युद्धमैदान बनेको युक्रेनको मारिओपोल शहरमा उद्धारको नयाँ प्रयत्न

युक्रेनको महत्त्वपूर्ण दक्षिणी शहर मारिओपोलमा रुसी आक्रमण जारी रहेपछि उद्धार अवरुद्ध बनेको थियो। त्यहाँ नयाँ युद्ध विरामको घोषणासँगै नयाँ प्रयत्न शुरू गरिएको छ।

लाइभ कभरेज

  1. रुसी गोलाबारीका कारण शहरबाट निस्कन असम्भव- मारिओपोलका अधिकारीहरू

    आइतबार बिहान नयाँ अस्थायी युद्धविरामसहित पुनः सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने प्रयत्न थालेको मारिओपोल सीटी काउन्सिलले पुनः त्यो अवरुद्ध भएको जनाएको छ।

    रुसी गोलाबारीका कारण नागरिकहरू सुरक्षित रूपमा निस्कन असम्भव भएको उसले जनाएको छ।

    पाँच दिनदेखि उक्त युक्रेनी शहरमा खानेपानी र बिजुली प्रवाह रोकिएको छ भने खानेकुरा समेत सकिन लागेको बताइएको छ।

  2. युक्रेनका राष्ट्रपतिले इलोन मस्कलाई भ्रमणको निम्तो दिए

    युक्रेनका राष्ट्रपति जेलेन्स्कीले प्रविधि व्यवसायी इलोन मस्कलाई युद्धपछि युक्रेन भ्रमणमा आउन निम्तो दिएका छन्।

    मस्कले आफू युक्रेन भ्रमणको प्रतीक्षामा रहने बताए।

    मस्कले युक्रेनलाई एक ट्रक स्टारलिङ्क इन्टरनेट टर्मिनल पठाइदिएका थिए जसले उनको कम्पनीको स्याटेलाइटमा आधारित सेवामा जोडिन्छन। यो हप्ता उनले थप त्यस्ता सामग्री पठाउने बताए।

    युक्रेनी सरकार युक्रेनको इन्टरनेट पहुँच निश्चित गर्न र सञ्चार संरचनामाथि रुसी आक्रमणको प्रभाव कम गर्न काम गरिरहेको छ।

    इलोन मस्क र युक्रेनी राष्ट्रपतिबीच कुराकानी
  3. रुसमा भएको युद्धविरोधी प्रदर्शनमा सयौँ पक्राउ- निगरानी समूह

    युक्रेन

    तस्बिर स्रोत, EPA

    ६०० भन्दा धेरै प्रदर्शनकारीहरू रुसका २१ शहरहरूमा पक्राउ परेको निगरानी समूह ओभीडी-इन्फोले जनाएको छ।

    जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा भइरहेको युद्धको विरोधमा प्रदर्शन गर्न आह्वान गरेका थिए।

    उक्त निगरानी समूहले स्थानीय सञ्चार स्रोतहरूलाई उद्धृत गर्दै साइबेरियाको शहर नोभोसिबिर्क्समा मात्र २०० भन्दा धेरै मानिसहरू पक्राउ परेको जनाएको छ।

    नभाल्नीले मस्को र सेन्ट पिटर्सबर्ग सहितका रुसी शहरका मुख्य स्क्वायरहरूमा प्रदर्शन गर्न आह्वान गरेका थिए।

    रुसमा हुने सरकारविरोधी प्रदर्शनहरूमा ठूलो सङ्ख्यामा मानिसहरूको गिरफ्तारी हुने काम एउटा मानकजस्तै भएको छ।

    ओभीडी-इन्फोका अनुसार ११ दिनअघि युक्रेनमा युद्ध सुरु भएपछि ८ हजारभन्दा धेरै प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको वा पक्राउ परेका छन्।

