कसरी स्कूटरले बढाउँदैछ महिलाहरुको आत्मविश्वास?

स्कूटर, महिला, आत्मविश्वास, नेपाल
तस्बिरको क्याप्शन, स्कूटर भएपछि छोराछोरीलाई स्कूल पुर्याउन सजिलो भएको महिलाहरु बताउँछन्।

शहरबजारमा दुईपांग्रे स्कूटरको प्रयोगमा भएको विस्तारले खासगरी नेपाली महिलाहरुलाई कतै जाँदा अरुको भर पर्नु नपर्ने भएकोले आत्मविश्वास बढेको उनीहरु बताउँछन्।

जहाँ जहिले आफ्नै योजना अनुसार जान सक्ने भएपछि दैनिकी नै परिवर्तन भएको स्कूटर प्रयोग गर्ने अधिकांश महिलाहरुको भनाइ छ।

तर सडकमा महिला सवारी चालकमाथि हुने दुर्व्यवहारले हतोत्साहित बनाउने गरेको उनीहरुको गुनासो छ।

समयको बचत

कालीमाटी घर बताउने कविता थापा आफ्नै व्यवसाय गर्छिन्।

पहिले उनलाई सधैँ भ्याइनभ्याइ हुन्थ्यो।

छोराछोरीलाई समयमै विद्यालय पुर्याउन उनलाई हम्मे हम्मे पर्थ्यो।

तर स्कूटर हाँक्न थालेदेखि उनको दैनिकी फेरिएको छ।

घरको काम सन्तानप्रतिको जिम्मेवारी र व्यवसायिक क्षेत्रमा समय अभावले निम्त्याउने समस्या अन्त भएको छ।

उनी भन्छिन्, "आफूलाई आत्मविश्वास पनि आउँछ नि। हाम्रो देशमा सार्वजनिक यातायात त्यति राम्रो छैन। भनेको समयमा पुग्न, बच्चा पुर्याउन सकिएन भने अप्ठ्यारो हुन्छ त्यसैले म स्कूटर नै रोज्छु।"

संख्या बढ्दै

काठमाण्डू रातोपुल बस्ने २५ वर्षीय सविना लम्सालले स्कूटर चलाउन थालेको ७ वर्ष भइसकेको छ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरिरहेकी उनी हरेक दिन आफ्नै स्कूटरमा आउजाउ गर्छिन्।

कलेज जान साथीभाइ भेट्नदेखि किनमेलका लागि उनलाई कसैसँग अनुनय गर्नुपर्दैन।

स्कूटरको प्रयोगले स्वतन्त्रसमेत बनाएको सविना बताउँछिन्।

"राति यात्रा गर्न स्कूटरमा सुरक्षित हुन्छ। अभिभावकलाई पनि समस्या हुँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा समस्या हुन्छ। स्कूटरमा समय खेर जाँदैन।"

कविता र सविना जस्तै शहरमा अचेल स्कूटर चढ्ने महिलाहरुको संख्या निकै बढेको देखिन्छ।

मोटरबाइक र गाडी नै हाँक्नेहरु पनि भेटिन्छन्।

अधिकांशले आत्मविश्वास बढेको बताउँछन्।

असुरक्षित

स्कूटर, महिला, आत्मविश्वास
तस्बिरको क्याप्शन, स्कूटरमा यात्रा गर्दा सार्वजनिक यातायातका साधनले ठक्कर दिन्छन् कि भन्ने त्रासमा रहनुपर्ने महिलाहरुको भनाइ छ।

तर बेहाल सडकका कारण असुरक्षित यात्रा नियति बन्दै गएको उनीहरुको भनाइ छ।

त्यसमाथि छेवैमा आएर चर्को आवाजमा हर्न बजाउने, ठूला गाडीले अनावश्यक रुपमा पेल्न खोज्ने, चालक परिचालकहरुले अपशब्दहरु बोल्दिने जस्ता घट्नाहरुले निकै हतोत्साहित बन्ने गरेको उनीहरु सुनाउँछन्।

कविता भन्छिन्, "काठमाण्डूको बाटोमा स्कूटर अलि खतरा छ। आफूले राम्रोसँग हाँक्दाहाँक्दै पनि अरुले हानिदिन सक्छन्। खासगरी माइक्रो ड्राइभरसँग जोगिनुपर्यो। किनभने काठमाण्डूको माइक्रो ड्राइभरहरु चाहिँ त्यति पोख्त छैनन्। उनीहरुले जहाँ पनि रोकिदिन्छन्।"

आफ्नै सवारी साधन भएपछि सार्वजनिक यातायातमा यात्रा गर्दा झेल्नुपरेका विभिन्न किसिमका दुर्व्यवहारबाट छुट्कारा मिलेको महिलाहरु बताउँछन्।

तर आफ्नै सवारी साधन हाँक्दा पनि दुर्व्यवहार नरोकिएको सुरेष्मा बताउँछिन्।

"माइक्रो बसको ड्राइभरले केटीले स्कूटर चलाउँदा अर्कै आशयले हेर्छन्। स्कर्ट लगाएर चलायो भने मान्छेले नराम्रोसँग हेरिरहेको हुन्छ। म आफैँलाई पनि एकपटक माइक्रोले छोएर नै जाँदा एक महिनासम्म गाह्रो भएको थियो।"

विकासका काममा महिला पुरुष दुवैको समान सहभागिता अनिवार्य बन्दै गएको युगमा महिलाहरुप्रति सद्भाव र सहयोगको भावना जगाउनु अपरिहार्य भएको महिला अधिकारकर्मीहरुको भनाइ छ।