चीन सरकारले दिन लागेको कोभिड खोप अझै 'दर्ता हुने प्रक्रियामा'

यो दैनिक लाइभ पेजमा आज शुक्रवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

लाइभ कभरेज

  1. सुरुङ मार्ग

    सुरुङ मार्ग

    तस्बिर स्रोत, RSS

    बहुचर्चित नागढुङ्गा-नौबिसे सुरुङमार्गको काठमाण्डू नागढुङ्गास्थित निर्माणस्थल।

    उक्त आयोजनाको दूरी सुरुङ र सडक गरी पाँच किलोमिटर छ।

    नेपालमा गाडी गुडाउन मिल्ने यस किसिमको सुरुङमार्ग पहिलो पटक बनिरहेको बताइएको छ।

  2. नेपालमा यौनहिंसाको कहालीलाग्दो तस्बिर

    प्रहरीका अनुसार गत आर्थिक वर्षमा देशभरि बलात्कारका २,१०० भन्दा बढी घटना र घरेलु हिंसाका ११,७३८ वटा घटना दर्ता भएका थिए।

  3. म्यान्मारमा सैन्य शासनविरुद्ध प्रदर्शन जारी

    याङ्गुनमा ठूलो प्रदर्शन भएको छ

    तस्बिर स्रोत, EPA

    सैन्य शासकले राष्ट्रिय एकताका लागि आह्वान गरेको भए पनि म्यान्मारमा ठूला प्रदर्शनहरू भइरहेका छन्।

    प्रदर्शनकारीहरूले नेत्री आङ सान सू ची र अन्य नेताहरूलाई मुक्त गरिनुपर्ने मागसहित शुक्रवार पनि जुलुस निकालेका छन्।

    एउटा ठाउँमा प्रदर्शनकारीहरूमाथि रबरको गोली प्रहार गरिएको विवरण प्राप्त भएको छ।

    बिहीवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै सेनाप्रमुखले प्रदर्शनकारीहरूलाई अरूले उकासेको आरोप लगाएका थिए। उनले उनीहरूलाई देशका लागि काम गर्न आह्वान गरेका थिए।

  4. 'भ्यालेन्टाइन डे' मा उपहार

    भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रेमदिवसमा कस्तो उपहार दिने?

    'भ्यालेन्टाइन डे' अर्थात् प्रणयदिवसमा काठमाण्डूका युवायुवतीहरू आफूलाई मन पर्ने मान्छेलाई कस्तो उपहार दिने योजनामा छन् त? हेर्नुहोस् यो भिडिओ।

  5. 'उहाँहरू आउनुहुन्छ भने स्वागत छ'

    निर्वाचन आयोगले नेकपा र उसको चुनाव चिह्न नै कसैलाई नदिनेगरी 'फ्रिज' गरिदिने आशङ्का र अनुमान भइरहेकाले नेकपा एमालेको नाममा दर्ता भएको र उदाउँदो सूर्य चिह्न भएको दलतर्फ धेरैको चासो बढेको छ। के भन्छन् उक्त दलका नेताहरू?

  6. ब्रिटेनको अर्थतन्त्र गत वर्ष ‘१० प्रतिशतले सङ्कुचित’

    अर्थतन्त्र

    तस्बिर स्रोत, PA Media

    गत वर्ष ब्रिटेनको अर्थतन्त्र झन्डै १० प्रतिशतले सङ्कुचित भएको आधिकारिक आँकडाहरूले देखाएका छन्।

    ब्रिटिश अर्थतन्त्रमा यति धेरै वार्षिक सङ्कुचन भएको यो हालसम्मकै पहिलो पटक हो।

    कोरोनाभाइरस महामारीका कारण धेरै मृत्यु भएको र धेरै आर्थिक दुष्प्रभाव परेको देशहरूमध्ये ब्रिटेन अगाडि छ।

    गत वर्षको अन्त्यतिर अर्थतन्त्रमा थोरै विस्तार भएको भएपनि त्यसपश्चात् त्यहाँ पुन: लकडाउन गरिएकाले सन् २०२१ को पहिलो त्रैमासिकमा पनि ब्रिटेनको अर्थतन्त्र थप सङ्कुचित भएको हुनसक्ने ठानिएको छ।