    आइतवारको विरोध रुसी हमला विरूद्ध विश्वव्यापी प्रदर्शनहरू भएको एकदिनपछि भएको हो।

  4. स्थिति झन् गम्भीर बन्दै गएको छ: युक्रेनकी उपप्रधानमन्त्री

    रुसको "आतङ्कवादी योजना"को नयाँ लहर शुरू भएको युक्रेनकी एक उपप्रधानमन्त्रीले बताइन्।

    ओल्हा स्टेफानिश्न्याले बीबीसीसँग त्यहाँको अवस्था झनै गम्भीर बन्दै गएको र युक्रेनी सहरहरूका अस्पताल र शिशु कक्षाहरूमा गोलाबारी गरिएको बताइन्।

    उनले युक्रेनले आक्रमणको प्रतिरोध गर्ने दृढ सङ्कल्पका बाबजुद युद्धको अन्त्य हुने सङ्केत नदेखिएको बताइन्।

    रुसले आफ्ना सैनिकहरूको जीवनसहित "ठूलो नोक्सान" बेहोर्नु पर्दा पनि भ्लादिमिर पुटिन निरुत्साहित नभएको तर उनले थप आक्रमण प्रोत्साहित गरिरहेको बताइन्।

    युक्रेनकी एक उपप्रधानमन्त्री
  5. युद्ध अपराध के हो? रुसमाथि अनुसन्धान किन हुँदैछ?

    रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका छन्। ३९ देशले त्यस्तो छानबिन हुनुपर्ने माग गरेपछि त्यसो गरिएको हो। रुसले भने सर्वसाधारणलाई निशाना बनाइएको कुरा अस्वीकार गरेको छ। युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ? थप यो लिङ्कमा:

  6. ब्रेकिंग, १० दिनमा १५ लाख युक्रेनी नागरिकहरूले देश छाडे- राष्ट्रसङ्घ

    पछिल्ला दश दिनमा १५ लाखभन्दा धेरै युक्रेनी नागरिकहरूले आफ्नो घर छाडेर छिमेकी देशहरूमा पुगेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्।

    उनले त्यसलाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा द्रूत गतिमा बढेको शरणार्थी सङ्कट बताएका छन्।

  7. युक्रेन द्वन्द्व महिनौँ चल्नसक्छ- यूकेका उपप्रधानमन्त्री

    युक्रेन

    तस्बिर स्रोत, PA Media

    युक्रेनमा जारी द्वन्द्व महिनौँ चल्न सक्ने देखिएको यूकेका उपप्रधानमन्त्री डोमिनिक राबले बताएका छन्।

    स्काई न्यूजसँगको कुराकानीमा उनले उक्त द्वन्द्व वर्षौँ जानसक्ने सम्भावनालाई समेत नकारेनन्।

    उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको असफलता सुनिश्चित गर्न आफूहरूको गठबन्धनले ‘रणनीतिक सहनशीलता’ प्रस्तुत गर्न सक्नुपर्ने बताएका छन्।

  8. ब्रेकिंग, मारिओपोलमा नयाँ युद्धविराम- सीटी काउन्सिल

    युक्रेनको मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ।

    सर्वसाधारणलाई एउटा सहमति गरिएको मार्गमार्फत उक्त शहरबाट निस्कन १२ बजेदेखिको समय तोकिएको छ।

    गत शनिवार त्यस्तै एउटा योजना घोषणा गरिए पनि केहीबेरमै त्यो बमबारीसँगै तोडिएको थियो।

  9. रुसले युद्ध शुरू भए यता ८८ विमान गुमाइसक्यो- युक्रेन

    युक्रेनको रक्षा मन्त्रालयले जारी द्वन्द्वमाथि उसको दैनिक रिपोर्ट प्रकाशित गरेको छ। त्यसका मुख्य बुँदा यस्ता छन्:

    • रुसले युद्ध शुरू भए यता ८८ विमान र हेलिकोप्टर गुमाएको छ
    • केही रुसी विमान चालकहरू युक्रेनले नियन्त्रणमा लिएको छ
    • युक्रेनको सशस्त्र फौजले दक्षिण पूर्वमा रहेको बन्दरगाह शहर मरिअपलको रक्षार्थ लडिरहेका छन्
    • ‘ठुलै मात्रा’मा रुसी उपकरण दक्षिणी मिकोलेभ क्षेत्रमा नियन्त्रणमा लिइएको छ
    • रुसी फौजहरू युक्रेनी प्रतिरोधको शक्ति देखेर ‘हतोत्साहित’ भएका छन्

    बीबीसीले युक्रेनी सेनाको दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। रुसले आफ्नो क्षतिको थोरै मात्र विवरण दिएको छ तर सैन्य विज्ञहरूले युक्रेनी प्रतिरोधको शक्तिबाट रुसीहरू आश्चर्यमा परेका र युक्रेनभित्र पसेका रुसी फौजलाई आवश्यक वस्तु उपलब्ध गराउन र रुसी समूहको मनोबल उच्च राख्न समस्या पैदा भएको पनि बताएका छन्।

    युद्ध मोर्चामा रहेका युक्रेनी सैनिक

    तस्बिर स्रोत, EPA

  10. युक्रेन युद्धको ११ औँ दिन, केही महत्त्वपूर्ण घटनाक्रम

    आइतवार युक्रेनमा युद्धको ११ औँ दिन हो। युक्रेनमा अहिले बिहान भएको छ। किएभ र खार्किभबीच रहेको पोल्टाभा शहरमा हवाई आक्रमणको साइरन बन्द भएको हामीले देखेका छौँ।

    तपाईँले थाहा पाउनुपर्ने कुरा यस्ता छन्:

    • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई 'नो फ्लाइ जोन' घोषणा गर्न आग्रह अमेरिकी सांसदहरूसँग भिडिओ कल गर्दा दोहोर्‍याएका छन्। उनले अमेरिकी राष्ट्रपति बाइडनसँग पनि शनिवार राति कुराकानी गरेका छन्।
    • नेटोले 'नो फ्लाइ जोन' घोषणा गर्न अस्वीकार गर्दै आएको छ
    • रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'नो फ्लाइ जोन' घोषणा गर्नु भनेको युद्धको कारबाही हुने चेतावनी दिएका छन्।
    • रुसले रणनीतिक महत्त्वको मरिअपल शहरमा बमबारी जारी गरेको छ। त्यहाँका नागरिकलाई बाहिरिन सहयोग पुग्ने गरी गर्ने भनिएको युद्धविराम भङ्ग भएको युक्रेनी अधिकारीले जनाएका छन्।
    • कतिपय शहरमा पानी र बिजुली सेवामा अवरोधआएको बताइएको छ
    • अमेरिकी पैसा सम्बन्धी कारोबार गर्ने विशाल कम्पनीहरू भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा स्थगित गरेको बताएका छन्रु
    • रुसी र युक्रेनी प्रतिनिधिहरू अर्को चरणको सहमतिका लागि सोमवार भेट्दैछन्
    युक्रेनको घटनाक्रम

    तस्बिर स्रोत, Getty Images

  11. युक्रेनका 'कान्छो मन्त्री' जो रुसविरुद्ध सामाजिक सञ्जालमार्फत लडिरहेका छन्

    युक्रेनको क्याबिनेटका सबैभन्दा कान्छा मन्त्री मिखाइलो फेडोरोभले ठूला प्रविधि कम्पनीहरूलाई रुसलाई बहिष्कार गर्न आग्रह गरेका छन्। साथै त्यसमा सामेल हुन ह्याकरहरूलाई आग्रह गरेका छन् र इलोन मस्कलाई युक्रेनलाई फाइदा पुर्‍याउन भूउपग्रहहरू सार्न भनेका छन्।

    यीमध्ये प्राय काम उनले स्मार्ट फोनमार्फत गरेका छन्।

    ३१ वर्षीय फेडोरोभ युक्रेनका प्राविधिक रूपान्तरण मन्त्री हुन्। हाल उनी किएभको गोप्य स्थानमा भूमिगत भएर बसेका छन्।

