सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ।
लाइभ कभरेज
ओलीका प्रेस सल्लाहकार: 'फैसला विवादास्पद, प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने'
प्रधानमन्त्री केपी शर्मा ओलीका एकजना सल्लाहकारले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिने सर्वोच्च अदालतको फैसला "विवादास्पद" भएको तर त्यसलाई "मान्नुपर्छ" भनेका छन्।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मङ्गलबार राति सामाजिक सञ्जालमार्फत् त्यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
"प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ। तत्काल राजीनामा दिनुहुनेछैन," उनले लेखेका छन्।
प्रचण्डलाई प्रश्न, 'अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ।
अब को प्रधानमन्त्री बन्ला र मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिबारे कस्तो निर्णय होला?
सुन्नुहोस् बीबीसी न्यूज नेपालीका शरद केसीले प्रचण्डसँग लिएको विशेष अन्तर्वार्ता।
भिडिओ क्याप्शन सुरु हुँदैछ, अब को प्रधानमन्त्री को?
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उत्सव
तस्बिर स्रोत, EPA
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि विभिन्न पक्षले राजधानीसहित देशका विभिन्न सहरमा हर्षोल्लास मनाएको विवरण प्राप्त भएको छ।
राजधानीमा प्रचण्ड-माधव नेपाल समूहको विद्यार्थी सङ्गठनले 'सर्वोच्च अदालतलाई धन्यवाद' जस्ता सन्देश लेखिएको प्लेकार्डसहित बत्ती बालेका थिए।
सभामुख भन्छन्, 'सर्वोच्च अदालतको फैसला साहसिक’
सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसलालाई "साहसिक" सङ्ज्ञा दिएका छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘सर्वोच्च अदालतको फैसला साहसिक’
प्रतिनिधिसभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतले के भन्यो?
प्रधानन्यायाधीशको नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारको निर्णयलाई 'असंवैधानिक' ठहर गरेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्नुका कैयौँ कारण अघि सारेको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए।
प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउनुपर्छः वामदेव गौतम
तस्बिर स्रोत, RSS
पार्टी एकता जोगाउन भन्दै नेकपाको कुनै पनि समूहमा नलागेका वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।
बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले भने, "प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। तर उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभएन भने अविश्वासको प्रस्ताव लैजानुपर्छ।"
"संसद् पुनर्स्थापना भएपछि पहिलो प्रधानमन्त्री प्रचण्ड हुनुपर्छ। उहाँले दुई वर्ष लगातार प्रधानमन्त्री चलाउनुपर्छ र पार्टीलाई एकताबद्ध बनाउन अहिले नै उहाँ लाग्नुपर्छ," उनले थपे।
"मेलमिलाप भयो भने केपी ओली अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री हुन्छन्।"
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि यस्तो प्रतिक्रिया
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेता तथा संविधानविद्हरूले प्रतिक्रिया दिएका छन्।
दमननाथ ढुङ्गाना, पूर्वसभामुख तथा संविधानविद्
ठूलो विघ्नबाट देश बच्यो। ठूलो अस्थिरताबाट जोगियो। नेताहरू मेलमिलापमा फर्किनुपर्छ। सर्वोच्च अदालतसँग यो फैसलाबाहेक अरू विकल्प पनि थिएन।
नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा (प्रचण्ड-माधव नेपाल समूह)
यो असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चालेको सन्दर्भमा प्रधानमन्त्रीले पहिलो कुरा तत्कालै राजीनामा दिनुपर्छ। अदालतबाट बदर भइसक्यो, त्यसकारण उहाँले राजीनामा दिनैपर्छ। नदिए पनि प्रतिनिधिसभाको बैठक प्रारम्भ भएपछि आवश्यक प्रक्रिया अघि बढ्छ।
कमल थापा, अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्न सकिन्छ। तर संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ।
यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो।
विघटनसम्बन्धी विवाद तत्कालका लागि अन्त्य भएको छ। तर प्रतिनिधिसभा पुनर्स्थापनासँगै सांसद किनबेच,अपवित्र गठबन्धन एवम् अस्थिरता र अराजकताको नयाँ शृङ्खला सुरु हुने सम्भावना बढेको छ। यो फैसलाले प्रजातान्त्रिक मूल्यमान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ।
सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनर्स्थापित
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सरकारको निर्णयलाई मङ्गलवार बदर गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बीबीसी न्यूज नेपालीलाई बताएका हुन्।
चीनले उइगरविरुद्ध ‘नरसंहार’ गरेको क्यानडाको संसद्द्वारा घोषणा
तस्बिर स्रोत, Getty Images
क्यानडाको
हाउस अफ कमन्सले चीनले अल्पसङ्ख्यक उइगर समुदायसँग गरेको दुर्व्यवहारलाई 'नरसंहार' घोषणा गर्ने प्रस्तावलाई अत्यधिक मतले पारित गरेको छ।
सबै
विपक्षी दलहरू र सत्तारूढ लिबरल पार्टीका केही सांसदले समर्थन गरेको उक्त
प्रस्तावमाथि संसद्मा भएको मतदानमा पक्षमा २६६ मत खसेको थियो भने विपक्षमा शून्य
मत परेको थियो।
प्रधानमन्त्री
जस्टिन ट्रूडो र मन्त्रिपरिषद्का अधिकांश सदस्यहरू मतदान प्रक्रियामा अनुपस्थित
रहे।
योसँगै
उइगर अल्पसङ्ख्यकहरूविरुद्ध चीनले अपनाएका लाई नरसंहारको रूपमा व्याख्या
गर्ने क्यानडा अमेरिकापछि दोस्रो मुलुक बनेको छ।
समाचारसंस्था
रोएटर्सका अनुसार चीनले क्यानडाको कदमको निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने
प्रतिक्रिया दिएको छ।
न्यूरोएन्डोक्राइन ट्यूमर भएको आशङ्कामा थप परीक्षण र उपचार गराउन भारत गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मङ्गलवार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको जानकारी उनका स्वकीय सचिव विश्वदीप पाण्डले दिएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा नेपालमा परीक्षण गराउँदा आफूलाई न्यूरोएन्डोक्राइन ट्यूमर भएको आशङ्का भएकाले भारत जान लागेको बताएपछि उक्त रोग के हो भन्ने जिज्ञासा धेरैमा उत्पन्न भएको देखिन्छ।
कोभिड खोपः कसले लिने? कसरी लिने?
नेपालमा दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी भइरहेको छ।
तर बढी उमेर भएका र कुनै रोग वा दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले निर्धक्क भएर खोप लगाउन मिल्ने हो कि होइन भन्ने विषयमा जिज्ञासा उठ्ने गरेको छ।
के भन्छन् चिकित्सक?
भारतसँगको भिडन्तमा मारिएका सैनिकबारे टिप्पणी गर्ने एक चिनियाँ ब्लगर पक्राउ
तस्बिर स्रोत, Getty Images
भारतीय सेनासँग भएको भिडन्तमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूबारे टिप्पणी गर्ने एक ब्लगर चीनमा पक्राउ परेका छन्।
गत वर्ष जुन महिनामा दुई देशको हिमाली सीमाक्षेत्रमा भएको सङ्घर्षमा दुवै पक्षका सैनिकहरूको मृत्यु भएको थियो।
तर चीनले आफ्ना चार सैनिकको मृत्यु भएको समाचार गत साता मात्र पुष्टि गरेको हो।
चिनियाँ अधिकारीहरूले ती व्यक्तिले दुराशयपूर्वक "सत्य बङ्ग्याएको" आरोप लगाएका छन्।
चीन सरकारले उनीसहित भारत-चीन द्वन्द्वबारे टिप्पणी गर्ने सात जनालाई समातेको छ।
सन् २०१८ मा पारित एउटा कानुनले चिनियाँ नागरिकलाई "नायक र शहीदहरू" को मानमर्दन गर्न प्रतिबन्ध लगाएको छ।
यो पनि पढ्नुहोस्
भारत-चीन सीमा विवाद: दुवै देशले विवादित क्षेत्रबाट सेना फिर्ता गरे
गलवानमा चार चिनियाँ सैनिक मारिएको चीनद्वारा किन ढिलो स्वीकार
तस्बिर स्रोत, GETTY IMAGES
फेसबुकले अस्ट्रेलियामा न्यूज पेज खुल्ने बनाउने
तस्बिर स्रोत, EPA
फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने घोषणा गरेको छ।
एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।
उक्त कानुनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो।
अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फेसबुकमा न्यूज पेजहरू "आगामी दिनमा" फेरि खुल्ने बताएका छन्।
उनका अनुसार त्यसका लागि कानुनमा संशोधन गरिनेछ।
ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे "न्यायोचित" संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।
विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए।
फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको मङ्गलवार जनाएको छ।
पर्सिभिअरन्स मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडिओ
उक्त भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ।
त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ।
उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ।
दुई विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा 'बढी अमेरिकीको ज्यान गयो', अमेरिकामा कोरोनाभाइरस महामारी
तस्बिर स्रोत, GETTY IMAGES
अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या
पाँच लाख नाघेको छ। अमेरिका कोरोनाभाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो।
अमेरिकाको पश्चिमी
तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण
निधन भएको हो। कोरोनाभाइरस सुरुमा
चीनमा देखा परेको थियो।
मृतकको सङ्ख्या
पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको
छ।
त्यहाँ अमेरिकी
राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए।
अमेरिकामा दुई
करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। कोरोनाभाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ।
राष्ट्रपति बाइडनले
सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा
झण्डा झुकाउन भनिएको छ।
तस्बिर स्रोत, reuters
बाइडनले ह्वाइट हाउसमा भने, "अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ। यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो।"
उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे।
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ।
अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ। त्यहाँ दुई लाख ४४ हजारको कोभिड-१९ का कारण ज्यान गइसकेको छ।
त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ।
यो पनि हेर्नुहोस्
कोरोना भाइरस नक्सा: कोभिड-१९ को महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु
नमस्कार। शुभ प्रभात।
तस्बिर स्रोत, RSS
नमस्ते। बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा तपाईँलाई स्वागत छ।
यो लाइभ पेजमा आज फागुन ११ गते मङ्गलवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।
अहिलेसम्मका केही महत्त्वपूर्ण समाचारहरू:
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले इङ्गल्यान्डको कोरोनाभाइरस लकडाउन अन्त्य गर्ने पाँच साता लामो श्रृङ्खलाबद्ध योजनाको घोषणा गरेका छन्। उनले आगामी मध्य जुनसम्ममा सबै खाले कोरोनाभाइरस प्रतिबन्धहरू हटिसक्ने अपेक्षा राखेका छन्। उनका अनुसार हरेक चरणमा विभिन्न खाले चार वटा मापदण्ड पालन गरेर मात्र यस्ता प्रतिबन्धहरू हटाइनेछ।
अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडिओ सार्वजनिक गरेको छ। उक्त भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ।
त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ। उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ।
अमेरिका र इरानले सन् २०१५ मा भएको एउटा परमाणु सम्झौताको भविष्यलाई लिएर विवाद जारी राखेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उक्त सम्झौतालाई बलियो बनाउन कोसिस गर्ने बताएका छन्। अमेरिका सो सम्झौतामा पुनः फर्कन चाहन्छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले आवश्यक परेमा तेहरानले साठी प्रतिशतसम्म युरेनियम संवर्द्धन गर्न सक्ने बताएका छन्।
युरोपियन युनियनका विदेशमन्त्रीहरूले तीन साताअघिको सैन्य कूलाई लिएर उनीहरूले म्यान्मारको सेनामाथि विभिन्न खाले प्रतिबन्धहरू लगाउन सक्ने बताएका छन्। जर्मनीका विदेशमन्त्रीले यदि कूटनीति असफल भएमा त्यस्ता प्रतिबन्ध लाग्न सक्ने बताए।