म आधुनिक राष्ट्रपति: ट्रम्प

आरोप

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले श्रृंखलाबद्ध ट्वीटमार्फत आफूले गर्ने सामाजिक सञ्जाल प्रयोगको शैलीको बचाउ गरेका छन्।

एमएसएनबीसी टीभीका दुईजना प्रस्तोताबारे उनले गरेका टिप्पणीपछि उत्पन्न विवादका माझ ट्रम्पले त्यस्तो बचाउ गरेका हुन्।

शनिबार उनले ट्वीट गरेका छन्, "मैले राष्ट्रपतिको हैसियतमा सामाजिक सञ्जालको प्रयोग गरिरहेको छैन्, मैले त आधुनिक राष्ट्रपतिको जस्तो काम गरेको हुँ।"

यसै हप्ताको शुरुतिर ट्रम्पले मिका ब्रिजिन्स्की र जोए स्कारब्रोलाई व्यक्तिगत सुनिने गरी कडा आलोचना गरेका थिए।

निन्दा

ह्वाइट हाउसको बचाउका बावजुद ट्रम्पका ट्वीटहरुको डेमोक्र्याट तथा रिपब्लिकन दुवै थरीले निन्दा गरेका थिए।

ट्रम्पका सहयोगीहरुले यसअघि पनि उनका ट्वीटहरुलाई लिएर चिन्ता व्यक्त गरेका थिए।

तर शनिबार ट्रम्पले मूलधारका सञ्चारमाध्यमदेखि पर बस्न र जनतासँग प्रत्यक्ष रुपमा जोडिन सामाजिक सञ्जालले आफूलाई अवसर दिएको बताएका थिए।

उनले मूलधारका सञ्चारमाध्यमले "झुटा समाचार दिने गरेको" आरोप लगाउने गरेका छन्।

जालसाजी

ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ट्रम्पले मिका ब्रिजिन्स्की र जोए स्कारब्रोलाई व्यक्तिगत सुनिने गरी कडा आलोचना गरेका थिए।

"झुटो बोल्ने र जालसाजी गर्ने सञ्चारमाध्यमले मैले सामाजिक सञ्जालको प्रयोग गर्नुहुँदैन भनेर रिपब्लिकन र अरुलाई विश्वासमा लिन खोज्दैछन्, तर स्मरण रहोस् मैले अन्तर्वार्ता, भाषण र सामाजिक सञ्जालकै प्रयोगका कारण सन् २०१६ को चुनाव जितेको हुँ।"

अमेरिकी कंग्रेसले गरिरहेको छानबिनको दायरमा आफ्ना एक सहयोगी पनि परेको भन्ने एउटा लेख सीएनएन र युएस न्यूज नेटवर्कले हटाएपछि ट्रम्पले त्यसको पनि आलोचना गरेका छन्।

त्यसबारे उनले ट्वीट गरेका थिए, "मलाई एकदम खुशी लागेको छ कि सीएनएन अन्ततः झुटा खबर दिने र फोहोरी पत्रकारिताको रुपमा उदाङ्गिएको छ। यो समयको कुरा न हो।"

आन्तरिक छानबिनपछि वेबसाइटबाट हटाइएको भनिएको उक्त समाचारका कारण सिएनएनका तीनजना पत्रकारले राजीनामा दिनुपरेको थियो।

त्यसरी राजीनामा दिनेमा उक्त सञ्चारमाध्यमका खोज पत्रकारिता सम्पादक टमस फ्र्याक, र खोज पत्रकारिता विभाग हेर्ने पुलिट्जर पुरस्कार विजेता एरिक लिच्ट्ब्लाउ र लेक्स ह्यारिस थिए।