किएभमा पाँचदेखि छ वटा विस्फोटन : बीबीसी संवाददाता
किएभस्थित बीबीसी संवाददाता पल एडम्सका अनुसार पाँचदेखि छवटा विस्फोटनको आवाज सुनिएको छ।
देशका अन्य विभिन्न भागमा पनि विस्फोटन भइरहेका विवरण आएको उनले बताएका छन्।
रुसले पूर्वी युक्रेनमा सेना परिचालन गर्ने घोषणा गरेपछि अमेरिका, यूके र अरू देशहरूले रुसविरुद्ध विभिन्न प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।
किएभस्थित बीबीसी संवाददाता पल एडम्सका अनुसार पाँचदेखि छवटा विस्फोटनको आवाज सुनिएको छ।
देशका अन्य विभिन्न भागमा पनि विस्फोटन भइरहेका विवरण आएको उनले बताएका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ''सैन्य कारबाही''को घोषणा गरेका छन्।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन्।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ''झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको'' बताएका छन्।
बिहिवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन्। बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसबाहिर सैन्य बल प्रयोग गर्न सांसदहरूसँग अनुमति मागेको जानकारी आएको छ।
त्यसबाट रुसलाई युक्रेनमा ठूलो आक्रमण गर्न बाटो खुल्न सक्ने बताइन्छ।
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले पाँचवटा रुसी बैंकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले रुसका सबैभन्दा बढी सम्पत्ति भएका तीन व्यक्तिमाथि पनि प्रतिबन्ध लगाएका छन्।
जोनसनले भने, “उनीहरूको यूकेमा भएका सम्पत्ति रोक्का गरिनेछ र ती व्यक्तिहरूलाई यहाँ आउनबाट प्रतिबन्ध लगाइएको छ। हामी यूकेका कुनै पनि व्यक्ति वा संस्थालाई उनीहरूसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न दिने छैनौँ।”
उनले यी कदम पहिलो चरणको प्रतिबन्ध भएको उल्लेख गर्दै थप प्रतिबन्धहरू लगाउनका लागि पनि आफू तयार रहेको जनाएका छन्।

तस्बिर स्रोत, PA Media
जर्मनीले नोर्ड स्ट्रीम टू पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गरेको छ।
उक्त निर्णयलाई पुष्टि गर्दै चान्सलर ओलाफ शोल्ट्सले भने, “यो सुन्दा प्राविधिक जस्तो लाग्छ तर यो एउटा चाल्नैपर्ने प्रशासनिक कदम हो जसले गर्दा पाइपलाइनको प्रमाणीकरण हुनेछैन। अनि प्रमाणीकरणबिना नोर्ड स्ट्रीम टूले काम गर्न सक्ने छैन।”
भाइसचान्सलर तथा अर्थमन्त्री रोबेर्ट हाबेकले पछि संवाददाताहरूलाई नोर्ड स्ट्रीम टूबिना पनि जर्मनीमा ग्यासको आपूर्ति सुनिश्चित भएको बताए। उक्त पाइपलाइनका कारण रुसबाट जर्मनीमा भित्रिने ग्यासको परिमाण दोबर हुने थियो।
उनले छोटो समयका लागि ग्यासको मूल्य बढ्ने बताए।
यद्यपि युरोपेली आयोगले उक्त कदमले युरोपको ग्यास आपूर्ति प्रभावित नहुने बताएको छ।

रुसले पूर्वी युक्रेनमा आफ्नो सेना पठाउने घोषणा गरेपछि युक्रेन घटनाक्रमहरू तीव्र गतिमा विकसित भइरहेका छन्।अहिलेसम्म भएका महत्त्वपूर्ण घटना यस्ता छन्ः

