एमालेको संसदीय दलको बैठक सकियो, खनाल-नेपाल पक्षका सांसद गएनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् भने झलनाथ खनाल-माधव नेपाल पक्ष कार्यकर्ताहरूको राष्ट्रिय भेला गर्न लागेको छ।
लाइभ कभरेज
धन्यवाद
आज नेपालमा सत्तारूढ दल नेकपाभित्रको आन्तरिक राजनीति, माधवकुमार नेपाल समूहको कार्यकर्ता भेला र प्रधानमन्त्री केपी ओलीले डाकेको संसदीय दलको बैठकसहितका घटनाक्रम चर्चामा रहे।
हामीले त्यसबारे तथा विभिन्न अन्तर्राष्ट्रिय समाचार सङ्क्षिप्त रूपमा यहाँ प्रस्तुत गर्यौँ।
यसका साथै आजका लागि हामी यो लाइभ पेज यहीँ समापन गर्दैछौँ। धन्यवाद।
माधवकुमार नेपाल समूहको निष्कर्षमा एमसीसीको प्रसङ्ग
एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट माधवकुमार नेपाल तथा झलनाथ
खनाल समूहको कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ।
प्रस्तावको ११ नम्बर बुँदामा निकै विवादित बनेको नेपाल
सरकार तथा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सम्झौता वा एमसीसीबारे पनि
उल्लेख गरिएको छ।
एमसीसीजस्ता सम्झौता नेपालको
स्वतन्त्रता, स्वाधीनता र
राष्ट्रहीत अनुकूल मात्र हुनुपर्नेबारे बुँदाले जोड दिएको छ।
साथै भेलाले देशभरि उक्त समूहको अभियान थाल्ने पनि निर्णय गरेको
समूहका एकजना नेताले बताएका छन्।
पहिलो चरणमा कोभिड खोप लगाएकालाई दोस्रो मात्रा वैशाख ७ देखि ११ मा
तस्बिर स्रोत, Reuters
पहिलो चरणमा कोभिड खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि ११ गतेसम्म दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका मानिसका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने निर्णय गरेको हो।
पहिलो चरणमा ४,२९,००० जनाले कोरोनाभाइरसविरुद्ध खोप लगाएका थिए।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमलाई उद्धृत गर्दै राससले दोस्रो चरणमा गत फागुन २३ गतेदेखि यही चैत ३
गतेसम्म खोपको पहिलो मात्रा लिएका व्यक्तिका लागि दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जनाएको छ।
दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप दिइएको थियो।
मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई कोभिड खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना प्रकाशित गरिने जनाएको छ।
एमाले संसदीय दलको बैठक सकियो, तीन वर्षपछि संसदीय बोर्ड गठन
तस्बिर स्रोत, PM's Press Secretariat
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ।
बैठकमा झलनाथ खनाल र माधवकुमार नेेपालपक्षीय सांसदहरू सहभागी भएनन्।
बैठकपछि बोल्दै सांसद शेरबहादुर तामाङले संसदीय दलको बोर्ड गठन गरिएको जानकारी दिए।
उनका अनुसार उक्त बोर्ड २४ सदस्यीय भएको र त्यसमा नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समाविष्ट गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली बोर्डको संयोजक छन्।
यसअघि एमालेले संसदीय बोर्ड गठन गरेको थिएन।
आजको बैठकले संसदीय दलको विधान संशोधनका लागि विशाल भटराईको
संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको एउटा समिति गठन गर्ने निर्णय गरेको छ। संसदीय दलको अर्को बैठक चैत्र ७ गतेका लागि बोलाइएको छ।
तस्बिर स्रोत, PM's Press Secretariat
मतदाता नामावली सङ्कलन सुरु
तस्बिर स्रोत, निर्वाचन आयोग
प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भएपछि रोकिएको मतदाता नामावली सङ्कलन आजदेखि फेरि सुरु गर्न लागिएको निर्वाचन आयोग नेपालका अधिकारीहरूले बताएका छन्।
अहिलेका लागि ७७ वटा जिल्लाका निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने अनि पछि स्थानीय तहसम्म पुगेर नामावली सङ्कलन गर्ने योजनाबारे छलफल भइरहेको आयोगका अधिकारीहरूले बताएका छन्।
तीन वर्षअघि सम्पन्न निर्वाचनपछि नेपालमा कम्तीमा आठ लाखभन्दा बढी मतदाता थपिएको आकलन गरिएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय उल्ट्याइदिएपछि मतदाता नामावली सङ्कलन फेरि सुरु गरिएको हो।
संसदीय दलको बैठकमा खनाल-नेपाल पक्षका सांसदको सहभागिता 'रोकियो', नेेकपा एमाले विवाद
तस्बिर स्रोत, RSS
तस्बिरको क्याप्शन, फाइल तस्बिर
प्रधानमन्त्री
केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी हुन झलनाथ खनाल
र माधवकुमार नेपाल पक्षले आफूपक्षीय सांसदलाई ‘अनुमति’ दिएको नेताहरूले बताए पनि आफूहरू अन्तिम समयमा सहभागी नहुने भएको जानकारी एक सांसदले दिएका छन्।
खनाल-नेपाल पक्ष
आफूले आयोजना गरेको राष्ट्रिय भेलामा व्यस्त रहेका बेला ओलीले बैठक बोलाएका हुन्।
राष्ट्रिय भेलामा सहभागी सांसद कृष्णभक्त पोखरेलले संसदीय दलको बैठकमा सहभागी हुने कुरा भए पनि "भेला प्रभावित हुन सक्ने" भन्दै बालुवाटार नजाने सहमति भएको जानकारी दिए।
उनले भने, “समय मिल्ने साथीहरू जाने कुरा भएको थियो, तर पछि भेला प्रभावित हुने भएकाले अर्को पटक गरिने बैठकमा जान सकिन्छ भन्ने कुरा भएको छ।”
सानेपास्थित एउटा होटलमा आयोजित उक्त
भेलामा सहभागी एमाले सचिव गोकर्ण बिष्टले केही बेरअघि "समय मिल्ने साथीहरू संसदीय दलको बैठकमा
सहभागी हुने" कुरा भएको जानकारी बीबीसीलाई दिएका थिए।
“बैठकको सूचना आएपछि समय मिल्ने साथीहरू बैठकमा सहभागी हुने
कुरा भएको छ,” उनले भनेका थिए।
बैठक ११ बजे सुरु हुने बताइएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक केही बेरमा सुरु हुनेछ।
महिला कलाकारलाई अपमानजनक शब्द प्रयोग गरेपछि राजीनामा, टोक्यो ओलिम्पिक्स
तस्बिर स्रोत, Getty Images
एक महिला हास्यकलाकारलाई अपमानजनक शब्द प्रयोग गर्ने टोक्यो ओलिम्पिक्सका एक वरिष्ठ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
जापानमा ओलिम्पिक्स खेल आयोजक समितिका लागि सिर्जनशील विभागका प्रमुख रहेका हिरोशी सासाकीले प्लस-साइज शरीर भएकी कलाकार नाओमी वातानावेलाई ओलिम्पिक्सको शुभारम्भका लागि आयोजना गरिने समारोहमा सुँगुरको कानजस्तो परिधान लगाएर पठाउनुपर्ने सुझाव दिएका थिए।
सासाकीले वातानावेलाई "ओलिम्पिग" भनेका थिए।
पछि उनले त्यसबाट ती कलाकारको "ठूलो अपमान" भएको भन्दै क्षमायाचना गरेका थिए।
यसअघि महिलाहरूबारे अनुपयुक्त टिप्पणी गरेपछि टोक्यो ओलिम्पिक्स आयोजक समितिका प्रमुख योशिरो मोरी पदत्याग गर्न बाध्य भएका थिए।
सन्दिग्ध व्यक्तिविरुद्ध मुद्दा, एशियाली समुदाय आक्रोशित, एट्लान्टा आक्रमण
ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला पनि थिए।
अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ। उक्त आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन।
सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र साङ्घातिक आक्रमणको अभियोग लगाइएको छ। प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ।
स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू 'यौन दुर्व्यसन' मा परेको दाबी गरेका छन्।
उनीबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो।
पक्राउ पर्दा उनले प्रतिरोध गरेका थिएनन्।
कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ। तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत देखिएको छैन।
आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ।
तस्बिर स्रोत, Reuters
स्वागतम्
शुभप्रभात। नमस्कार।
बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।
यो पेजमा हामी आज बिहीवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ।
अहिलेसम्मका मुख्य समाचार
- कोरोनाभाइरस सङ्क्रमणको हल्लापछि तान्जनियाका राष्ट्रपतिको ६१ वर्षको उमेरमा निधन भएको देशका उपराष्ट्रपतिले घोषणा गरेका छन्।
- उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले प्योङ्याङ्गसँग सम्पर्क स्थापित गर्न खोजिरहेको बाइडन प्रशासनको आलोचना गरेका छन्। विदेश मामिलासम्बन्धी उपमन्त्री चोय सोन हुईले वाशिङ्टनको प्रयासलाई "समय लम्ब्याउनका लागि चालिएको सस्तो उपाय" को सङ्ज्ञा दिएकी छन्।
- रुसले अमेरिकासँगको आफ्नो सम्बन्धमा 'सुधार्न नसकिने क्षति' पुग्न लागेको भन्दै परामर्शका लागि वाशिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। मस्कोले द्विपक्षीय सम्बन्धलाई पछिल्ला वर्षमा अमेरिकाले अन्धकारमय बनाएको आरोप लगाएको छ।
- अक्सफर्ड-आस्ट्राजेनेकाको कोभिड खोपको उपलब्धतालाई लिएर युरोपेली सङ्घ ईयू र ब्रिटेनबीचको विवाद चर्किएको छ। आगामी तीन महिनाका लागि ईयूले सुरुमा वाचा गरिएभन्दा आधाभन्दा कम मात्रामा उक्त खोप पाउनेछ। युरोपेली आयोगकी प्रमुखले आफूहरूले पर्याप्त मात्रामा खोप नपाएमा ईयूबाहिर खोप आपूर्ति समेत रोकिने चेतावनी दिएकी छन्। ब्रिटेनले भने एउटा पनि खोप नरोकिएको बरु आफूले पनि अभाव झेलिरहेको जनाएको छ।