प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा

नेकपा विवादका माझ निर्वाचनको तयारी बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्।

लाइभ कभरेज

  1. 'कोरोनाभाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको हुन नसक्ने'

    विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमण चीनको प्रयोगशालाबाट मानिसमा फैलिएको हुननसक्ने जनाएको छ।

    कोरोनाभाइरस पहिलोपटक देखापरेको चीनको वुहान सहरमा भ्रमणमा रहेको सङ्गठनको अनुसन्धान टोलीले उक्त निष्कर्ष निकालेको हो।

    वुहानको एउटा प्रयोगशालामा चमेरोमाथि अध्ययन गर्दा त्यहाँबाट कोरोनाभाइरसको महामारी सुरु भएको हुनसक्ने भन्ने आधारहीन आरोपहरू रहेका छन्।

    सङ्गठनको टोलीले वुहानका बजार, अनुसन्धान निकाय र अस्पतालहरूको भ्रमण गरेको थियो।

    मानिसमा सर्नुअघि भाइरस जनावरमा देखिएको हुनसक्ने वैज्ञानिकहरू विश्वास गर्छन् तर यसबारे उनीहरू पक्का भने छैनन्।

    पीटर बेन इम्बारेक

    तस्बिर स्रोत, Reuters

  2. कोभिड अपडेट: १६० जना सङ्क्रमित, दुई जनाको मृत्यु

    गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १६० जनामा पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यससँगै कुल सङ्क्रमित सङ्ख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ भने मृत्यु सङ्ख्या दुई हजार ४७ पुगेको छ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ३७ रहेको छ।

    गएको २४ घण्टामा निको भएका १६५ जनासहित कुल निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ छ।

    मङ्गलवार १० भन्दा बढी सङ्क्रमण पुष्टि भएका जिल्ला काठमाण्डू (६७) र कास्की (२६) मात्रै हुन्।

    कोभिड
  3. पहिलो चरणमा आधाभन्दा बढीले यसकारण लिएनन् खोप

  4. प्रचण्ड र माधव नेपालले भने: केपी ओली 'विक्षिप्त' र 'सत्ताको मात लागेको तानाशाह'

    प्रचण्ड

    मङ्गलवार बिहान प्रचण्ड र माधवकुमार नेपालले विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेटघाट आयोजना गरेका थिए।

    उक्त कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली 'विक्षिप्त' रूपमा प्रस्तुत भएको भन्दै 'असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको भुमरीमा पर्ने' चेतावनी दिएका छन्।

    नेपालले ओलीलाई 'सत्ताको मात लागेको तानाशाह' भन्दै 'अहिलेको लडाइँ पदको निम्ति होइन, न्यायको निम्ति हो' भने।

    सो भेटघाटमा प्रचण्ड र नेपालले अरू के के भने त? तल हाम्रो सामग्रीमा पढ्नुहोस्।

    नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहका नेताले विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग कुरा गर्दे संसद् पुनर्स्थापना नभए उक्त समूहले के गर्छ भन्नेबारे जबाफ दिएका छन्।

  5. प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगे

    यसैबीच मङ्गलवार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

    आगामी बैशाखमा हुने भनिएको निर्वाचनको आवश्यक तयारीको बारेमा बुझ्न आयोग पुगेको बताइएको छ।

    नेकपाको दलसम्बन्धी विवादमा पनि आयोगले निर्णय दिएको छैन।

    सरकारी समाचारसंस्था राससका अनुसार प्रधानमन्त्रीलाई प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत वस्तुुस्थितिबारे अवगत गराएका थिए।

    निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाएका राससले उल्लेख गरेको छ।

    प्रधानमन्त्री

    तस्बिर स्रोत, RSS

  6. म्यान्मारमा निषेधाज्ञा तर पनि विरोध प्रदर्शन जारी

    म्यान्मारमा भने सैनिक कूको विरोधमा आज पनि विरोध प्रदर्शनहरू जारी छन्।

    त्यहाँ रहेका पत्रकार दीपक भट्टराईका अनुसार त्यहाँ पाँच जनाभन्दा धेरै भेला हुन नपाउने सरकारी निषेधाज्ञाको अवज्ञा गर्दै बिहान नौ बजेपछि ठूला शहरमा जुलुस निस्केका छन्।

    सोमवार रातभर कर्फ्यु लगाइएको पनि उनले जनाएका छन्।

    हेर्नुहोस् म्यान्मारको आजको अवस्थाबारे हाम्रो एउटा भिडिओ:

    भिडिओ क्याप्शन सुरु हुँदैछ, म्यानमारको राजधानी लगायतका केही ठूला शहरमा सेनाले पाँचजना भन्दा बढीको भेलामा रोक लगाएको छ।
    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  7. भागरथी भट्टको घाँटी थिचिएर मृत्यु भएको पोस्टमार्टम प्रतिवेदन

    बैतडीमा गत बिहीवार शव भेटिएकी १७ वर्षीय भागरथी भट्टको घाँटी थिचिएका कारण मृत्यु भएको पोस्टमार्टम प्रतिवेदन प्रहरीलाई बुझाइएको छ।