    उनका मित्र अर्थात् देशका राष्ट्रपति भौतिक युद्धका लागि सेनाहरूलाई तैनाथ गरिरहँदा मिखाइलो फेडोरोभ र उनको समूह भने रुसविरुद्ध फरक किसिमको युद्ध लडिरहेका छन्।

    उनले आफ्नो रुचिको हतियार अर्थात् सामाजिक सञ्जालको प्रयोग गरेर, ठूला व्यवसायका प्रमुख कार्यकारी अधिकृतहरूलाई मस्कोसँग सम्बन्ध तोड्न आग्रह गर्दै आएका छन्। उनले "शत्रु" विरुद्ध साइबर-आक्रमण सुरु गर्न स्वयंसेवक आह्वान गरी "युक्रेनको आइटी आर्मी" गठन गर्ने अभूतपूर्व कदम पनि चालेका छन्।

    उनको कामलाई युद्धको एक महत्त्वपूर्ण प्रयासको रूपमा लिइएको छ। तर उनको सबै अभियानलाई अन्तर्राष्ट्रिय रूपमा भने स्वागत गरिएको छैन।

    मिखाइलो फेडोरोभ।

    तस्बिर स्रोत, Mykhailo Fedorov

  12. युक्रेनले माग गरिरहेको ‘नो-फ्लाइ जोन’ भनेको के हो ?

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक पटक फेरि पश्चिमा राष्ट्रलाई युक्रेनमा ‘नो-फ्लाइ जोन’ अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

    तर, सैन्य सङ्गठन नेटोले त्यसको विरोध गरिरहेको छ। किन?

    युद्धमा नो-फ्लाइ जोन भनेको विमानलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नबाट रोक्नको लागि हो। सामान्यतया आक्रमण वा निगरानीलाई नियन्त्रण गर्नका लागि हवाई प्रवेश रोकिन्छ।

    तर यस्तो प्रतिबन्ध सैन्य माध्यमबाट लागू गरिनु पर्छ।

    युक्रेनमाथि नो-फ्लाइ जोन घोषणा गर्नुको अर्थ विशेष गरी नेटो सेनासहित अन्य सैन्य बलहरू आकाशहरूमा देखिएका कुनै पनि रुसी विमानहरूसँग प्रत्यक्ष संलग्न हुनेछन् र आवश्यक परेको खण्डमा ती विमानहरूमाथि गोली प्रहार गर्नेछन्।

    यसले प्रभावकारी रूपमा पश्चिमी राष्ट्रहरूलाई रुससँग सैन्य लडाइँमा ल्याउनेछ। र, यसले युद्धको घटनाक्रम नाटकीय रूपमा बढ्नेछ।

  13. पुटिनलाई पराजित गर्न बोरिस जोनसनको ६ बुँदे योजना

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व नेताहरूलाई युक्रेनमा रुसले गरेको "भयानक" आक्रमण विफल तुल्याउन नयाँ प्रयास गर्न आह्वान गरेका छन्।

    उनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम राख्न ६ बुँदे योजना बनाएका छन्।

    यस्ता छन् ती योजना:

    · विश्व नेताहरूले युक्रेनको लागि "अन्तर्राष्ट्रिय मानवीय गठबन्धन"लाई परिचालन गर्नुपर्छ.

    · सबैले युक्रेनले "आत्मरक्षाको लागि गरेको प्रयासहरूमा" साथ दिनुपर्छ।

    · रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ।

    · अन्तर्राष्ट्रिय समुदायले युक्रेनमा रुसले आफ्नो गतिविधिलाई सामान्य बनाउने प्रवृत्तिको प्रतिरोध गर्नुपर्छ।

    · युक्रेनको वैध सरकारको पूर्ण सहभागितामा मात्र युद्धको कूटनीतिक समाधान खोज्नु आवश्यक छ।