तस्बिर स्रोत, EPA
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राति अबेर क्रेम्लिनबाट टेलिभिजनमार्फत् गरेको सम्बोधनमा पश्चिमा विश्वप्रति आक्रोश, पुरानो गुनासो र चुनौती व्यक्त गरे।
भाषण गर्दा पुटिन आक्रोशित, अधीर र धम्की दिने रूपमा प्रस्तुत भएका थिए। उनले २० वर्षभन्दा बढी समयदेखि विद्यमान पीडा पोख्दै जाई लागेजस्तो देखिन्थ्यो।
"तिमीहरूले हामीलाई साथी बनाउन चाहेनौ," पश्चिमलाई इङ्गित गर्दै उनले भने, "तर हामीलाई शत्रु पनि बनाउनु पर्दैनथ्यो।"
यो बेला आफूतिर सर्वाधिक ध्यान केन्द्रित भएको थाहा पाएका पुटिनले हामीले पहिला सुनेका धेरै कुरा भनेका थिए।
भाषणबाट उनले सुरक्षासम्बन्धी रुसका मुख्य मागहरू - नेटोको विस्तारमा रोक र युक्रेनको सदस्यता - बारे कुनै सम्झौता नगर्ने स्पष्ट सङ्केत दिए।
रुसका चासोलाई वर्षौँ बेवास्ता गरिएको गुनासो व्यक्त गर्दै उनले पश्चिमले पुनर्जागृत विश्वशक्तिका रूपमा रहेको रुसलाई 'नियन्त्रण गर्न' खोजेको आरोप लगाए।
युक्रेनप्रति पुटिनको ध्यान सनकजस्तो लाग्थ्यो। उनको भाषण यति विस्तृत थियो कि कुनै बेला त उनी युक्रेनको राष्ट्रपतीय निर्वाचनमा उठ्न लागेका पो हुन् कि जस्तो पनि सुनिन्थ्यो।
युक्रेन कहिल्यै एउटा राष्ट्र नभएको दाबी गर्दै उनले युक्रेनको इतिहासलाई बङ्ग्याएर प्रस्तुत गरेका थिए।
समग्रमा अहिले युक्रेन रणभूमि बनेको छ।
यद्यपि तीव्र गतिमा शक्तिपरीक्षाको सम्भावना निर्माण गर्दै यो रुस र बाँकी पश्चिमा विश्वबीच अस्थिरताको खेल पनि हो।
युक्रेनको विदेश मन्त्रालयले रुससँग कूटनीतिक सम्बन्ध भङ्ग गर्ने प्रस्तावबारे आफूले विचार गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले बताएका छन्।
मङ्गलवार पत्रकार सम्मेलनमा इस्टोनियाका समकक्षीसँगै उभिएर बोलेका जेलेन्स्कीले युरोपेली साझेदारहरूलाई मस्कोविरुद्ध प्रतिबन्ध लगाउन ढिलो नगर्न आग्रह गरे।
उनले रुससँग ठूलो आकारको द्वन्द्वको सम्भावनालाई नकारे पनि त्यसो भएको खण्डमा सैन्य कानुन बिउँताउन आफू तयार रहेको बताए।
उनले रुसलाई सजाय दिनका लागि तत्काल ‘नर्ड स्ट्रीम २’ ग्यास पाइपलाइन बन्द गरिनुपर्ने माग राखेका छन्।
रुसदेखि जर्मनीसम्मको उक्त पाइपलाइन गत सेप्टेम्बरमा पूरा भए पनि अझै सञ्चालन भएको छैन।

