दशैंसम्ममा मेलम्ची पूरा हुन कठिन

शिवपुरी निकुञ्जभित्र पर्ने मेलम्चीको सुरूङ
तस्बिरको क्याप्शन, सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याइपुर्याउन आवश्यक करिब २६ किलोमिटर लामो सुरुङ्ग मध्ये अब केवल २,५८८ मिटर मात्र खन्न बाँकी छ।

आउने दशैंसम्म काठमाण्डौंबासीको घर-घरमा आइपुग्ने भनिएको मेलम्ची नदीको पानी आउन त्यो भन्दा केही महिना ढिलो हुन सक्ने देखिएको छ।

सरकारले उक्त समयसीमा हालसम्म कायमै राखे पनि त्यतिञ्जेलमा पूरै सुरुङ्ग खन्न सकिने सम्भावना कमै रहेको अधिकारीहरु नै स्वीकार्छन्।

तर सुरुङ्ग, पाइपलाइन तथा पानी प्रशोधनको काम ९० प्रतिशतभन्दा धेरै सकिएको उनीहरुको भनाइ छ।

हिसाब

सोमबार सम्मको आँकडा हेर्ने हो भने मेलम्ची खोलाको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याइपुर्याउन आवश्यक करिब २६ किलोमिटर लामो सुरुङ्ग मध्ये अब केवल २५८८ मिटर मात्र खन्न बाँकी छ।

तर त्यो खन्ने औसत गति २० मिटर प्रतिदिनको हाराहारीमा छ।

सो हिसाबले बाँकी सुरुङ्ग खन्न अझै १३० दिन लाग्छ।

त्यसोभए सरकारले काठमाण्डौंबासीको यसपालीको दशैं थप रौनक पार्ने भनी देखाएको आश पूरा होला त?

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायका अनुसार कामलाई गति दिने प्रयास तीव्र बनाइएको छ।

उनले भने, "दशैंमा भनेको तर सुरुङ्गको खन्ने काम एकदम जटिल अवस्थामा पुगेको छ। धेरै विचार पुर्याएर खन्नुपर्ने स्थानहरु आइपरेका छन्। तर पनि बढीमा एकाध महिना ढिलो होला। हामी अझै यो खन्ने कामलाई तीव्रता दिने कोशिशमा छौं।"

नेपालमा पहिलोपटक यति लामो सुरुङ्ग खनेर खानेपानी आपूर्ति गर्न लागिएको उक्त परियोजनाको यो नै सबभन्दा खर्चिलो तथा समय लाग्ने खण्ड भएको बताइन्छ।

हालसम्म सुरुङ्गका निम्ति मात्रै २० अर्ब रुपियाँ खर्च भइसकेको र अझै दुई अर्ब लाग्ने सचिव उपाध्यायले बताए।

"बाइस अर्ब सुरुङ्गका निम्ति हो। अब सुरुङ्ग बनिसकेपछि भित्री संरचनामा केही अन्तिम कामहरु बाँकी हुन्छन्," उनले भने।

परीक्षण

मेलम्ची परियोजनाको अर्को खण्ड अन्तर्गत पानी प्रशोधन तथा जलाशयहरु अनि पाइपलाइन निर्माण हो।

तिनका निम्ति सुरुङ्गमा लागेको भन्दा दोब्बर खर्च भएको सचिवले बताएका छन्।

तिनको पनि काम लगभग सकिएको र अब साउनको अन्तिम सातातिर बाग्मतिको पानी प्रशोधन गरेर पाइपमा पठाई परीक्षण गर्न लागिएको बताइएको छ।

यो मेलम्ची परियोजनाबाट उपत्यकाका निम्ति दैनिक १७ करोड लिटर पानी आपूर्ति गरिने योजना छ।