थप सैन्य सहायता उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिको अमेरिकालाई आग्रह

रुसले आक्रमण सुरु गरेयता पहिलो पटक सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारलाई निशाना बनाएको युक्रेनी सुरक्षा अधिकारीहरूले बताएका छन्।

लाइभ कभरेज

  1. काउन्सिल अफ युरोपबाट रुस निलम्बित

    काउन्सिल अफ युरोपबाट रुसी फेडेरेसनलाई निलम्बन गरिएको छ।

    काउन्सिल अफ युरोप यो महादेशमा मानव अधिकार, प्रजातन्त्र र कानुनी शासनको रक्षाका लागि स्थापित युरोपको सबैभन्दा पुरानो मध्येको राजनीतिक निकाय हो।

    काउन्सिलको कमिटी अफ मिनिस्टर्सले एउटा असाधारण बैठकबाट रुसको सदस्यता निलम्बन गरिएको वक्तव्य मार्फत जनाएको छ।

    रुसलाई सदस्यबाट हटाउने प्रक्रिया उसले युक्रेनमा आक्रमण गरेको भोलिपल्ट फेब्रुअरी २५ बाटै सुरु भएको थियो। रुस २६ वर्षदेखि काउन्सिल अफ युरोपको सदस्य थियो।

    काउन्सिल अफ युरोप

    तस्बिर स्रोत, Getty Images

  2. शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आग्रह

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्।

    अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरे।

    “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,” उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने।

    भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके “जीवनको अर्थ नदेखेको” बताएका थिए।

    अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने-“त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ।”

    उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए।

  3. युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई ऐतिहासिक सम्बोधन, के के भने

  4. युक्रेनी राष्ट्रपतिको अमेरिकी कङ्ग्रेसमा सम्बोधन

    युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिएका छन्।

    उनले युक्रेनमाथि रुसी आक्रमण अन्त्यका लागि रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउन अमेरिकासँग माग गरे।

    उनले रुसका सबै राजनीतिज्ञहरूविरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।

    जेलेन्स्कीले सबै अमेरिकी कम्पनीहरूलाई रुसबाट फिर्ता बोलाउन समेत सुझाएका छन्।

    युक्रेन राष्ट्रपति
  5. मारिओपोलको स्थिति भयावह: अन्तर्राष्ट्रिय रेडक्रस अध्यक्ष

    पाँच दिने भ्रमणका लागि युक्रेनको राजधानी किएभ पुगेका अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्षले त्यहाँका मानिसहरूले सहयोगका निम्ति याचना गरिरहेको बताएका छन्।

    अध्यक्ष पिटर माउसरले ठूलो पीडा निम्याइरहेको युद्धमा फसेका मानिसहरूसम्म राम्रो पहुँच हुन दिनका लागि अपिल गरेका छन्।

    खास गरी मारिओपोलको स्थिति भयावह रहेको भन्दै उनले त्यहाँ सहायता सामग्री पुर्‍याउन नसकिएको र दशौँ हजार मानिस अझै फसिरहेको बताए।

    रुसी फौजले एउटा अस्पतालको भूमिगत तल्लाबाटै फाइरिङ सुरु गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन्।

  6. शान्ति वार्ता सहज छैन तर आशा छ: रुसी विदेशमन्त्री

    सर्गेई लाभ्रोभ

    तस्बिर स्रोत, EPA

    रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनसँगको शान्ति वार्ता सहज नभए पनि आफूलाई सम्झौताको आशा भएको बताएका छन्।

    "हाम्रा वार्ताकारहरूले दिएको मूल्याङ्कनका आधारमा मैले धारणा बनाइरहेको छु," उनले भने।

    "उनीहरूका अनुसार केही स्वाभाविक कारणले गर्दा सहमति सहज छैन। यद्यपि सम्झौताको आशा बाँकी नै छ," आरबीसी समाचारलाई लाभ्रोभले दिएको अन्तरवार्ता उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

    युक्रेनको तटस्थता र असैनिकीकरणका साथै पूर्वी युक्रेनका मानिसहरूको सुरक्षाबारे आफूहरूको चासो रहेको उनको भनाइ छ।