    · नेटो देशहरूबीच "सुरक्षा र लचिलोपन सुदृढ गर्न द्रुत अभियान" अघि बढाउनु पर्छ।

    जोनसनले सोमवार डाउनिङ स्ट्रिटमा हुने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र डच प्रधानमन्त्री मार्क रुटेसँगको बैठकमा आफ्नो सन्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसन।

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन।
  14. युक्रेन आक्रमणले फिनल्यान्डलाई नेटोमा सहभागी हुन प्रेरित गरेको छ

    रुसी आक्रमणका कारण युक्रेनका छिमेकीहरू- बाल्टिक राज्यहरूदेखि मोल्डोभासम्म त्रास छाएको छ।

    फिनल्यान्ड सैद्धान्तिक रूपमा सुरक्षित रहेको अनुमान गरिएको छ। किनकि यो देश ऐतिहासिक रूपमा तटस्थ छ र सन् १९३९ मा यस देशमा आक्रमण गर्दा स्टालिनको सोभियत सेनाले निकै कठिन अवस्था सामना गर्नु परेको थियो।

    स्विडेनबाहेक अन्य स्क्यान्डिनेभियाली देशहरूले नेटो सैन्य सङ्गठनमा सहभागी हुन कहिल्यै समर्थन पाएका छैनन्। तर, हालसालै रुसी विदेश मन्त्रालयका प्रवक्ताले फिनल्यान्ड र स्विडेनलाई नेटोमा सामेल हुने कुनै पनि कदमले सैन्य नतिजा निम्त्याउन सक्ने स्पष्ट चेतावनी दिए। उक्त चेतावनीले दुवै देशका मानिसहरू स्तब्ध बनाएको छ।

    त्यस यता, स्विडेनको आकाशलाई रुसी लडाकु विमानहरूले अतिक्रमण गरेका छन्।

    यदि तटस्थ रहनु रुसबाट सुरक्षित रहन पर्याप्त छैन भने, यहाँका मानिसहरूले नेटोमा समावेश हुनुले दुवै देशलाई आवश्यक सुरक्षा प्रदान गर्ने विश्वास गरेका छन्।

    यसले मानिसहरूको मानसिक अवस्थामा भएको प्रमुख परिवर्तनको प्रतिनिधित्व गर्छ।

    फिनल्यान्डको रसियासँग सम्बन्ध निकै राम्रो भएको मानिन्छ। युक्रेनमाथि आक्रमणले सबै कुरा परिवर्तन गरिदियो।

    युद्ध प्रभावित महिला।

    तस्बिर स्रोत, Getty Images

  15. रुस-युक्रेन तनावबारे चीन: 'आगोमा इन्धन'थप्ने जुनसुकै कदमको विरोध गर्छौँ

    चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्थोनी ब्लिन्कनसँग बेइजिङले "आगोमा इन्धन थप्ने" कुनै पनि कार्यको विरोध गर्ने बताएका छन्।

    ग्लोबल टाइम्सका अनुसार वाङ यीले आफूले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताका लागि प्रोत्साहन गरेको बताउँदै संवाद र वार्ताबाट मात्र सङ्कट समाधान गर्न सकिने बताए।

    पछिल्लो दुई सातामा दुई अधिकारीबीचको यो दोस्रो फोन वार्ता हो।

    यस सङ्कटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको छ, जसले रुसको आक्रमणको हालसम्म आलोचना वा समर्थन गरेको छैन। बेइजिङले युरोपमा युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन र यो मस्कोसँगको सैन्य र रणनीतिक सम्बन्ध पनि सुदृढ गर्न चाहन्छ।

    वाङले अमेरिका, नेटो र युरोपेली सङ्घलाई रुससँग "निष्पक्ष वार्ता" गर्न र नेटो सङ्गठनको विस्तारको बारेमा मस्कोको सुरक्षा चासोलाई स्वीकार गर्न पनि आह्वान गरे विवरणमा उल्लेख छ।

