सभामुख, पूर्वप्रधानमन्त्री र सांसद्हरूले लगाए कोरोनाभाइरसको खोप

सभामुख अग्नीप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, लगायत थुप्रै सांसद्हरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।

लाइभ कभरेज

  1. दल विवाद यथाशीघ्र निरूपण गर्न पाँच पूर्व प्रमुख आयुक्तको आग्रह, ढिलाइले निर्वाचन आयोगको साखमा असर पर्नसक्ने चिन्ता

    नेपालका पाँचजना पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचन आयोगले राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनी उठेका प्रश्नहरूले आफूहरूलाई गम्भीर बनाएको जनाएका छन्।

    बुधवार एउटा संयुक्त वक्तव्य जारी गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।

    उनीहरूले आयोग अनिर्णयको बन्दी बन्दा मुलुकको राजनीतिक प्रक्रिया र आयोगको साखमा पर्नसक्ने असरलाई विचार गर्न आग्रह गरेका छन्।

    बीबीसीसँग कुरा गर्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले भने, "निर्वाचन आयोगले आफ्नो मैदानमा आएको भकुण्डोलाई चाँडोभन्दा चाँडो दलहरूतर्फै फर्काइदिनुपर्छ। तर त्यो नगरेको देखिएकाले हामीले संयुक्त वक्तव्य जारी गरेका हौँ।"

    बुधवारमात्रै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधवकुमार नेपाल समूहले आफ्नो दलको आधिकारिकता विवादबारे तत्काल निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएको थियो।

    निर्वाचन आयोग

    तस्बिर स्रोत, EPA

  2. सुवास नेम्वाङ लगायतका नेतालाई प्रचण्ड-माधव नेपाल समूहद्वारा 'कारबाही'

    सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद चर्कँदै गर्दा प्रचण्ड-माधवकुमार नेपाल समूहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहितका नेताहरूलाई 'पार्टी विरोधी गतिविधिमा सलग्न भएको' भन्दै 'अनुशासनको कारबाही' गरिएको बताएको छ।

    काठमाण्डूको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयबारे बताउँदै समूहका एक नेता भीम रावलले भने, "कारबाही गरिएका नेताहरूमध्ये संसदीय दलका उपनेता नेम्वाङलाई ६ महिनाका लागि स्थायी कमिटीको सदस्यबाट निलम्बन गरिएको छ।"

    त्यसबाहेक पूर्वमन्त्री महेश बस्नेत, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्री प्रभु साह र नेता कर्णबहादुर थापालाई केन्द्रीय कमिटीको सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको पनि जनाइएको छ।

    यसअघि उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको बताएको थियो।

    नेकपाको प्रधानमन्त्री ओली समूहकी एक नेत्री शान्ता चौधरीले अर्को पक्षको कारबाहीको कुनै औचित्य नरहेको बताएकी छन्। उनले भनिन्, "मूलधारको पार्टीले कारबाही गरेको होइन।

    "अब सडक सडकबाट चौतारा चौताराबाट एउटा कुनै समूहले कारबाही गरेको कुरालाई हामी चिन्दैनौँ। हामीलाई थाहा छैन।"

  3. प्रचण्ड-माधव नेपाल समूह: संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव पेश, स्थायी कमिटीपछि केन्द्रीय समितिमा प्रस्ताव पेश

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा संसदीय दलको नेता परिवर्तन गर्ने एजेण्डा प्रस्ताव गरिएको एक जना नेताले बताएका छन्।

    केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उक्त समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो।

    यो प्रस्तावमा आजै निर्णय हुनसक्ने बताइएको छ।

    प्रचण्ड नेपाल समूह

    तस्बिर स्रोत, Prachanda Facebook

    तस्बिरको क्याप्शन, (फाइल फोटो)
  4. नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको दलबीच वार्ता, वार्ता 'सकारात्मक': राजन भट्टराई

    नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो चरणको वार्ता भएको छ।

    वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माको नेतृत्वमा गठित वार्ता टोलीका सदस्यहरू सहभागी थिए।

    सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले जनाए अनुसार बुधवार बिहान सम्पन्न वार्ता “सकारात्मक दिशातर्फ उन्मुख भएको” सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जनाएका छन्।

    मङ्गलवार सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माको नेतृत्वमा वार्ता टोली गठन भएको दुवै तर्फबाट जानकारी गराइएको थियो।

    वार्ता टोली

    तस्बिर स्रोत, RSS

  5. सभामुख, पूर्वप्रधानमन्त्री र सांसद्हरूले लगाए कोरोनाभाइरसको खोप, कोरोनाभाइरसको खोप लगाउने पहिलो चरणको अभियान अन्तर्गत आज पूर्वप्रधानमन्त्रीहरूसहित सभामुख र सांसद्हरूले खोप लगाएका छन्।

    संघीय संसद् सचिवालयको पहलमा आज सभामुख अग्नीप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, लगायत थुप्रै सांसद्हरुले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।

    खोप लगाएपछि पत्रकारहरूसँग कुरा गर्दै सुभामुख सापकोटाले भने, “मानव सभ्यतामाथि नै चुनौतीका रुपमा खडा भएको जुन महामारी थियो। आज खोप लगाइसकेपछि त्यसमाथि पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ।”

    काठमाण्डूको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा जारी पछिल्लो खोप कार्यक्रम तीनदिनसम्म सञ्चालन हुने बताइएको छ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयले दुवै सदनका ३३४ सांसद, संसद् सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकार लगायत करिब १५०० जनालाई खोप लगाउन व्यवस्था मिलाइएको छ।