तस्बिर स्रोत, Getty Images
युक्रेनका रक्षामन्त्रीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत सङ्घलाई बिउँताउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
आफ्ना सैनिकहरूलाई पठाइएको सन्देशमा अलेक्सी रेज्निकोफले मस्कोको पछिल्लो कदमले सन् १९९१ मा विघटन भएको सोभियत सङ्घलाई फेरि जगाउन क्रेम्लिन लागेको देखिएको बताए।
रक्षामन्त्री रेज्निकोफले आफ्नो सन्देशमा लेखेका छन्, “त्यसलाई छुट्याउने एउटा मात्र कुरा भनेको युक्रेन र युक्रेनका सेना हुन्।”
"हाम्रो रोजाइ सामान्य छ - हाम्रो देश, हाम्रो घर र हाम्रा आफन्तको रक्षा। हाम्रो लागि केही फेरिएको छैन।"
उनले थप लेखेका छन्, “अगाडि कडा चुनौतीहरू छन्। त्यहाँ क्षति हुनेछ। तपाईँ पीडाका बीच अगाडि बढ्नुपर्नेछ, धोका र डरलाई जित्नुपर्नेछ। तर जितले हामीलाई पर्खिराखेको छ। किनकि हामी हाम्रो भूमिमा छौँ र सत्य हामीसँग छ।”
रेज्निकोफले मस्कोले ‘आपराधिक’ व्यवहार देखाएको आरोप लगाएका छन्।
यो पनि पढ्नुहोस्

तस्बिर स्रोत, Reuters
युक्रेन-रुस सङ्कटले विश्वभर आपूर्तिचक्रमा अवरोध पुर्याउने त्रासमाझ पेट्रोलियम पदार्थको मूल्य बढेको छ।
मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा कच्चन तेलको मूल्य प्रतिब्यारल सात वर्षकै उच्च विन्दू झण्डै ९८ अमेरिकी डलर पुगेको छ।
यूके र कयौँ पश्चिममा देशले रुसमाथि प्रतिबन्ध लगाइने बताएका छन्।
रुस साउदी अरबपछि कच्चा तेल निर्यात् गर्ने दोस्रो ठूलो देश हो भने प्राकृतिक ग्यासको विश्वकै शीर्ष उत्पादक हो।
रुसले कम कच्चा तेल वा ग्यास निर्यात गर्न सक्नेगरी प्रतिबन्ध लगाइनुले ‘विश्वको अर्थतन्त्रमा महत्वपूर्ण असर पर्ने’ विश्लेषण भइरहेको छ।
युक्रेनमा सङ्कट गहिरिएसँगै नेपालको परराष्ट्र मन्त्रालयले उक्त देशमा रहेका नेपाली नागरिकहरूको "विवरण लिन थालिएको र घटनालाई नजिकबाट नियालिरहेको" जनाएको छ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्, "यसको बारेमा हामी जानकार छौँ। घटनालाई हामीले नजिकबाट नियालिरहेका छौँ।"
यस्तो अवस्थामा युक्रेनमा जुनसुकै बेला ठूलो युद्ध हुनसक्ने भन्दै त्यहाँ रहेका नेपाली नागरिकहरू "त्रसित अवस्थामा बसेको" बीबीसीको सम्पर्कमा आएका युक्रेनस्थित नेपाली विद्यार्थीले बताएका छन्।

