थाइ राजाको अन्त्येष्टि सम्पन्न

अन्त्यष्टि

तस्बिर स्रोत, AFP

थाइल्याण्डका दिवंगत नरेश पूमिपोन अदून्यदेतको अस्तु राजदरवार र २ वटा शाही मन्दिरमा भित्र्याइएसँगै उनको पाँच दिने अन्त्येष्टि सम्पन्न भएको छ।

अन्तिम समारोहमा वर्तमान राजा महा वचिरालोङकनले पिताको अस्तुबाट केही अंश झिकेका थिए जसलाई शाही दरवार 'ग्राण्ड प्यालेस' र दुईवटा बौद्ध मन्दिरमा सुरक्षित राखिने छ।

राजा पूमिपोनको पार्थिव शरीरलाई त्यही दरवारमा एक वर्षसम्म राखिएको थियो।

अन्त्येष्टि पूरा भएसँगै सर्वसाधारणले कालो पहिरन लगाउन अनिवार्य नरहेको थाइ सरकारले बताएको छ।

तर उसले फिक्का रंगको कपडा लगाउन सकिने जनाएको छ।

शालीन नेतृत्व

अन्त्यष्टि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अन्त्येष्टिमा सहभागी नागरिकले कालो कपडा लगाएका थिए

बीबीसीका दक्षिण-पूर्व एसिया संवाददाता जनाथन हेड भन्छन्, "आफ्नो ७० वर्ष लामो शासनकालमा राजा पूमिपोनले इश्वरीय, शान्त र विचारक व्यक्तित्वको छवि बनाएका थिए। थाइल्याण्डलाई छिमेकी देशहरुको जस्तो द्वन्द्वबाट बचाएको श्रेय उनको शालीन नेतृत्वलाई दिइन्छ।"

तर उनको शासनको पछिल्लो दशकमा थाइल्याण्डमा दुई ध्रुवीय तिक्ततापूर्ण राजनीतिक विभाजन देखियो। त्यसक्रममा एउटा समूह दरवारनिकट हुन पुग्यो।

कैयौँले उनलाई आधुनिक थाइल्याण्डको निर्माताको रुपमा चित्रण गर्छन्।

तर प्रजातन्त्र संस्थागत हुन नदिएको र जननिर्वाचित प्रधानमन्त्रीभन्दा सेनालाई प्राथमिकता दिएको भन्दै उनको आलोचना पनि गरिन्छ।

३ वर्षअघिको एउटा सैनिक 'कू'ले राजनीतिक द्वन्द्वमा लगाम लगाएको थियो। सैनिक जनरलहरुले ऐतिहासिक र संवेदनशील शाही संक्रमणको व्यवस्थापनको जिम्मेवारी आफ्नो काँधमा लिएका थिए।

राजा पूमिपोनको अन्त्येष्टिसँगै उक्त संक्रमणको अन्त्य भएको छ।

तर संवाददाताहरुका अनुसार परीक्षण नभएका र निकै भिन्न स्वभावका राजाको मातहतमा फेरि राजनीतिक गतिविधि हुन दिइएमा भविष्यमा के होला भन्ने चिन्ता पनि व्याप्त रहेको पाइन्छ।