  7. चौथो रुसी जेनरल मारिएको युक्रेनी दाबी

    युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन्।

    रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन्।

    किएभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जेनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा जानकारी गराएका छन्।

    रुसी जेनरल मारिएको युक्रेनी दाबीलाई बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन। मस्कोले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

    जेरास्चेन्कोले मारिएका जेनरलको भनिएको तस्बिर समेत पोस्ट गरेका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जेनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन्।

    रुसले युक्रेन आक्रमणमा २० जना जेनरलहरूको नेतृत्वमा सेना खटाएको बताइएको छ।

    युक्रेनी सैनिक

    तस्बिर स्रोत, Getty Images

  8. रुसी अधिकारीलाई राजीनामा दिन युक्रेनी राष्ट्रपतिको आग्रह

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रुसका उच्च पदस्थ अधिकारी र सञ्चार क्षेत्रका व्यक्तित्वहरूलाई पदबाट राजीनामा दिएर युक्रेन आक्रमणविरुद्ध अडान लिन आग्रह गरेका छन्।

    राजधानी किएभबाट रुसका अधिकारीहरूलाई सम्बोधन गर्दै उनले युद्धको विपक्षमा उभिन आह्वान गरेका हुन्।

    “तपाईँहरू पदमै बसिरहँदा युद्धको विरोध हुँदैन। अन्तर्राष्ट्रिय समुदायले तपाईँहरूमाथि सबैखाले सुविधाबाट वञ्चित गर्छ,” उनले भनेका छन्।

    “प्रोपागाण्डा प्रणालीको लागि पनि यही कुरा लागु हुन्छ,” उनले भने।

    “यो रुसको चौथो ठूलो शक्तिको स्रोत हो। तपाईँ प्रोपागाण्डाको लागि पदमा बसिरहनु भनेको पदबाट राजीनामा दिनु भन्दा ठूलो जोखिम हो।”

    “छोड्नुहोस्। जीवनभर अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खेपेर बस्नु भन्दा केही महिना जागिर नगरी बस्नु तपाईँहरूका लागि राम्रो हुनेछ।“

  9. गैरसैनिक पूर्वाधारमा रुसी हमला भएको युक्रेनी दाबी

    युक्रेन युद्ध

    तस्बिर स्रोत, MAXAR

    रुसले आक्रमण सुरु गरेयता पहिलो पटक सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारलाई निशाना बनाएको युक्रेनी सुरक्षा अधिकारीहरूले बताएका छन्।

    सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा युक्रेनी क्षेत्रीय सैनिक प्रशासन प्रमुख अलेक्जेन्डर स्टारुखले दक्षिणपूर्वी सहर जापोरिजियामा रेल स्टेसन र सार्वजनिक पार्कमा रुसी क्षेप्यास्त्रबाट हमला भएको दाबी गरेका छन्।

    "एउटा रकेट रेल स्टेसनमा र अर्को उद्यानमा प्रहार भएको छ। प्रारम्भिक सूचनामा कसैको पनि ज्यान गएको छैन," उनले लेखेका छन्।

    रुस नियन्त्रित सहर मारिओपोलबाट मानिसहरू जापोरिजियामा आइपुगे लगत्तै गैरसैनिक पूर्वाधारमा हमला भएको युक्रेनी सेनाको आरोप छ।

  10. रुसी बम आक्रमणबीच किएभ सुनसान

    किएभ

    बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किएभ आज चराहरूको चिरबिर सुनिने गरी सुनसान छ।

    तर सहरको उत्तर-पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै छ।

    रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकलन गरिएको छ।

    बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा रुसी हमला भएको थियो।

    मङ्गलवार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको बीबीसी सम्वाददाताले बताएका छन्।

    उनका अनुसार मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ।

    आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन्। अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन्।

  11. रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन

  12. कुन सहरको अवस्था के छ?

