असांज विरुद्धको पक्राउपुर्जी खारेज

तस्बिर स्रोत, AFP
स्वीडेनका सरकारी अभियोजनकर्ताहरुले विकिलिक्स नामको एउटा चर्चित वेबसाईटका संस्थापक जुलिअन आसांज विरुद्धको बलात्कार अभियोगका सम्बन्धमा भैरहेको छानविन बन्द गर्ने निर्णय गरेका छन्।
त्यस्तो छानविनका क्रममा असांजलाई पक्राउ गर्न सात वर्षअघि पक्राउ पुर्जी जारी गरिएको थियो।
आफूलाई पक्रेर स्वीडेनले, गोप्य कुटनीतिक दस्तावेजहरु सार्वजनिक गरेको अभियोगमा मुद्दा चलाउन अमेरिकालाई सुपुर्दगी गरिदेला भन्ने आशंका असांजकोछ।
त्यही आशंकाका कारण उनले सन् २०१२ देखि लण्डनस्थित एक्वडोरको राजदूतावासमा शरण लिएका थिए।
असम्भव
जुलिअन असांजलाई कानुनी अनुसन्धान बारेको पुर्जी हस्तान्तरण गर्न असम्भव भएकाले उनी विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गरिएको एकजना प्रमुख अभियोजनकर्ताले बताइन्।
४५ बर्षिय असांज सन् २०१२ देखि लण्डनमा एक्वडोरको राजदूतावासमा बसिरहेका छन्।
जुलिअन असांज विरुद्ध कहिल्यै पनि औपचारिक रुपमा मुद्दा दायर गरिएको छैन।
र उनले आफू विरुद्धको बलात्कारको अभियोग राजनीतिक उद्देश्यले प्रेरित रहेको बताउंदै आएका छन्।
स्वीडेन सरकारको निर्णयप्रति सामाजिक संजालको वेबसाइट ट्वीटर मार्फत उनले प्रतिक्रिया जनाएका छन्।

तस्बिर स्रोत, Reuters
आफूलाई बदनाम तुल्याउन भएको प्रयासलाई कहिल्यै पनि नभुल्ने र त्यसका लागि जिम्मेवारहरुलाई माफ पनि नगर्ने उनको भनाई छ।
पक्राउ
ब्रिटेनको प्रहरीले भनेको छ, यदि असांजले ब्रिटेन छाड्ने प्रयास गरेमा उनलाई सन् २०१२ मा अदालतमा उपस्थित हुन दिइएको आदेश पालना नगरेको अभियोगमा पक्राउ गरिनेछ।
कडा प्रकृतिको अपराध नभएपनि सो अभियोगमा दोषी ठहर भएमा असांजले एक वर्षसम्मको जेल सजायं पाउन सक्छन्।
असांजले शरण लिइरहेका लण्डनस्थित एक्वडोरको दुतावासले असांजलाई सुरक्षित बाहिर जान दिन युके सरकारलाई आग्रह गरेको बुझिएको छ।
तर युके सरकारले आफूलाई अमेरिकाबाट आसांजलाई सुपुर्दगी गर्न औपचारिक अनुरोध प्राप्त भए नभएको भन्ने बारेमा कुनै टिप्पणी गरेको छैन।
असांजले स्थापना गरेको वेबसाइट विकिलिक्सले अमेरिकाको गोप्य सैनिक तथा कुटनितिक लाखौं दस्तावेजहरु सार्वजनिक गरिदिएको थियो।








