मेगन मार्कलः 'मेरो बाँच्ने इच्छा नै मरिसकेको थियो'

डचिस अफ ससिक्स मेगन मार्कलले एउटा अन्तर्वार्तामा ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन्।

लाइभ कभरेज

  1. इङ्ग्ल्यान्डमा विद्यालयहरू खुले

    विद्यार्थी

    तस्बिर स्रोत, Reuters

    इङ्ग्ल्यान्डका लाखौँ विद्यार्थी दुई महिनाभन्दा लामो लकडाउनपछि सोमवारदेखि विद्यालय जान थालेका छन्।

    यो साता त्यहाँका धेरै माध्यमिक विद्यालयहरू बिस्तारै खुल्दै जाने बताइएको छ। विद्यार्थीहरूले कोभिड परीक्षण गर्नुपर्ने र कक्षामा मास्क लगाउनुपर्ने नियम बनाइएको छ।

    अधिकांश प्राथमिक विद्यालयहरू पनि खुलेका छन्।

    प्रधानमन्त्री बोरिस जोनसनले यसलाई ‘सामान्य भएको सोच’तर्फ जान महत्त्वपूर्ण कदम बताएका छन्।

    कोरोनाभाइरसको महामारी सुरु भएयता इङ्ग्ल्यान्डमा यसरी विद्यालय खोलिएको यो चौथो पटक हो।

    शिक्षामन्त्री गेभिन विलियम्सनका अनुसार छुटेका पाठ पूरा गर्न सरकारले विद्यालय समय लम्ब्याउने र बिदा कम गर्ने जस्ता अन्य उपायबारे विचार गरिरहेको बताएका छन्।

    माध्यमिक विद्यालयहरूमा नियमित कोभिड परीक्षण गरिने र विद्यार्थीहरूले तीन पटक परीक्षण गरेपछि घरमै परीक्षण गर्ने व्यवस्था गरिने बताइएको छ।

  2. अर्बपति मकेन्जी स्कटको विज्ञान शिक्षकसँग विवाह

    डान जेवेट र म्याककेन्जी स्कट

    तस्बिर स्रोत, GIVING PLEDGE

    एमजनका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेको दुई वर्षपछि अर्बपति मकेन्जी स्कटले आफ्नो छोराछोरीको विज्ञान शिक्षकसँग विवाह गरेकी छन्।

    संसारकी धनी महिलामध्ये एक स्कटले हालसम्म ४० लाख अमेरिकी डलरभन्दा बढी परोपकारी कार्यमा खर्च गरिसकेकी छन्।

    उनले ड्यान जेवेटसँग विवाह गरेकी हुन्।

    “ड्यान गजबका व्यक्ति हुन् र म उनीहरू दुवै जनाका लागि खुसी छु,” बेजोसले एउटा विज्ञप्तिमा भनेका छन्।

    फोर्ब्स पत्रिकाका अनुसार स्कटसँग करिब पाँच करोड ३० लाख अमेरिकी डलर सम्पत्ति छ। उनले आफ्नो धेरै सम्पत्ति परोपकारी कार्यमा खर्च गर्ने बताएकी छन्।

    बेजोस र स्कट २५ वर्ष वैवाहिक सम्बन्धमा थिए।

    उनले दुई उपन्यास प्रकाशित गरेकी छन्। उनका चार सन्तान छन्।

  3. मेगन मार्कलः 'मेरो बाँच्ने इच्छा नै मरिसकेको थियो'

    मेगन

    तस्बिर स्रोत, Reuters

    डचिस अफ ससिक्स मेगन मार्कलले ब्रिटिश राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन्।

    व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रीसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि नपाएको बताइन्।

    उनले राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमीठो अनुभव भएको बताइन्।

    राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चार्ल्सले आफ्नो फोन नै उठाउन छोडेको बताए।

    बहुप्रतीक्षित सो अन्तर्वार्ता आइतवार राति अमेरिकामा प्रसारण भएको थियो।

    सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा बोलेका छन्।

    उनीहरूले मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेका छन्।

    सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।

    गत महिनामात्रै उनीहरू राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरिएको थियो।

    अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन्। मेगनले सन् २०१८ को विवाहपछि अवस्था बिग्रिन सुरु भएको बताएकी छन्।