तस्बिर स्रोत, Reuters
युक्रेनमा रुसी आक्रमण सुरु भइसकेको भन्दै यूकेले रुसमाथि प्रतिबन्ध लगाउने स्वास्थ्यमन्त्री सजिद जावेदले बताएका छन्।
सरकारका विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन 'कोब्रा' बैठकपछि जावेदले स्काई न्यूजसँग भने, “तपाईँले युक्रेनमा आक्रमण सुरु भइसक्यो भन्ने निष्कर्ष निकाल्दा हुन्छ।”
उनले रुसले युक्रेनमा आफ्ना ट्याङ्क पठाएको दाबी गरेका छन्।
टेन डाउनिङ स्ट्रीटमा भएको सो बैठकमा प्रधानमन्त्री बोरिस जोनसनले वरिष्ठ सुरक्षा अधिकारीहरू, विदेशमन्त्री, रक्षामन्त्री लगायतसँग रुसी कदमको समीक्षा गरेका थिए।
बैठकअघि प्रधानमन्त्रीका प्रवक्ताले बताएअनुसार आज अबेरसम्ममा 'उल्लेख्य सङ्ख्यामा प्रतिबन्ध' घोषणा हुनसक्नेछ।
अर्का एक मन्त्रीका अनुसार जोनसनले आज संसद्मा बोल्नेछन्।
दुई दशकभन्दा बढी समयदेखि रुसको सत्तामा रहेका भ्लादिमिर पुटिन पहिला गुप्तचर थिए।
उनलाई के कारण कसैले मन पराउँछन् भने कसैले घृणा गर्छन्?
हेर्नुहोस् यो भिडिओ।
अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रुसले युक्रेनमा रुसी चरहरूले "नियन्त्रण गरेका" पृथक्तावादी क्षेत्रहरूलाई समर्थन गरेको आरोप लगाएका छन्।
उनले पूर्वी युक्रेनका विद्रोही समूहहरूतर्फ सङ्केत गरेका हुन्।
ब्लिङ्कनले तथाकथित राज्यहरूको "स्वतन्त्रता"लाई रुसले मान्यता दिनु लज्जाजनक कार्य भएको टिप्पणी गरेका छन्।
अमेरिकाले त्यसको निन्दा गरेको आफूले युक्रेनी विदेशमन्त्रीलाई बताएको कुरा उनले ट्विटरमा उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
मस्कोका “निर्णय र कदमहरू”लाई लिएर अमेरिकाले मङ्गलवार रुसमाथि थप प्रतिबन्धहरू लगाउने ह्वाइट हाउसबाट आएका विवरणमा जनाइएको छ।
“त्यस्तो घोषणाका लागि हामी साझेदारहरूसँग सहकार्य गरिरहेका छौँ,” एकजना प्रवक्ताले भने।
राष्ट्रपति बाइडनले युक्रेनको पृथक्तावादी क्षेत्रमा अमेरिकी नागरिकहरूलाई लगानी तथा व्यापार गर्न प्रतिबन्ध लगाएका थिए।
उनले उक्त क्षेत्रबाट हुने व्यापारमा पनि त्यस्तो प्रतिबन्ध लगाएका छन्।
यद्यपि उक्त क्षेत्रमा अमेरिकी नागरिकहरूको खासै कारोबार रहेको छैन।

तस्बिर स्रोत, Getty Images
युक्रेन-रुस तनाव बढ्न सक्ने चिन्तामाझ एशियाली शेअर बजारमा मङ्गलवार गिरावट देखा परेको छ।
उक्त तनावले आर्थिक पुनरुत्थानमा बाधा पुग्न सक्ने लगानीकर्ताहरूको चिन्ता देखिन्छ।
जापानको निकेई सूचक झन्डै २ प्रतिशतले खस्किएको छ भने प्रारम्भिक कारोबारमा दक्षिण कोरियाली कोश्पी सूचकमा १.४ प्रतिशतको ह्रास आएको देखिन्छ।
अहिले पूर्वी युरोपमा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढ्ने र व्यवसायहरूको आपूर्तिचक्रमा नराम्रो अवरोध देखिने जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मङ्गलवार प्रतिब्यारल ९५ अमेरिकी डलर पुगेको छ।

तस्बिर स्रोत, Reuters
संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले सुरक्षा परिषद्को बैठकमा बोल्दै रुससमर्थित पृथक्तावादीहरू भएको युक्रेनी क्षेत्रलाई ‘युक्रेनी आक्रामकता’ बाट जोगाउनुपर्ने बताएका छन्।
रुस राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य हो।
भसिली निबिन्ज्याले ‘डोन्बासमा नयाँ रक्तपात हुन दिने काम नचाहेको’ बताए।
युक्रेनले आफूले तनाव बढाएको भन्ने आरोपको खण्डन गरेको छ।
उनका अनुसार रुस कूटनीतिका लागि अझै खुला रहेको र मिन्स्क सम्झौतामा प्रतिबद्ध रहेको बताए।
युक्रेनको पूर्वी क्षेत्रमा आठ वर्ष लामो द्वन्द्व अन्त्य गर्न र छुट्टिएर बसेका क्षेत्रको हैसियत निर्धारण गर्न उक्त सम्झौता गरिएको थियो।
त्यसअघि अमेरिकी राजदूतले मस्कोले उक्त सम्झौतालाई ध्वस्त पारेको आरोप लगाएका थिए।
युक्रेनमा आक्रमण गर्नका लागि मस्कोले उक्त देशमा रहेका रुसी जातीय समूहलाई संरक्षण गर्ने बहाना बनाउन खोजिरहेको आफ्नो विश्वास रहेको अमेरिकाले बताएको छ।

तस्बिर स्रोत, Reuters
के "जनगणतन्त्र" डोनेट्स्क र लुह्यान्सकमा रुसी सेना पठाउने आदेशले “थप आक्रमण”को सङ्केत गर्छ र त्यसले पश्चिमा नेताहरूलाई थप ठूला प्रतिबन्धहरू लगाउन प्रेरित गर्छ?
यो (अझै) पनि धेरैले चिन्ता गरे जस्तो पूर्ण मात्राको आक्रमण होइन तर यसले पहिलेदेखिको खतरनाक सङ्कटको अवस्थालाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्नेछ।
आठ वर्षअघि लडाइँ सुरु भएदेखि नै रुसले ती दुई क्षेत्रमा पृथक्तावादी लडाकुहरूलाई सङ्गठित, हतियारद्वारा सुसज्जित र नियन्त्रण गरेकोमा कमैले मात्र शङ्का गर्छन्।
तर यसले क्रेम्लिनले "शान्ति स्थापनाका कार्यहरू" भन्दै ती कार्यमा रुसले आफ्नो संलग्नतालाई खुला रूपमा स्वीकार गरेको कुरालाई सङ्केत गर्छ।
युक्रेन वा बाँकी विश्वले यसलाई कसरी हेर्छ भन्ने भनिरहनु पर्ने विषय होइन।
तर के यो पश्चिमाहरूले कैयौँ सातादेखि कुरा गरिरहेको व्यापक प्याकेज र लक्षित प्रतिबन्धहरू सुरु गर्नका लागि पर्याप्त छ?
प्रतिबन्धहरू लगाउनका लागि यो एक मात्र उनीहरूको वास्तविक उपाय हो भन्ने पश्चिमा नेताहरूलाई थाहा छ।
अनि राष्ट्रपति पुटिनले अहिले उक्त उपाय प्रयोग गर्न उनीहरूलाई चुनौती दिइरहेका छन्।
अनि यो पनि
संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले सुरक्षा परिषद्को बैठकमा सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
उनले तनाव थप बढाउने कुनै पनि कार्यलाई बेवास्ता गर्न पनि सबै पक्षलाई आग्रह गरेका छन्।
चीनले कूटनीतिक समाधानका लागि सबैखाले प्रयासको स्वागत गर्ने उनले बताए।
त्यसअघि समाचारसंस्था रोएटर्सले एक वरिष्ठ अमेरिकी अधिकारीले “हामी बख्तरबन्द गाडीहरू परिचालन नभएसम्म कूटनीतिलाई निरन्तरता दिनेछौँ” भनेको जनाएको थियो।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सुरक्षाका कारण युक्रेनको लीभीभ सहरमा रहेका आफ्ना कूटनीतिज्ञहरू पोल्यान्डमा बास बस्ने बताएका छन्।
ती अधिकारीहरूलाई यसअघि नै राजधानी कियभबाट पश्चिमा सहर लीभीभ स्थानान्तरण गरिएको थियो।
ब्लिङ्कनले उनीहरू आफ्नो काम जारी राख्न र कन्सुलर सेवा उपलब्ध गराउनका लागि युक्रेनमा नियमित रूपमा फर्कने बताएका छन्।