    इन्स्टिच्यूट अफ द स्टडी अफ वारले गरेको पछिल्लो विश्लेषणका केही मुख्य बुँदा यस्ता छन्।

    अमेरिकामा रहेको उक्त थिङ्कट्याङ्कले ‘ओपनसोर्स इन्टेलिजेन्स’ र प्रकाशित समाचारका आधारमा युद्ध मोर्चाको प्रत्येक दिनको विश्लेषण दिने गर्छ।

    • किएभ: रुसी फौजले राजधानीको बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमवार र मङ्गलवार केही आक्रमण गरेको छ। रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन्।
    • मारिओपोल: रुसले यो दक्षिणी सहरमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ।
    • खार्किभ: यो उत्तर- पूर्वी सहर घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ।
    • खेर्सन क्षेत्र: रुसले मङ्गलवार यो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन।
    • ओडेसा: यो दक्षिणी बन्दरगाह सहरमाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन।
  13. युक्रेन युद्धको ताजा विवरण के छ?

    युक्रेनमा यतिखेर बिहानको ७:३० बजेको छ। बुधवार ताजा घटनाक्रम यस्ता छन्:

    • युक्रेनका केही सहरका हवाई आक्रमणको जनाउ दिने साइरनको आवाजले सहरवासीलाई ब्युँझाएको छ
    • चौथो चरणको शान्ति वार्तामा केही प्रगति भएको छ र युक्रेनी राष्ट्रपतिले वार्ता 'थप यथार्थपरक बनेको' बताएका छन्
    • चेक गणतन्त्र, पोल्यान्ड र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपतिसँग भेट्न र ऐक्यबद्धता जनाउन किएभसम्मको जोखिमपूर्ण रेल यात्रा गरेका छन्
    • किएभमा कर्फ्यु लागेको ३६ घण्टा भएको छ र यसबीचमा त्यहाँ हवाई आक्रमण कायम छ। मङ्गलवार त्यहाँ कम्तीमा पाँच जना मानिस मारिएको बताइएको छ
    • मारिओपोलमा रुसी फौजले ४०० चिकित्सक र बिरामीलाई घेरेर राखेको नगरप्रमुखले दाबी गरेका छन्
    • फेब्रुअरी २४ मा युद्ध सुरु भएयता युक्रेनमा दैनिक ७०,००० बालबालिका शरणार्थी बनेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। युक्रेनी शरणार्थीको सङ्ख्या ३० लाख नाघेको छ
  14. के रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्छ?

  15. अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

    बाइडन

    तस्बिर स्रोत, REUTERS

    अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन्।

    रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।

    नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जाँदै छन्।

  16. जेलेन्स्कीलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा

    रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।

    मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। थप यो लिङ्कमा

    युोपेली नेता

    तस्बिर स्रोत, MATEUSZ MORAWIECKI/TWITTER

  17. मारिओपोलबाट झन्डै ३० हजार सर्वसाधारण बाहिरिए

    रुसी सेनाको धेराबन्दीमा परेका झन्डै ३० हजार सर्वसाधारण मङ्गलवार अन्यत्र जान सफल भएको युक्रेनका अधिकारीहरूले बताएका छन्।

    झन्डै २० हजार मानिस दक्षिणी सहर मारिओपोलबाट सयौँ कारमा मानव निकास मार्ग हुँदै निस्कन सफल भएका हुन्।

    रुसले उक्त सहरमा आफ्नो पकड बढाउँदै लगेको छ।

    रुसी सेना छलेर जानका लागि कच्ची सडकको प्रयोग गरेका केही सर्वसाधारणले आफूहरूको यात्रा कष्टपूर्ण रहेको बताए।

    मारिओपोलका स्थानीय अधिकारीहरूका अनुसार सेनाले उक्त सहरको मुख्य अस्पताल आफ्नो नियन्त्रणमा लिएको छ जहाँ ४०० भन्दा बढी बिरामी अनि स्वास्थ्य कर्मचारी छन्।

    युक्रेनका उप-प्रधानमन्त्रीले उनीहरूलाई बन्दीका रूपमा व्याख्या गरेका छन्।

  18. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता महत्त्वपूर्ण घटनाक्रमबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामी मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्किरहनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।