बांग्लादेशमा रोहिंज्या शरणार्थीको ओइरो

रोहिंज्या शरणार्थी

तस्बिर स्रोत, Reuters

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले म्यान्मारबाट भागेर छिमेकी देश बांग्लादेश प्रवेश गर्ने रोहिंज्या मुसलमानहरुको संख्या उच्च रुपमा बढेको जनाएको छ।

गत २४ घण्टामा मात्र करिब पैंतीस हजारभन्दा बढी नयाँ शरणार्थीहरु त्यसरी आइपुगेको यूएनएचसीआरले बीबीसीलाई बताएको छ।

यो सँगै दुई साताभन्दा पनि कम समयमा बांग्लादेश प्रवेश गर्ने शरणार्थीको संख्या एक लाख २० हजारभन्दा बढी पुगेको छ।

'ठूलो बोझ'

शरणार्थीहरुको ओइरो लागेपछि बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले विश्व नेताहरुलाई म्यानमारलाई ती शरणार्थी फिर्ता लिन दबाब दिन आह्वान गरेकी छन्।

आफ्नो देशका निम्ति शरणार्थीहरुको ओइरो ठूलो बोझ भएको उनले बताइन्।

म्यानमारको राखाइन प्रान्तमा अगस्ट २५ तारिखमा हिंसा भड्किएपछि हालसम्म १ लाख २३ हजार भन्दा बढी अल्पसंख्यक मुसलमान रोहिंज्या समुदायका मानिसहरु भागेर बांग्लादेश प्रवेश गरेको बताइएको छ।

रोहिंज्या उग्रवादी समूहले प्रहरी चौकीहरुमाथि आक्रमण गरेपछि त्यहाँ बर्मेली सैनिकले जवाफी कारबाही गरिरहेका छन्।

फलस्वरुप जीउज्यान जोगाउन आफ्ना थातथलो छाडेर भाग्ने रोहिंज्या मानिसहरुको संख्या बढ्न पुगेको हो।

उत्पीडन

राज्यविहीन भनिने रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यकहरु हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन्।

रोहिंज्या शरणार्थी

तस्बिर स्रोत, AFP

सहायता निकायहरुका भनेका छन् धेरै शरणार्थीहरु खाना र पिउने पानी बिना नै कैयौं दिनसम्म हिँडेर बांग्लादेश आइपुगेका छन्।

संयुक्त राष्ट्रसंघले शरणार्थीहरुलाई आवश्यक पर्ने खानेकुरा र आश्रयको मागमा नाटकीय वृद्धि भएको बताएको छ।

संयुक्त राष्ट्रसंघका दुई वटा शरणार्थी शिविरहरु अहिले पूरै भरिएको र मानिसहरु शिविरबाहिर वा खुला ठाउँमा आश्रयगृहहरु बनाएर र सडक छेउछाउमा समेत सुतिरहेको एक जना संयुक्त राष्ट्रसंघीय प्रवक्ताले बताइन्।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा राखाइन प्रान्तमा अझै लडाईं भइरहेको जस्तो देखिएको र बांग्लादेशको सीमा नजिक रहेका कम्तीमा १५ स्थानहरुमा धूँवाको मुस्लो उडिरहेको देखिएको उल्लेख छ।

त्यहाँबाट भागेका धेरैले सरकारी सेना र स्थानीय मानिसका हुलले उनीहरुलाई त्यहाँबाट धपाउने उद्देश्य स्वरुप उनीहरुको घरहरुमा आगो लगाइदिएको र सर्वसाधारणहरुलाई मारेको बताएका छन्।

मोदीको भ्रमण

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ‌औपचारिक भ्रमणका लागि म्यानमार पुग्दैछन् तर उनले रोहिंज्या शरणार्थीहरुको अवस्थाको विषयलाई कुन हदसम्म उठाउने छन् त्यो प्रष्ट छैन।

गत महिना मोदीको सरकारले म्यानमारसँग आर्थिक र सैन्य सम्बन्ध सुदृढ गर्न चाहेको र गैह्रकानुनी आप्रवासी भन्दै भारतमा रहेका ४० हजार रोहिंज्या शरणार्थीहरुलाई देशनिकाला गर्ने संकेत गरेको थियो।