  7. चिनियाँ खोप अझै नेपालमा दर्ता हुन बाँकी,

    चीनमा बनेको कोभिड खोप

    तस्बिर स्रोत, Reuters

    चीनले अनुदानमा दिने भनेको खोप अझै नेपालमा दर्ताकै प्रक्रियामा रहेको र दर्ता भएपछि मात्रै नेपालमा ल्याउने बाटो खुल्ने अधिकारीहरूले बताएका छन्।

    नेपालमा अहिले भारत सरकारले दिएको कोभिशील्ड खोप प्रयोग गरेर कोरोनाभइरसविरुद्ध पहिलो चरणको खोप अभियान सञ्चालन भइरहेको छ।

    चीनका अतिरिक्त कोभ्याक्स सुविधामार्फत् खरिद गर्न लागिएको खोप छिट्टै आउने र फागुन अन्तिम सातासम्म उमेर समूहमा खोप कार्यक्रम सुरु गरिने बताइएको छ।

    सरकारले माघ १४ गतेदेखि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपङ्तिमा कार्यरत व्यक्तिहरूलाई खोप दिएर पहिलो चरणको अभियान सुरु गरेको थियो। त्यसअन्तर्गत दोस्रो प्राथामिकतामा राखिएकाहरूको पनि खोप लगाउने कार्यक्रम आज सकिँदैछ।

    सरकार के भन्छ?

    सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेका बेला थप खोपको पनि जोहो गरिरहेको जनाएको छ। चीन सरकारले पाँच लाख मात्रा खोप दिने भनिएको छ।

    तर उक्त खोप हालसम्म नेपालमा दर्ता भएको छैन। चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रियामा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

    भारत र रुसमा उत्पादित दुईवटा खोप पनि नेपालमा दर्ता प्रक्रियामा रहेको बताइएको छ। हालसम्म भारतमा उत्पादन गरिएको कोभिशील्डले मात्रै नेपालमा दर्ता भएर आपत्कालीन प्रयोगको अनुमति पाएको छ।

    कोभिड खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’सुविधामार्फत र खरिद प्रक्रियामार्फत् पनि खोप आउने र उमेर समूहअनुसार खोप लगाउन सुरु गरिने प्रवक्ता गौतमले बताए।

    अब कसको पालो?

    भारतले दिएको खोप अहिलेसम्म झन्डै दुई लाख जनालाई लगाइएको र झन्डै तीन लाखलाई पुग्नेगरी खोप बचेको बताइएको छ।

    बाँकी खोप फागुन २ गतेदेखि ८ गते सम्म ७७ वटै जिल्लाका भिडभाड हुने सरकारी कार्यालय, ब्याङ्क, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि र पहिलो प्राथामिकताको खोप लगाउन छुटेकाहरूलाई दिइने बताइएको छ।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस: चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?
  8. आईपीएल २०२१ः अक्शनमा नेपालबाट सन्दीप लामिछाने

    सन् २०२० को पूरै आईपीएल प्रतियोगिता बेन्चमै बिताउन बाध्य नेपाली खेलाडी सन्दीप लामिछानेलाई यसपालि कुनै टोलीले छान्ला? छानिए पनि के उनले खेल्न पाउलान्?

  9. अहिले डोनल्ड ट्रम्प कहाँ छन्?

    ट्रम्प

    तस्बिर स्रोत, Getty Images

    केही दिनदेखि डोनल्ड ट्रम्प सार्वजनिक रूपमा देखा परेका छन्।

    उनलाई ट्विटरले प्रतिबन्ध लगाएको छ। त्यसैले राष्ट्रपति पदबाट निस्किएपछि आफूविरुद्ध भइरहेको सुनुवाइबारे उनको विचार देख्न पाइएको छैन।

    अहिले हामीलाई उनीबारे थाहा भएको कुरा यस्तो छ।

    उनी फ्लोरिडामा बस्छन्। गत मङ्गलवार स्थानीय पाम बीच नगर परिषद्ले उनलाई स्थायी बसोबासको अनुमति दिने पक्षमा मतदान गर्‍यो।

    सीएनएनका अनुसार बिहीवार उनलाई वेस्ट पाम बीचस्थित कोर्समा गल्फ खेल्दै गरिएको देखिएको थियो।

    वाशिङ्टन डीसीमा आफूविरुद्ध भइरहेको महाभियोगको सुनुवाइमा बयान दिन ट्रम्पले अस्वीकार गरेका छन्।

