रुस र अमेरिकाबीच भवन विवाद

तस्बिर स्रोत, EPA
ओबामा प्रशासनले बन्द गराएका दुई वटा विवादीत रुसी परिसरका बारेमा वरिष्ठ रुसी र अमेरिकी अधिकारीहरुबीच वासिङटनमा वार्ता भएको छ।
ती भवनहरु आफूलाई फिर्ता नगरिए आफ्नो तर्फबाट पनि कडा प्रतिक्रिया दिने मस्कोले चेतावनी दिदैँ आएको थियो।
क्रेमलिनले उक्त परिसर फिर्तीको माग आफ्नो उच्च प्राथमिकतामा रहेको बताउने गरेको छ।
तर अहिलेसम्म उसले राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाको निर्णय उल्टाउँछन कि भनेर पर्खिरहेको थियो।
विवाद
रुसी अधिकारीहरुले हालै आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको भेटवार्तालाई स्वागत गरेका थिए।
तर अमेरिकामा राजनीतिक वातावरण थप बिग्रिएको छ र रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको र ट्रम्पको चुनावी अभियान र मस्कोबीच साँठगाँठ रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
यस्तोमा मस्कोलाई कुनै पनि किसिमको छुट दिदाँ त्यसले थप विवाद निम्त्याउन सक्छ।
अहिले रुसी अधिकारीहरुले आफ्नो सम्पत्ति फिर्ता नपाए केही अमेरिकी कूटनीतिज्ञलाई देशनिकाला गर्ने चेतावनी दिइरहेका छन् जसले दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई थप जटिल बनाउनसक्ने देखिन्छ।

तस्बिर स्रोत, AFP
गएको डिसेम्बरमा चुनावमा हस्तक्षेप गरेको आशंकामा अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्दै ती परिसरहरु बन्द गराएका थिए।
जासुसी
अमेरिकी उपविदेशमन्त्री टमस स्यानोन र रुसी उपविदेशमन्त्री सर्गेइ र्याब कोबको तहमा पछिल्लो वार्ता भएको हो।
कब्जा गरिएका रुसी कुटनीतिक परिसरहरु मध्ये एउटा म्यारीलेण्डको पूर्वी तटीय क्षेत्रमा पर्छ जसलाई रुसी कुटनीतिज्ञहरुले मनोरञ्जन र खेलकुद जस्ता गतिविधिका लागि प्रयोग गर्छन्।
सो भवनमा अत्याधुनिक सञ्चार उपकरण समेत जोडिएको बताइन्छ र रुसी अधिकारीहरुले उक्त भवन जासुसीका लागि प्रयोग गर्दै आएको अमेरिकी अधिकारीहरुको भनाइ छ।
अर्को भवन चाँहि न्यूयोर्कको ग्लीन कोभ लङ आइलण्डमा अवस्थित छ र रुखहरुले छेकिएको उक्त परिसर पनि अमेरिकी सञ्चार निगरानी जस्ता जासुसी गतिविधि गर्न उपयुक्त स्थानमा रहेको अमेरिकी अधिकारीहरु बताउँछन्।