    चीनका विदेशमन्त्री वाङ यी।

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, चीनका विदेशमन्त्री वाङ यी।
  16. विश्लेषण: रुसी सेनाले युक्रेनमा कमजोर प्रदर्शन गरेको छ, फ्र्याङ्क गार्डनर, बीबीसी सुरक्षा संवाददाता

    रुसी सेनाले युक्रेनमा अहिलेसम्म कमजोर प्रदर्शन गरेको छ। आक्रमण अगाडि रुसी सेनामा क्रान्तिकारी परिवर्तन गरेर बटालियन ट्याक्टिकल ग्रुप्स अर्थात् रणनीतिक समूहका रूपमा पुनर्गठन गरिएको अनुमान गरिएको थियो।

    करिब ८०० देखि १००० सम्मका सैनिकहरूले ट्याङ्कहरू ड्रोन र धेरै पटक प्रहार गर्न मिल्ने रकेट प्रणालीसँग निकट समन्वयमा काम गरेर शत्रुलाई बहु आयामिक धक्का दिनेछन् भन्ने ठानिएको थियो। तर त्यसरी काम भइरहेको छैन।

    खासगरी उत्तरमा रुसी कमान्डरहरूले यो आधुनिक युद्ध प्रणालीको पूर्ण प्रयोग गर्न स्पष्ट रूपमा विफल भएको छ।

    उनका सवारी साधनमा पनि यान्त्रिक खराबी देखिएका छन्। र उनीहरूले युक्रेनी प्रतिरोधको शक्तिलाई पनि कम आँकेको जस्तो देखिएको छ। त्यसका कारण रुसीहरूले ठूलो सङ्ख्यामा सैनिकहरू र उपकरण गुमाउनु परिरहेको छ। र यस अघि अनुमान गरिए झैँ आमनेसामने परेर निर्मम लडाइ भइरहेको छ।

    रुसी सैन्य रणनीति एक कच्चा तर परीक्षित सिद्धान्ततर्फ फर्केको छ- शहरमा घेरा हाल्ने, हवाई आक्रमण गर्ने र बाँच्न चाहने र बचाउनेका मनोबल गिराउने।

    बढ्दो सर्वसाधारणको हता-हती विरुद्ध भइरहेको अन्तर्राष्ट्रिय भर्त्सनाले राष्ट्रपति पुटिनलाई कुनै अर्थ राख्ने छैन। आक्रमण रोक्ने कुनै नियत नरहेको उनले सु-स्पष्ट पारिसकेका छन्।

    युक्रेनमा युद्ध

    तस्बिर स्रोत, Getty Images

  17. युक्रेनको पक्षमा लड्न करिब ३,००० अमेरिकीले स्वयंसेवा गर्ने: भ्वाइस अफ अमेरिका

    रुसी आक्रमणविरुद्ध लड्न युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आह्वान गरेको थियो। त्यसका लागि करिब ३,००० अमेरिकीले जवाफ दिएको वाशिङ्टन डीसीस्थित युक्रेनी दूतावासका प्रतिनिधिले भ्वाइस अफ अमेरिका समाचार संस्थालाई बताए।

    पश्चिमा राष्ट्रहरूले युक्रेनमा लड्नका लागि सेना पठाएका छैनन्। तर, लडाइँमा सहयोग गर्न युक्रेनलाई हतियार पठाउँदै आएका छन्।

    उनीहरूले रुस र रुसी नेताहरूविरुद्ध आर्थिक प्रतिबन्धहरू समेत लगाएका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूले युद्ध लड्नका लागि सहयोग पुर्‍याउन विदेशी स्वयंसेवकहरूको "अन्तर्राष्ट्रिय सेना" गठन गर्न आह्वान गरेका हुन्।

    केही दिन अघि, जेलेन्स्कीले लगभग १६,००० विदेशीहरूले युक्रेनलाई लडाइँमा मद्दत गर्न स्वयंसेवा गरेको अनुमान गरेका थिए।

