भेनेजुएला संकटको "सैन्य" समाधान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय एक रहेको बताएका छन्।

न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, "अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन।"

उनले भने, "भेनेजुएलामा मानिसहरु दुख पाइरहेका छन् र मारिइरहेका छन्। अमेरिकासँग समाधानका धेरै उपाय छन् त्यसमध्ये एक सैन्य उपाय पनि हो।"

आलोचना
तस्बिरको क्याप्शन, भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले गराएको नयाँ संविधान सभा निर्वाचनको विभिन्न क्षेत्रबाट आलोचना भएको छ

भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले राष्ट्रपति ट्रम्पको भनाइलाई "पागलपनको उपज" भने।

आलोचना

राष्ट्रपति निकोलस मडुरोले बनाएको नयाँ संविधान सभालाई गैर प्रजातान्त्रिक भन्दै व्यापक आलोचना हुने गरेको छ।

अमेरिकाले हालै राष्ट्रपति मडुरोलाई अधिनायकवादी भन्दै विभिन्न प्रतिबन्ध लगाएको थियो।

ह्वाइट हाउसले पछि अमेरिकी राष्ट्रपतिसँग मडुरोले फोनवार्ता गर्न चाहेको बताएको थियो।

त्यसमा ट्रम्पको जवाफबारे ह्वाइट हाउसले भनेको छ, ट्रम्पले भेनेजुएलामा प्रजातन्त्र स्थापना भएपछि मात्रै आफ्ना भेनेजुयाली समकक्षीसँग खुशीसाथ कुराकानी गर्ने बताएका छन्।

यसैबीच भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले यो महिनाको शुरुमा सैन्य अखडामा भएको आक्रमणका नाइके गिरफ्तार भएको बताएका छन्।

जनरल प्याड्रिनोले गिरफ्तार गरिएका व्यक्ति पूर्व नेशनल गार्ड क्याप्टेन उआन कागुवारिप्यानो र लेफ्टिनेन्ट जेफरसन गार्सिया रहेको बताए।

रक्षामन्त्रीले उनीहरुलाई कडा सजाय दिने बताए।

सैन्य कार्यालयमा आक्रमण भएका दिन कागुवारिप्यानोले भिडिओ मार्फत राष्ट्रपति निकोलास मडुरो विरुद्ध आन्दोलन गर्न आग्रह गरेका थिए।