    पूर्व प्रधानमन्त्री प्रचण्ड

    तस्बिर स्रोत, RSS

  6. अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार, महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरद्वारा बलात्कार आरोप अस्वीकार

    अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्।

    प्रधानमन्त्री स्कट मोरिसनलाई गत हप्ता पठाइएको एक पत्रमा उनले एक १६ वर्षीय किशोरीलाई सन् १९८८ मा बलात्कार गरेको आरोप लगाइएको थियो।

    ती महिलाले गत वर्ष आत्महत्या गरेकी थिइन्।

    न्यू साउथ वेल्स प्रहरीले यसबारेको अनुसन्धान पूरा गरेको जनाएको छ।

    प्रधानमन्त्री मोरिसनले यसअघि पोर्टरलाई पदबाट बर्खास्त गरिनुपर्ने माग अस्वीकार गरेका थिए।

    ५० वर्षीय पोर्टरले बुधवार भनेका थिए, “दावी गरिएको त्यो घटना भएको थिएन।”

    अस्ट्रेलियाका महान्यायाधिवक्ता

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरलाई सन् १९८८ मा एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ
  7. प्रचण्ड-नेपाल समूहको एकपछि अर्को बैठक, प्रतिनिधिसभा बैठक बस्नु चार दिनअघि नेकपाको प्रचण्ड-नेपाल समूहले सचिवालयदेखि केन्द्रिय कमिटीसम्मको बैठक तीव्र बनाएको छ।

    प्रतिनिधिसभाको बैठक आह्वान भएपछि नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीका बैठकहरू तीव्र बनाएको छ।

    सचिवालय बैठक बसेको उक्त समूहको आजै पहिला स्थायी कमिटी र त्यसपछि केन्द्रिय कमिटीको बैठक बस्न लागेको केन्द्रिय सदस्य विष्णु रिजालले बीबीसीलाई जानकारी दिए।

    “सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बसेर विषयबारे जानकारी गराउनुहुन्छ। हामीलाई समसामयिक विषयमा छलफल गर्ने भन्ने जानकारी छ,” केन्द्रिय सदस्य रिजालले भने।

    सरकारको सिफारिसमा आउँदो फागुन २३ गतेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेपछि उक्त समूहले त्यसअघिको तयारीका लागि बैठक गर्न लागेको बताइएको छ।

    सर्वोच्च अदालतले संसद् पुनर्स्थापना हुने फैसला सुनाएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नेताहरूले बताउँदै आएका छन्।

    यसैबीच मङ्गलवार प्रचण्ड नेपाल समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई हटाउन आफ्नो प्रस्तावमा कांग्रेसको समर्थन वा कांग्रेसको प्रस्तावमा आफ्नो समर्थन हुनसक्ने बताएका थिए।

    प्रधानमन्त्री ओलीले भने आफूलाई हटाएर देखाउन चुनौती दिँदै आएका छन्।

    प्रचण्ड-नेपाल समूह

    तस्बिर स्रोत, RSS

  8. नमस्कार। लाइभ पेजमा स्वागत छ।

    आज फागुन १९ गते बुधवारका दिनभरिका समाचार र अन्य सामग्रीहरू अपडेट हुने लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो पेज दिनभरि अद्यावधिक गरिने छ।

    अहिलेसम्मका प्रमुख समाचारहरू यसप्रकार छन्:

    • अमेरिकको टेक्सस राज्यले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम आउँदो हप्तादेखि अन्त्य गर्दैछ। कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अपनाएको त्यो एउटा ठूलो अमेरिकी राज्य रहेको थियो। विज्ञहरूले कोरोनाभाइरस महामारी अन्त्य हुने दिन अझै टाढा नै रहेको चेतावनी दिइरहेका बेला अमेरिकाका अन्य राज्यहरूले पनि प्रतिबन्धहरू खुकुलो बनाउँदैछन्।
    • अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनाको अन्त्यसम्म सबै वयस्कलाई पुग्ने गरी कोरोनाभाइरसविरुद्धको खोप उत्पादन गर्न लागिएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले व्यापक रूपमा खोप उत्पादन गर्न दुईवटा औषधी कम्पनी ‘जोन्सन एन्ड जोन्सन’ र ‘मर्क’ ले सँगै काम गरून् भनेर आफ्नो प्रशासनले कानुनी प्रबन्ध गरेको जानकारी दिए।
    • बाइडन प्रशासनले रुसविरुद्ध प्रारम्भिक प्रतिबन्धहरूको घोषणा गरेको छ। मस्कोले विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या गर्न खोजेको भन्दै अमेरिकाले त्यस्तो कदम उठाएको हो। अमेरिकाले सातजना रुसी अधिकारी र एक दर्जनभन्दा अन्य संस्थालाई प्रतिबन्धको सूचीमा राखेको छ। मस्कोले त्यस्तो अमेरिकी कदमको निन्दा गर्दै जवाफ दिने बताएको छ।
    • चीनमा गरिएको एउटा उच्चस्तरीय अनुसन्धानले त्यहाँका उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या कम पार्ने देखाएको बीबीसीले पत्ता लगाएको छ। बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामिण गरिबी निर्मूल पार्ने योजना भएको बताएको छ।
    अमेरिकामा खोप लगाउँदै एक महिला

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, अमेरिकाका विभिन्न राज्यहरूले कोभिड-१९ सम्बन्धित प्रतिबन्धहरू खुकुलो बनाउँदै गर्दा स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन्।