    “मैले यो बुझेँ कि उनीहरू मलाई बचाउ नगर्ने मात्रै होइन, उनीहरू परिवारका अन्य सदस्यलाई बचाउ गर्न झुटो बोल्न पनि तयार थिए।”

    “तर उनीहरू मलाई र मेरो पतिलाई बचाउन सत्य बोल्न पनि तयार थिएनन्।”

    ओप्राले आत्महत्याको सोच आएको थियो कि भनेर सोधेको प्रश्नमा मेगनले भनिन्: “थियो। यो एकदमै स्पष्ट थियो। एकदमै स्पष्ट र एकदमै डरलाग्दो। कोसँग कुरा गरौँ भन्ने मलाई थाहा थिएन।”

    अन्तर्वार्ता

    तस्बिर स्रोत, CBS

    पहिलो आधा अन्तर्वार्ता एक्लै दिएकी मेगनलाई त्यसपछि ह्यारीले साथ दिएका थिए। ह्यारीले आफ्नो परिवारको अन्य सदस्यहरूसँगको सम्बन्धको बारेमा कुरा गरेका थिए।

    उनले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र उनीहरू नियमित कुराकानी गर्ने बताए।

    तर उनको बुवा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको उनले बताए।

    राजकुमार विलियमको सम्बन्धमा उनले आफू दुई फरक बाटोमा हिँडेको बताए। आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छोडेको पनि उनले बताए।

    ह्यारी

    तस्बिर स्रोत, Reuters

  4. इक्वटोरीअल गिनीमा शृङ्खलाबद्ध विस्फोट, कम्तीमा १५ जनाको मृत्यु र सयौँ घाइते

    भिडिओ क्याप्शन सुरु हुँदैछ, विस्फोट

    पश्चिम अफ्रिकी देश इक्वटोरीअल गिनीमा भएका शृङ्खलाबद्ध विस्फोटनहरूमा परी कम्तीमा १५ जनाको ज्यान गएको र सयौँ घाइते भएका छन्।

    विस्फोटक पदार्थ डाइनामाइटको भण्डारणमा भएको लापरबाहीका कारण उक्त घटना भएको बताइएको छ।

    देशको मुख्य सहर बाटामा रहेको सैनिक ब्यारेक नजिकै भएका विस्फोटनहरू त्यहाँ डाइनामाइट भण्डारणमा भएको लापरबाहीले भएको इक्वटोरीअल गिनीका राष्ट्रपति टियोडोर ओबियाङ्ग एनग्वेमाले जनाएका छन्।

    सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा धुवाँको बाक्लो मुस्लो अनि व्यापक क्षतिका दृश्यहरू देखिन्छ। टेलिभिजनमा त्रसित मानिसहरू धुवाँको मुस्लोका माझ लरखराउँदै सुरक्षित स्थलतर्फ हिँडेका देखिन्छ।

    कतिपयले भग्नावशेषमा फसेकाहरूको उद्धारका निम्ति खोज गरिरहेको देखिन्छ।

    लगातार ट्वीट गर्दै स्वास्थ्य मन्त्रालयले स्वयंसेवकहरूलाई बाटा क्षेत्रीय अस्पतालमा सहयोगका निम्ति पुग्न आह्वान गरेको छ। उसले रक्तदानको निम्ति पनि आह्वान गरेको छ।

    उसले गम्भीर तथा अति गम्भीर घाइतेहरूलाई तीन वटा अस्पतालमा उपचार भइरहेको जनाएको छ। ती अस्पतालमा अत्यधिक चाप परेको बताइएको छ।

    फ्रान्सका राजदूतले ट्वीट गर्दै उक्त विस्फोटनलाई भयानक घटनाभन्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्।

    स्पेनी राजदूतावासले आफ्ना नागरिकलाई घरभित्रै बस्न भनेको छ। सन् १९६८ सम्म उक्त देश स्पेनको उपनिवेश थियो।

  5. नमस्कार। लाइभ पेजमा स्वागत छ।

    नमस्ते।

    बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।

    यो पेजमा हामी आज सोमवार फागुन २४ गते दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू अपडेट गर्नेछौँ।