इटलीमा सुधार प्रस्तावमाथि जनमत संग्रह

तस्बिर स्रोत, Reuters
इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीले आफ्नो पद दाउमा राखेर संवैधानिक सुधारमाथि गराइरहेको जनमत संग्रह अन्तर्गत मतदाताले मतदान गरिरहेका छन्।
इटलीको सुस्त राजनीतिक पद्धतिलाई चुस्त बनाउने उद्देश्यका साथ प्रस्तावित सुधारले केन्द्र सरकारलाई बलियो पार्नेछ भने माथिल्लो सदन सिनेटलाई कमजोर तुल्याउनेछ।
रेन्त्सीले जनमत संग्रहबाट आफ्ना प्रस्ताव अस्वीकृत भए पदबाट राजीनामा दिने बताएका छन्।
मत खसालेपछि सिनेटका प्रमुख पिएट्रो ग्रासोले भने, "मानिसहरुले यो अवसरको सदुपयोग गर्नुपर्दछ र आफ्नो सार्वभौमसत्ता तथा मतको अनुभूति गराउनुपर्दछ। तपाईंलाई थाहा छ किनः किनभने मत खसाउनेले आफ्नो निर्णय आफैंले गर्छ र नखसाउनेले अरुलाई निर्णय गर्न दिन्छ।"
पुनर्मूल्यांकन
जनमत संग्रहका लागि प्रस्तावित मुद्दा 'हुन्न' भन्ने अभियानको नेतृत्व लोकप्रिय 'फाइब स्टार मुभमेन्ट'ले चलाइरहेको छ, जो युरोपेली संघ इयुसँगको इटलीको सम्बन्धलाई पुनर्मूल्यांकन गरिनुपर्ने चाहन्छ र उसको आशा छ जीत भए सरकारलाई त्यसबारे अघि बढ्न दबाब दिनेछ।
तर संवाददाताहरु भन्छन्, त्यसले इटली र इयु दुवैका निम्ति अर्को राजनीतिक अनिश्चितता निम्त्याउनेछ।
मध्य वामपन्थी प्रधानमन्त्री रेन्त्सीले गराइरहेको जनमत संग्रहलाई धेरैले असन्तुष्टि व्यक्त गर्ने अवसरका रुपमा प्रयोग गर्ने अनुमान गरिएको छ।
प्रचारमुखी दलहरुले जनमत संग्रहमा 'हुन्न' भन्ने पक्षमा अभियान चलाएका छन्।
प्रधानमन्त्री रेन्त्सीले जनमत संग्रहबाट आफ्ना मुद्दा अस्वीकृत भए राजीनामा दिने बताएका छन्।
स्थानीय समय अनुसार बिहान ७ बजेदेखि जारी मतदान राति ११ बजेसम्म जारी रहनेछ र सोमबार बिहानै मत परिणाम आउने अपेक्षा गरिएको छ।
सुधारका योजना अन्तर्गत माथिल्लो सदनको अधिकार कटौती गर्ने प्रस्ताव समेटिएको छ, जसअनुसार सांसद् संख्या ३१५ बाट घटाएर एक सय पुर्याइनेछ।
प्रधानमन्त्री रेन्त्सीले सुधारका कदमले मुलुकमा कानुन बनाउने गतिमा तीव्रता ल्याउने बताएका छन्।
प्रत्यायोजन
इटलीमा सन् १९४८ यता ६० वटा सरकार परिवर्तन भएका छन्।

तस्बिर स्रोत, AFP
तर विपक्षीहरुले सुधारका प्रस्ताव प्रधानमन्त्रीमा थप अधिकार प्रत्यायोजन गर्नमा केन्द्रित रहेको बताएका छन्।
जनमत संग्रहमा झण्डै ५ करोड मतदाताहरुले मताधिकारको प्रयोग गर्न पाउनेछन्।
धेरै मतदाताहरु पछिल्ला वर्षमा देखिएको आर्थिक सुस्तताप्रति वाक्क छन्।
गत महिना गरिएको एउटा मत सर्वेक्षणले 'हुन्न' भन्ने पक्ष करिब पाँच प्रतिशतले अगाडि रहेको देखाएको थियो।
तर इटलीका धेरै मतदाताहरु अझै अनिर्णित देखिएका छन्। बेप्पे ग्रिलो नेतृत्वको फाइब स्टार मुभमेन्टले 'हुन्न' भन्ने पक्षको अगुवाई गरिरहेको छ।
उक्त समूहले इटलीले युरो मुद्रालाई निरन्तरता दिनुपर्छ वा पर्दैन भन्ने पक्षमा जनमत संग्रह गराइनुपर्ने धारणा राख्दै आएको छ।