    अमेरिकी स्वयंसेवक

    तस्बिर स्रोत, Anadolu Agency via Getty Images

  18. युक्रेनको बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

    युक्रेनका बारेमा स्पष्ट अडान लिन भारत अत्यधिक दबाबमा परेको छ।

    जारी सङ्कट समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै मस्कोविरुद्ध संयुक्त राष्ट्रको मतदानबाट भारत टाढा रहेको थियो। आधिकारिक धारणमा पनि दिल्लीले क्षेत्रीय अखण्डताको महत्त्वको बारेमा कुरा गरेको छ तर रुसको आलोचना गरेको छैन।

    दिल्लीसमक्ष पश्चिमा राष्ट्र र रुस दुवैसँगको रक्षा र कूटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने कठिन काम छ।

    मस्कोले भारतको लगभग ५० प्रतिशत रक्षा आयात उपलब्ध गराउँछ। साथै यी दुई देश विश्वव्यापी मामिलाहरूमा भरपर्दो साझेदार हुन्। तर अमेरिकासँग भारतको सम्बन्ध पछिल्लो दुई दशकदेखि उल्लेखनीय रूपमा बढेको छ।

    युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानहरूले भारतको चुनौती प्रस्ट्याउँछ।

    भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले शनिवार भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताएका छन्। उस्तै समयमा अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डोनाल्ड लुले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताए।

    द्वन्द्व जारी रहेको अवस्थामा, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशलाई निरन्तर चुप रहन कठिन हुने देखिन्छ।

    रुस भारत सम्बन्ध

    तस्बिर स्रोत, Getty Images

  19. अमेरिका र पोल्यान्डद्वारा युक्रेनमा सोभियतकालीन विमानहरू पठाउने तयारी

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी अधिकारीहरूले पोल्यान्डसँगएउटा सहमति गर्न चाहिरहेका छन् जस अनुसार अमेरिकाले पोल्यान्डलाई एफ-१६ जेट लडाकु विमानहरू दिनेछ जसको सट्टामा पोल्यान्डले युक्रेनलाई सोभियतकालीन विमान उपलब्ध गराउने छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र तीन सयभन्दा बढी अमेरिकी सांसदहरू बीचको बैठकपछि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध सहयोग गर्ने कदम उठाएको हो। बैठकमा युक्रेनका राष्ट्रपतिले आफ्नो देशलाई थप विमानहरू अत्यावश्यक रहेको बताएका थिए।

    "हामी यस विषयमा पोल्यान्डसँग छलफल गरिरहेका छौँ र हाम्रा नेटोका सहयोगीहरूसँग पनि परामर्श लिइरहेका छौँ," ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी सञ्चारमाध्यमसँग भने। युक्रेनलाई विमानहरू हस्तान्तरण गरेको खण्डमा अमेरिकाले पोल्यान्डलाई के प्रदान गर्न सक्छ भन्नेले यसबारेको निर्णय निर्धारण गर्छ।

    युक्रेनका पाइलटहरू रुसी-निर्मित विमान प्रणालीहरू उडान गर्न विशेष तालिम प्राप्त भएकाले त्यस्तै विमान आवश्यक रहेको बताइएको छ।

    राष्ट्रपति जो बाइडनले शनिवार साँझ जेलेन्स्कीसँग कुरा गरेको र अमेरिकाले युक्रेनलाई सुरक्षा, मानवीय र आर्थिक सहायता "बढाउँदै" र थप कोष सुरक्षित गर्न काङ्ग्रेससँग सहकार्य गरिरहेको ह्वाइट हाउसले बताएको छ।

  20. युक्रेन रुस तनाव

    शुभप्रभात।

    युक्रेन-रुस युद्धसम्बन्धी लाइभ पेजमा स्वागत छ। अन्य दिनजस्तै आज आइतवार पनि हामी दिनभरि यो पेजमा युक्रेन-रुस युद्धसम्बन्धी घटनाक्रमहरू राख्नेछौँ।