नेयमार: विश्वकै महँगा फुटबल खेलाडी

रेकर्ड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नेयमारले रियो २०१६ मा होण्डुरसविरुद्ध १४ सेकेण्डमा गोल हानेर ओलम्पिक इतिहासमा नयाँ कीर्तिमान बनाएका थिए

ब्राजिलका फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्।

नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी) सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार सम्झौता गरेका छन् जुन यसअघिको भन्दा दोबर बढी हो।

नेयमारले हरेक हप्ता १० लाख डलरभन्दा बढी कमाउनेछन्।

नेयमारले भने, "म युरोपको सबभन्दा महत्वाकाङ्क्षी क्लबमध्ये एकको सदस्य बनेको छु।"

चुनौती

उनले भने, "म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरूलाई सहयोग गर्न म आजदेखि हरेक कुरा गर्नेछु।"

पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो। तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो।

हप्तौँदेखिको अनुमानपछि नेयमार बुधवार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए।

त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको 'भविष्य रोज्न' भन्दै अनुमति दिएका थिए।

तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ।

बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय युइएफमा निवेदन दर्ता गर्ने बताएको थियो।

सहकार्य

नेयमार बार्सेलोनाबाट बाहिरिएपछि आर्जेन्टिनाका कप्तान लियोनेल मेसी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ।

बुधवार मेसीले इन्स्टाग्राममा लेखे, "यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।"

त्यसको जवाफमा नेयमारले लेखे "धन्यवाद भाइ म तिमीलाई सम्झिरहनेछु।"

विश्लेषकहरू भन्छन्, यो सम्झौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ।