एमाले विवादको भुमरीमा कर्णाली प्रदेश सरकार, नेता नेपालले लगाए ओलीमाथि दोषैदोष

खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला डाकेकै दिन, ओली समूहले कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता गरेको छ।

लाइभ कभरेज

  1. चालीस वर्षदेखि भारतीय जेलमा रहेका दीपक जैसी तिम्सिना रिहा

    कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ।

    विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए।

    बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए।

    उनले भने, “बिहान आउने सोमवारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो। तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो।”

    रोहबरमा रिहा

    नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ।

    आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ।

    महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि उनका काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ।

    दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन्।

    दीपकलाई सोही कारागारमा उनका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए।

    उनका भाइ प्रकाशचन्द्रले फागुन १० गते उनलाई कारागार पुगेर भेट्दा 'सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो' अवस्थामा आफ्नो दाजु देखेको बताए। उनको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताएका थिए।

    दीपकको मुद्दाको पेशी ४० वर्षसम्म अदालतमा चढेको थिएन।

  2. भारतमा बढ्दो सङ्क्रमण: परीक्षण र सम्पर्क पहिचान चुस्त बनाउन मोदीको आह्वान

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड महामारीको दोस्रो लहरलाई छल्न कोरोनाभाइरसको परीक्षण तथा सङ्क्रमितहरूको सम्पर्क पहिचान कार्यलाई चुस्त बनाउन राज्यका अधिकारीहरूलाई आह्वान गरेका छन्।

    मुख्यमन्त्रीहरूसँगको बैठकलाई सम्बोधन गर्दै सङ्क्रमणको सङ्ख्या बढ्दै गएकाले देशभरि महामारी फेरि फैलनबाट रोक्न उनीहरूले द्रुत तथा निर्णायक कदमहरू चाल्नुपर्ने प्रधानमन्त्री मोदीले बताए।

    भारतमा डिसेम्बर महिनायताकै सर्वाधिक हुने गरी दैनिक सङ्क्रमण २८ हजार नाघेको बेला उक्त भर्चुअल बैठक डाकिएको थियो।

    भारतमा पहिलो चरणमा ३० करोड मानिसलाई खोप लगाउने गरी व्यापक खोप अभियान थालिएको छ।

    हालसम्म तीन करोडभन्दा धेरै मानिसले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन्।

    भारत

    तस्बिर स्रोत, Getty Images

  3. एक मात्राले पुग्ने जोन्सन एन्ड जोन्सनको खोपलाई डब्लुएचओको मान्यता

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको खोपलाई विभिन्न प्रकारका कोरोनाभाइरसबाट ग्रस्त समेत गरी सबै देशमा प्रयोगको अनुमति दिएको छ।

    कोभिडविरुद्ध एकै मात्रा लगाए पुग्ने यो पहिलो अनुमतिप्राप्त खोप हो।

    यो खोप कम विकसित देशहरूमा वितरणका निम्ति थप सहज हुने बताइएको छ।

    डब्लुएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले सबै देशका सबै मानिसको पहुँचमा नपुगेसम्म नयाँ खोपले दिलाएको आशाले मूर्त रूप लिन नसक्ने बताएका छन्।

    मङ्गलवार उक्त खोपलाई युरोपेली औषधि नियामक निकायले पनि स्वीकृति दिएको थियो।

    खोप

    तस्बिर स्रोत, Getty Images

  4. ८ लाखभन्दा धेरै मतदाता थपिए

    अघिल्लो चुनावको बेलाभन्दा अहिले ८ लाखभन्दा धेरै मतदाता थपिएको देखिएको छ।

    निर्वाचन आयोगले बुधवार जारी गरेको विज्ञप्तिमा पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका गरि १ करोड ६२ लाख ४३ हजार मतदाता रहेको जनाइएको छ।

    यसअघि २०७४ सालको चुनावमा कुल योग्य मतदाताको सङ्ख्या १ करोड ५४ लाख २७ हजार रहेको थियो।

    सबैभन्दा धेरै मतदाता रहेका जिल्लाहरूमा मोरङ्ग, काठमाण्डू, झापा, रुपन्देही,सुनसरी लगायत छन्।

    साथै मतदान स्थलको सङ्ख्या साढे १० हजार जति कायम गरिएको आयोगले जनाएको छ।

    निर्वाचन
  5. चर्को तिक्तता तर एमालेभित्र खनाल-नेपाल समूहका सांसदलाई हटाउन ‘अड्चन’

    एक अर्को समूहबीच चर्काचर्की, आरोपप्रत्यारोप अनि गालीगलौज भइरहेका बेला सत्ताधारी एमालेभित्र अध्यक्ष ओलीको समूहले खनाल-नेपाल समूहका सांसदलाई कारबाही गर्न सक्ने नसक्नेबारे अड्कलबाजी भइरहेका छन्।

    खनाल-नेपाल समूहले बुधवारदेखि ललितपुरको सानेपामा डाकेको कार्यकर्ता भेला र त्यसप्रति ओली समूहले जनाइरहेको आक्रोशपूर्ण प्रतिक्रियामाझ त्यस्ता अड्कलबाजी झनै चुलिएका छन्।

    तर कारबाहीका विकल्प र त्यो बाटोमा अझै अड्चनहरू रहेको बताइन्छ। पढ्नुहोस् एक रिपोर्ट

  6. 'सबै वितण्डाको जिम्मेवार ओली नै', माधवकुमार नेपालले लगाए ७ दोष

    आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पार्टीको सङ्कटका निम्ति 'एक्लो जिम्मेवार व्यक्ति' भएको बताएका छन्।

    “अहिलेको अवस्थाका निम्ति अरू कोही होइन केपी शर्मा ओली नै जिम्मेवार हो। सबै वितण्डाको जिम्मेवार ओली नै हुन्,” नेपालले भने।

    अध्यक्षको तर्फबाट कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरिए पनि आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमाथि निम्न ७ वटा दोष लगाएका थिए।

    • छलफल नगर्ने: बैठक राख्न अनुनय विनय गर्नुपर्ने। बल्ल बल्ल बैठक बस्यो भने छलफलै नहुने। अध्यक्षको एकोहोरो प्रवचन सुन्नुपर्ने।
    • तानाशाही प्रवृत्ति: म नै पार्टी हुँ भन्ने भावना। अहंकार,गुटगत भावना, भजनमण्डलीको चाहना, अनि आलोचनाप्रति असहिष्णु।
    • जबज सिध्याउन जिम्मेवार: नेकपा एमालेको जनताको बहुदलीय जनवाद (जबज) बारे कहीँ अडान नलिने। खुसुक्क त्यसलाई हटाउने। मदन भण्डारीको विरासत थामेको नक्कली कुरा गर्ने।
    • विधि पद्धतिको उल्लङ्घन: सहमतिको सधैँ रटान गर्ने तर स्वेच्छाचारितामा रमाउने। विधिविधानको बेवास्ता गर्ने।
    • व्यक्तिवादी चरित्र: पार्टीको लोकप्रियतालाई आफ्नो एकल लोकप्रियता ठान्ने।
    • लडाउने भिडाउने काम: नेताहरूलाई लडाउने र भिडाउने काम गर्ने। कुर्सी बचाउन संविधानको अपव्याख्या गर्ने।
    • सहमति तोड्ने सिलसिला: सहमति गर्ने तर पालना नगर्ने। आधा आधा कार्यकालको नेतृत्व गर्ने भनेर प्रचण्डसँग आफैँ सहमति गर्ने अनि फेरि आफैँ उल्लङ्घन गर्ने।

    ललितपुरको सानेपामा गरिएको उक्त भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीका विरुद्ध आफूहरूसँग एक भारी तथ्य र एक भारी प्रमाण रहेको बताएका थिए।सो भेला बुधवार र बिहीवार हुने बताइएको छ।

