रामकुमारी झाँक्री रिहा
बिहीबार दिउँसो पक्राउ गरिएकी नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव नेपाल समूहकी नेतृ नेत्री रामकुमारी झाँक्रीलाई साँझ रिहा गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी कृष्ण कोइरालाले साँझ झाँक्रीलाई रिहा गरिएको बताए।
उनले भने, “ अखिल नेपाल महिला संघको उजुरीका आधारमा हामीले उहाँलाई सोधपुछका लागि बोलाएका थियौँ। सोधपुछपछि उहाँको श्रीमानको जिम्मा लगाएर छाडिएको छ।”
उनले थपे, “गोरखामा उहाँले दिनुभएको अभिव्यक्तिको बारेमा गृहमन्त्रालयले सोधेको थियो।
"एउटा सम्मानित संस्थालाई आँच पुर्याउने खालको धारणा राख्नुभएको हो भनेर हामीले जिज्ञासा राख्दा उहाँले सम्मानित राष्ट्रपति प्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै कायम छ भनेर लेखेरै जवाफ दिनुभएको छ। त्यही अनुसार उहाँलाई रिहा गरिएको हो।”
रामकुमारी झाँक्रीले आफू "बिनासर्त निस्किएको" बताएकी छन्।
उनले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको पनि बताइन्।
उनलाई समर्थकहरूको नाराबाजीकाबीच काठमाण्डू शंखमूलस्थित निवासबाट प्रहरीले गिरफ्तार गरेर लगेको थियो।
उनलाई राज्य विरुद्धको कसुरको आरोपमा पक्राउ गरिएको थियो।
उनलाई पक्राउ गरिएपछि राजनितिक तथा मानवअधिकार क्षेत्रबाट त्यसको चर्को विरोध भएको थियो।