    उनका वकिलहरूले शुक्रवार आफ्ना तर्कहरू प्रस्तुत गर्नेछन्। ट्रम्पले सुनुवाइलाई कसरी नियालिरहेका छन् भन्ने स्पष्ट भएको छैन।

  10. ट्रम्पलाई दोषी ठहर नगरिए ‘फेरि दङ्गा हुन सक्छ’

    अमेरिका

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, सुनुवाइका क्रममा डेमोक्र्याटहरूले प्रहरी, कर्मचारी, गुप्तचर तथा विदेशी सञ्चारमाध्यमको कथनलाई प्रस्तुत गरेका थिए

    तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना अमेरिकी संसद्‌भवनमा दङ्गा गर्न उकासेको निष्कर्ष निकाल्दै डेमोक्र्याटहरूले ट्रम्पलाई दोषी ठहर नगरिए उनले फेरि त्यस्तो घटना गराउन सक्ने चेतावनी दिएका छन्।

    ट्रम्पविरुद्ध महाभियोग लगाउने सुनुवाइका क्रममा बिहीवार अभियोजनदर्ताहरूले दङ्गाकारीहरूको भनाइ उल्लेख गर्दै ज्यानुअरी ६ मा क्यापिटल भवनमा भएको हिंसासँग ट्रम्पको सम्बन्ध भएको दाबी गरे। उनीहरूले उक्त घटनाबाट दीर्घकालीन हानि भएको तर्क गरे।

    डेमोक्र्याटहरूले ट्रम्पमाथि लगाइएको महाभियोग पारित गर्न सिनेटरहरूलाई आह्वान गरेका छन्।

    महाभियोग पारित गर्न सिनेटमा दुईतिहाइ बहुमत आवश्यक पर्छ। तर डेमोक्र्याटहरूसँग सामान्य बहुमत मात्र छ।

    महाभियोग पारित हुन १७ रिपब्लिकन सांसदले पनि साथ दिनुपरछ।

    महाभियोग पारित भए ट्रम्प राष्ट्रपतीय निर्वाचनमा सहभागी हुन पाउनेछैनन्।

    ट्रम्पको टोलीले शुक्रवार उनको प्रतिरक्षामा आफ्ना तर्कहरू प्रस्तुत गर्नेछ।

  11. स्वागतम्

    नमस्कार तथा शुभप्रभात।

    आज माघ ३० गते शुक्रवार। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।

    अहिलेसम्मका प्रमुख समाचारहरू -

    • अमेरिकामा डेमोक्र्याटहरूले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लगाइएको महाभियोग पारित गर्न सिनेटरहरूलाई आह्वान गरेका छन्। नत्र ज्यानुअरी ६ मा क्यापिट भवनमा भएको जस्तो आक्रमण दोहोरिने उनीहरूले चेतावनी दिएका छन्।
    • ब्रिटिश र अमेरिकी सरकारहरूले चीनमा बीबीसी वर्ल्ड टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाउने निर्णयको निन्दा गरेका छन्। कोरोनाभाइरस महामारी र उइगर मुस्लिमविरुद्ध चिनियाँ दमनबारे बीबीसीले प्रसारण गरेका समाचारलाई लिएर बेइजिङले उसमाथि पूर्वाग्रही र मिथ्या पत्रकारिता गरेको आरोप लगाएको छ।
    • यूकेका विदेशमन्त्री डोमिनिक राबले बेइजिङको कदमलाई ‘सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध’भनेका छन्। गत साता ब्रिटिश नियामक निकायले कम्युनिस्ट पार्टीबाट नियन्त्रित रहेको भन्दै चिनियाँ सरकारी टेलिभिजनको प्रसारण अनुमति खारेज गरेको थियो।
    • अमेरिकी राष्ट्रपति जो बाइडनले सबै अमेरिकीलाई लगाउन पुग्नेगरी कोभिड खोप जुटाइएको बताएका छन्। आफ्ना पूर्ववर्ती डोनल्ड ट्रम्पको प्रशासनले खोप कार्यक्रम राम्ररी सञ्चालन गर्न नसकेको भन्दै उनले अब भने फाइजर तथा मोडेर्ना कम्पनीसँग थप १०/१० करोड मात्राको खोप झिकाइएको र ती खोप गर्मीयामभन्दा पहिले नै प्राप्त हुने बताएका छन्। हालसम्म १० प्रतिशतभन्दा धेरै अमेरिकीले खोपको कम्तीमा एक मात्रा लगाइसकेका छन्।