अनुमतिबिनै सगरमाथा चढ्ने प्रयास विफल

डेभी

तस्बिर स्रोत, RYAN SEAN DAVY/FACEBOOK

आवश्यक ११ हजार अमेरिकी डलरको दस्तूर नतिरिकनै सगरमाथा चढ्न खोजेका एक पर्वतारोहीलाई नेपाली अधिकारीहरुले नियन्त्रणमा लिएर राहदानी जफत गरेका छन्।

दक्षिण अफ्रिकाका रयान सन डेभि, ४३, एक्लै ७३ सय मिटरको उचाइमा पुगेको र एक गुफामा लुकिरहेको बेला फेला परेका थिए।

उनले माफी मागेका छन् तर आफूलाई 'हत्यारालाई जस्तो व्यवहार गरिएको' बताएका छन्।

सगरमाथाको चुचुरोसम्म एक्लै पुग्ने प्रयास गर्नुलाई एकदमै दुर्लभ घटना मानिन्छ।

गोप्य आरोहण

अधिकांश पर्वतारोहीहरुले विश्वको सर्वोच्च शिखर आरोहणका लागि एक जना पथप्रदर्शकसँगै लिएर जान्छन् भने आधार शिविरमा श्रोतसाधन सम्पन्न सहयोगी समूह साथै राख्ने गर्छन्।

पर्यटन मन्त्रालयका एक जना अधिकारीले बीबीसीलाई जानकारी दिए अनुसार आधार शिविर नजिकै डेभीले दुई जना पर्वतारोहण कर्मचारीहरुलाई शुक्रबार छल्ने प्रयास गरेका थिए।

त्यसपछि उनीहरुले उनलाई पछ्याए र अरुले पत्ता लगाउन नसक्ने गरी एउटा गुफामा आफ्ना लागि उनले बनाएको अस्थायी बासस्थान फेला पारे।

उनीहरुले सगरमाथा आरोहणको अनुमतिपत्र नभएको आशंकामा उनको राहदानी जफत गरेका थिए र काठमाण्डू फर्किएर पर्यटन विभागमा आफ्ना कागजपत्र पेश गर्न भनेका थिए।

सगरमाथा

तस्बिर स्रोत, AFP

तर अहिलेसम्म डेभी पुन: सम्पर्कमा नआएको अधिकारीहरु बताउँछन्।

ती अधिकारी भन्छन्, "उनले आफूसँग पर्याप्त पैसा नभएको भन्दै पदयात्रा मार्ग हुँदै काठमाण्डू फर्किने बताएका थिए।"

दुर्व्यवहार

उनले कानुन मिचेको निष्कर्षमा पुगेका पर्यटन अधिकारीहरुले उनले कानुनी कारबाही भोग्नुपर्ने प्रष्ट पारेका छन्।

तर आफ्नो फेसबुक खातामा राखिएको सन्देशमा डेभीले लेखेका छन्, "पैसा नभएका तथा सगरमाथा चढ्न उत्सुक व्यक्तिहरुको बारेमा विचार पुर्याउने समय पर्वतारोहण कम्पनीहरुसँग छैन।"

उनले आधार शिविरमा आफूलाई दुर्व्यवहार गरिएको भन्दै एउटा विन्दुमा त्यहीं कुटपिट गरि आफ्नो हत्या गरिने हो कि भन्ने महसुस गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, "मलाई हत्यारालाई जस्तै व्यवहार गरियो।"

कारबाही

पर्वतारोहण अनुमति नलिएको आरोपमा जेल सजायका साथै २२ हजार डलरसम्म जरिवाना हुनसक्ने डेभीले बताएका छन्।

उनले आफ्नो तालिममा समर्थन गर्ने परिवार र अरु सहयोगीहरु प्रति धन्यवाद दिंदै सगरमाथा आरोहणका लागि अनुमति शुल्क तिर्न नसेककोमा आफूलाई लाज नलागेको बताएका छन्।

आफ्नो 'सगरमाथाको गोप्य आरोहण' विफल बनाइएको भएपनि, उक्त प्रयासबाट दुखी भएका सबैसँग माफी माग्न चाहेको बताएका छन्।