    यसअघि अध्यक्ष ओलीको समूहले भने उक्त भेला नगर्न सबै नेताकार्यकर्तालाई सचेत गराएको थियो।

    महासचिव ईश्वर पोखरेलले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै ‘अनुशासनहीन गुटगत भेला’मा सहभागी नहुन सबै नेता कार्यकर्तालाई निर्देशित गरेका थिए।

    “अन्यथा संविधान, पार्टी र संसदीय दलको विधान तथा नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,”विज्ञप्तिमा उल्लेख थियो।

    माधवकुमार नेपाल
  7. कर्णालीमा एमालेद्वारा समर्थन फिर्ता, तर नेपाल समूहका नेता भन्छन् समर्थन कायमै छ

    नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।

    सो दलको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले बताए।

    १० जना सांसदको उपस्थितिमा बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने, दलको बैठकमा अनुपस्थित हुने सांसदलाई लिखित स्पष्टीकरण सोध्ने र एमालेका तर्फबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल फिर्ता बोलाउनेनिर्णय गरेको नेता कँडेलले बीबीसीलाई जानकारी दिए।

    प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला;उद्योग, पर्यटन, वन तथा वातावणमन्त्री नन्दसिंह बुढा र सामाजिक विकासमन्त्री दल रावल छन्।

    दलको बैठकमा माधवकुमार नेपाल समूहका ९ जना सांसद भने अनुपस्थित रहेको बताइएको छ।दलको बैठकले गरेको निर्णय संसद सचिवालयलाई बुझाइएको छ।

    बैठकको निर्णयको खबर सार्वजनिक भएपश्चात् सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मन्त्री प्रकाश ज्वालाले सो बैठक गुटगत भेला भएको र त्यसको निर्णय आधिकारिक नहुने धारणा व्यक्त गरेका छन्।

    “कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले)प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौँ,” ज्वालाले लेखेका छन्।

    प्रदेश सरकारकी प्रवक्ता विमला केसीले चाहिँ सरकार अहिले पनि बहुमतमा रहेको भन्दै अल्पमतले गरेको निर्णयको कुनै तुक नभएको बताइन्।

    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी केसी भन्छिन, “यो गुटको बैठक हो, उहाँहरू अहिले अल्पमतमा हुनुहुन्छ। बहुमतमा आउनु भयो भने बेग्लै कुरा हो। तर अहिले आवश्यक परे बहुमत सिद्ध गर्न सरकार तयार छ।”

    कर्णाली प्रदेशसभामा ४० जना सदस्य छन्। तीमध्ये एमालेका २० जना सांसद छन्।

    सभामुखसहित ११ जना प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् भने बाँकी नेपाल समूहका भनेर चिनिन्छन्।

    ओली समूहले दुईजना मन्त्रीसहित केही सांसदहरू आफ्नो समूहको सम्पर्कमा रहेको दाबी गरिरहेको छ।

    विगतमा सत्ताधारी नेकपाभित्र विग्रहले गम्भीर रूप नलिएको बेलामा नै कर्णाली प्रदेशमा कँडेल समूहले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

    उक्त प्रस्तावपछि नेकपाभित्र प्रचण्ड र ओलीपक्षबीच दूरी बढेको थियो।

    अहिले अदालतको निर्णयपछि एमाले नै कायम भएपछि पुन: कर्णाली प्रदेशमा मुख्यमन्त्री हटाउने गतिविधि भएको देखिएको छ।

    एमाले नेता कँडेल
  8. कोभिड महामारीमा स्वास्थ्य सेवा नपाएर दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु

    बालबालिका

    तस्बिर स्रोत, Getty Images

    कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ।

    सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ।

    प्रतिवेदनले यी छ देशमा थप २२८,००० पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ।

    प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ।

    दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ।

    डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड-१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गरिएको छ।

    नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको बताएको छ।

    प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ।

  9. इन्स्टाग्राममा किशोरकिशोरीलाई सन्देश पठाउन नियन्त्रण

    इन्स्टाग्राम

    तस्बिर स्रोत, Getty Images / Instagram

    सामाजिक सञ्जाल इन्स्टाग्रामले किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिबाट अनावश्यक सन्देशबाट बचाउन नयाँ सुरक्षा तह थपेको छ।

    अब १९ वर्षसम्मका किशोरकिशोरीलाई बढी उमेरका व्यक्तिले सन्देश पठाउन ती किशोरकिशोरीले फलो गरेको हुनुपर्छ।

    र सन्देशसँगै इन्स्टाग्रामले किशोरकिशोरीलाई आफूलाई असहज हुने कुरा भए उत्तर नदिए हुने सूचना पनि देखाउने छ।

    इन्स्टाग्रामको प्रयोगकर्ता बन्न कम्तीमा १३ वर्षको हुनुपर्छ।

  10. कोभिड खोप लिन ट्रम्पको आग्रह

    ट्रम्प

    तस्बिर स्रोत, Getty Images

    अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोभिड खोप लिन आग्रह गरेका छन्।

    एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले खोप सुरक्षित र काम गर्ने रहेको बताएका छन्।

    ट्रम्पको समर्थक समूह कोभिड खोप नलगाउने ठूलो समूहमा पर्छ।

    आफ्नो राष्ट्रपतीय कार्यकालमा कोभिड महामारीलाई बेवास्ता गरेको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ।

    अमेरिकामा खोप कार्यक्रम सुरु भएपछि अरू सबै पूर्वराष्ट्रपतिले खोप लिन आग्रह गर्दै बोलेका थिए तर ट्रम्प यसअघि चुप थिए।

    ज्यानुअरीमै ट्रम्प र उनकी श्रीमती मेलाइनालाई ह्वाइट हाउसभित्रै खोप दिइएको थियो।

    “यो सिफारिस गर्छु,” फक्स न्यूजलाई मङ्गलवार दिएको अन्तर्वार्तामा ट्रम्पले भने।

    “यो राम्रो खोप छ, यो सुरक्षित खोप छ र यो काम गर्ने खालको छ।”

  11. नाइजरको हमलामा कम्तीमा ५८ जनाको मृत्यु

    नाइजरको सरकारले मालीसँगको सीमा नजिकै भएका दुई वटा हमलामा परेर कम्तीमा ५८ जना मानिसहरू मारिएको बताएको छ।

    अधिकारीहरूका अनुसार सोमवार बन्धुकधारीहरूले बजारबाट घर फर्किरहेका ती मानिसहरू सवार गाडीलाई निशानामा पारेका थिए।

    एउटा गाडीमा आगो लगाइएको छ। नाइजर सरकारले त्यहाँ तिन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

    उक्त हमला कसले गराएको भन्ने अझै स्पष्ट छैन। तर उक्त क्षेत्रमा विगतमा समेत थुप्रै पटक इस्लामिक स्टेट र अलकायदासँग सम्बन्ध रहेका समूहहरूबाट हमला भएका थिए।

    ज्यानुअरीमा मात्र त्यस क्षेत्रमा एक सयभन्दा धेरै गाउँलेहरू मारिएका थिए।

  12. ५५ वर्षमाथि व्यक्तिलाई खोप स्थगित

    खोप

    तस्बिर स्रोत, Reuters

    खोपको उपलब्धता सुनिश्चित भएपछि मात्रै ५५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइने सरकारले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतबाट खरिद सम्झौता गरिएको खोप उपलब्ध भएपछि मात्रै दोस्रो प्राथमिकताको दोस्रो चरणमा रहेका व्यक्तिहरूलाई खोप दिइने बताए।

    ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराउने समयसीमा मङ्लवार सकिएको छ।

    उक्त समयसीमा सकिएपछि अर्को दश दिन ५५ वर्षदेखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई खोप दिने बताइएको थियो।

  13. शुभ प्रभात। नमस्कार।

    नमस्ते। बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।

    यो पेजमा हामी आज बुधवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू अपडेट गर्नेछौँ।