।
समर्थन
नेहरुले असंलग्न परराष्ट्र नीतिको वकालत गरिरहेका थिए।
नेहरु विश्वविद्यालयको चिनियाँ अध्ययन केन्द्रका प्राध्यापक हेमन्त अदलखाका अनुसार त्यतिबेला नेहरुको नीतिलाई ठूलो झट्का लाग्यो किनकि भारतको समर्थनमा असंलग्न नीति पक्षधर कुनै पनि मुलुक आएन।
सोभियत संघले पनि भारतलाई साथ दिएन।

तस्बिर स्रोत, Getty Images
प्राध्यापक अदलखा भन्छन्, हुन त अमेरिका आउनुअघि चीन पछि हटिसकेको थियो तर अमेरिका नआएको भए चीन अझ अगाडि बढ्न सक्थ्यो।
प्राध्यापक महापात्रका अनुसार असंलग्न नीतिका कारण अमेरिकासँग सहयोग माग्न नेहरुले शंकोच मानिरहेका थिए तर असामसम्म चीन पुगिसकेपछि अमेरिकी सहयोग माग्नुको विकल्प उनीसँग रहेन।
त्यतिबेला नेहरुले विदेश नीतिभन्दा राष्ट्रिय सुरक्षा महत्त्वपूर्ण भएको महसुस गरे।
असहज
भारतका लागि त्यो असहज समयमा अमेरिकी राष्ट्रपति केनेडीले भारतीय जन मानसमा स्थान बनाइसकेका थिए।
प्राध्यापक महापात्र भन्छन्, "त्यतिबेला भारतलाई सहयोग गर्न केनेडी आतुर थिए तर भारतले सहयोग मागिसकेको थिएन। केनेडी भारतीयहरुमाझ लोकप्रिय भइसकेका थिए।"
के 'क्युबाली क्षेप्यास्त्र संकट' चलिरहेका बेला चीनले जानाजान भारतमाथि आक्रमण गरेको थियो?

तस्बिर स्रोत, Getty Images
जवाफमा प्राध्यापक महापात्र भन्छन्, त्यो पनि हुनसक्छ किनकि चीन र सोभियत संघ दुवै कम्युनिष्ट मुलुक थिए।
भारतमाथि आक्रमण गरेको दुई वर्षपछि चीनले सन् १९६४ मा परमाणु परीक्षण गर्यो।
प्राध्यापक महापात्र भन्छन्, यसमा कुनै शंका छैन कि भारत सन् १९६२ को अवस्थाभन्दा निकै अगाडि बढिसकेको छ र अहिले कुनै 'क्युबाली क्षेप्यास्त्र संकट' पनि छैन।