    बैतडी अस्पतालका डा. वसन्त जोशीले भने: "यौनाङ्ग यसो हेर्दाखेरी जबरजस्ती यौन सम्पर्क भएको हो कि भन्ने प्रमाणहरू देखिन्छ। यौनाङ्गमा रगत आइरहेको र यौनीको झिल्ली च्यातिएको देखिएको छ।"

    डा. जोशी लगायत दुई जनाले भट्टको पोस्टमार्टम गरेका थिए।

    बैतडीको घटनास्थल पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले भने, "पोस्टमार्टमको रिपोर्ट प्राप्त भएको छ। त्यसमा घाँटी थिचिएका कारण मृत्यु भएको र बलात्कार पनि भएको भन्ने आएको छ।"

    "यहाँको परिवेश, घटनाको प्रकृति र पीडितको प्रकृति सबै हेरेर दायरा फराकिलो बनाएर अनुसन्धान शुरू गरेर, यसलाई क्रमश: प्रमाणीकरण गर्दै दायरा साँघुरो बनाउँदै लग्दै छौँ।"

    सम्बन्धित सामग्री

    • भागरथी भट्ट: दाजु भन्छन्, 'बहिनी घरको गरिबी हटाउने सपना देख्थी, आज यो अवस्था देख्नुपर्‍यो'
    भागरथी भट्ट

    तस्बिर स्रोत, Prakash Bhatta

  8. नेपाल-चीन सीमामा ५.४ रेक्टर स्केलको भूकम्प

    नेपाल-चीन सीमामा केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ७:३५ मा भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ओलाङचुङगोला ५.४ रेक्टर स्केलको भूकम्प गएको तथ्याङ्क प्रकाशन गरेको छ।

    ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समिति राससले जनाएको छ।

    ओलाङचुङगोलामा भूकम्पले पुरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले राससलाई जानकारी दिएका छन्।

    भूकम्प
  9. उत्तर भारतको बाढी: २६ शव फेला, १७१ अझै बेपत्ता

    उत्तर भारतमा हिमनदीमा आएको बाढीमा परेर मृत्यु भएका २६ जनाको शव फेला परेको छ।

    अझै पनि १७१ जना हराइरहेका बीबीसी हिन्दीले बताएको छ।

    उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले त्यहाँ निर्माणाधीन सुरुङमा ३०-३५ जना फँसेको हुनसक्ने भएकाले त्यहाँ उद्धार गर्ने प्रयास भइरहेको बताएका छन्।

    सो सुरुङलाई रातभरि खोल्ने प्रयास गरिएको तर जीवित व्यक्तिसँग कुनै सम्पर्क भने अहिलेसम्म नभएको बताइएको छ।

    भारत

    तस्बिर स्रोत, ANI

  10. शुभ प्रभात। स्वागतम्।

    नमस्कार। शुभ प्रभात।

    आज मङ्गलवारका दिन दिनभरि अपडेट हुने हाम्रो लाइभ पेजमा स्वागत छ।

    अहिलेसम्मको प्रमुख अन्तर्राष्ट्रिय समाचारहरू यसप्रकार छ:

    • डोनल्ड ट्रम्पका वकिलहरूले महाभियोग मुद्दालाई खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।
    • कोरोनाभाइरससम्बन्धी सहायता कार्यक्रम र खोप लगाउने बढ्दो क्रमबीच अमेरिकी मुख्य अर्थ बजारमा ठुलो सुधार देखिएको छ। एस एन्ड पी फाइभ सूचकाङ्क लगातार छैटौँ दिन उकालो लागेको छ।
    • विश्व स्वास्थ्य सङ्गठनले कोभिड खोपका प्रभावकारितालाई लिएर निष्कर्षमा पुग्ने गरिएकोबारे चेतावनी दिएको छ। खोपसम्बन्धी डब्ल्यूएचओकी निर्देशक क्याथ्रिन ओब्राएनले खासगरी गम्भीर बिमारी हुन र त्यसबाट मृत्यु हुनबाट जोगाउने कुरामा दक्षिण अफ्रिका भेरीअन्टमाथि अक्सफर्ड-एस्ट्राजेनेका खोपको प्रभाव अझै देखिनु खुसीको कुरा भएको बताइन्।
    • जर्मनी, पोल्यान्ड र स्वीडेनका सरकारले जबाफी कारबाही स्वरूप रुसी कूटनीतिज्ञहरूलाई आआफ्नो देशबाट निकाला गर्ने घोषणा गरेका छन्। गत सप्ताहान्ततिर युरोपेली सङ्घका विदेश नीति प्रमुखको विवादास्पद मस्को भ्रमणका बेला रुसी सरकारले जर्मनी, पोल्यान्ड र स्वीडेनका कूटनीतिज्ञहरूलाई विपक्षी नेता एलेक्सी नभाल्नीको समर्थनमा आयोजना गरिएका प्रदर्शनहरूमा सहभागी भएको आरोपमा देश निकाला गरेको थियो।