आजका प्रमुख समाचार
प्रत्येक दिन हामी देश र विदेशका प्रमुख समाचारहरू यहाँ प्रकाशित गर्छौँ।
यसभन्दा तल स्क्रोल गरेर तपाईँ आजका मुख्य समाचार पढ्न सक्नुहुन्छ।
शुभरात्रि।
कोरोनाभाइरस नियन्त्रण र रोकथाममा अग्रपङ्क्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायतलाई खोप लगाइने अधिकारीहरूले जनाएका छन्।
प्रत्येक दिन हामी देश र विदेशका प्रमुख समाचारहरू यहाँ प्रकाशित गर्छौँ।
यसभन्दा तल स्क्रोल गरेर तपाईँ आजका मुख्य समाचार पढ्न सक्नुहुन्छ।
शुभरात्रि।
नेपालमा कोभिड खोप अभियानको पहिलो दिन अपराह्ण ५ बजेसम्म कुल ९,०४८ जनालाई खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
खोप लगाइएका व्यक्तिमा कुनै स्वास्थ्य समस्या नदेखिएको उसको भनाइ छ।
मन्त्रालयका अनुसार ६४ जिल्लाका ९३ केन्द्रमा खोप कार्यक्रम सञ्चालन भएका थियो।
कुन प्रदेशमा कति जनाले लगाए खोप?
बुधवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान आरम्भ गरेका थिए।
भारतबाट अघिल्लो साता प्राप्त १० लाख कोभिशील्ड खोप पहिलो चरणमा वितरण गर्न लागिएको हो।
अहिले पहिलो मात्रा खोप लिएका व्यक्तिहरूले चार हप्तापछि दोस्रो मात्रा खोप लिनुपर्ने अधिकारीहरूले बताएका छन्।
भारतबाट अनुदानमा प्राप्त खोप स्वास्थ्यकर्मी सहित अग्रमोर्चामा खटिने चार लाख ३० हजार व्यक्तिहरूलाई दिन लागिएको सरकारले बताएको छ।

प्रदेश नं २ मा पहिलो कोभिड खोप वीरगन्जको नारायणी अस्पतालको एनआईसीयू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई दिइएको छ।
थापाले खोप लिएपछि अरूलाई पनि खोप लगाउन आग्रह गरिन्।
उनले भनिन्: "विश्वभरि नै फैलिएको महामारीमा खट्दा डर लागेको थियो तर खोप लगाउँदा धेरै खुसी छु। नराम्रो असर महसुस भएको छैन।"
"डराएर वा भ्रममा परेर नलगाउनु भन्दा मन प्रफुल्लित बनाएर शान्तlका साथ लाउँदा सकारात्मक छ। त्यसैले नडराईकन यो भ्याक्सिन लाउनुस् भनेर आग्रह गर्छु।"
त्यस्तै खोप लिएका अस्पतालका डा. नीरज सिंहले भने: "देशभरिमै सबैभन्दा पहिले कोरोनाभाइरसका बिरामी फेला परेका र पछि हटस्पट नै भएको ठाउँ हो वीरगन्ज। त्यसैले आज पहिलो खोप लगाउँदा पनि धेरै खुसी छु।"
अर्का डा. सरोज सिंहले पनि खोपका बारेमा फैलिएको भ्रममा नपर्न अनुरोध गरे।
तर खोपका बारेमा सर्वसाधारणमा डर भने कायमै छ। खोप कार्यक्रममा भेटिएका वीरगन्जका बासिन्दा अली असलम अन्सारी भन्छन्: "खोप आइसकेपछि खुसी पनि छ, त्रास पनि छ । भारतमा कतिपय मानिसहरूको मृत्यु भएको स्वास्थ्यमा प्रभाव पारेको जस्ता कुराहरूले डर पनि छ।"
स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले पहिलो चरणको लागि प्रदेश २ का ३४,८०४ मात्रा खोप आएकोमा हालसम्म ३१,००० हजार बढीको नाम सङ्कलन गरिएको बताए।
कोभिड–१९ विरुद्धको खोप अभियानको प्रदेश नं २ का ८ वटै जिल्लामा एकैसाथ सुरुवात गरिएको छ । पर्सामा नारायणी अस्पताल वीरगन्ज, बारामा कलैया अस्पताल, रौतहटको गौर अस्पताल,सर्लाहीको मलंगवा अस्पताल, महोत्तरीको जलेश्वर अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, सिराहाको सिराहा अस्पताल, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल र रुपनीस्थित प्रहरी प्रादेशिक अस्पतालमा गरी ९ वटा अस्पतालमा खोप अभियान सुरु गरिएको हो ।

नेपालमा विगत २४ घण्टामा थप २८३ जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा तीन जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको सङ्ख्या २,०२० पुगेको छ।
हाल नेपालमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण रहेका ३,२८६ जना रहेका छन्।
यो पनि हेर्नुहोस्

नेपाल प्रहरी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
एपीएफ क्लबले ९ विकेट गुमाएर २०३ रन बनाएको थियो जसमा शङ्कर रानाको ४४ रन, भुवन कार्कीको ४२ रन सन्दीप जोराको ३४ रनको योगदान थियो।
जबाफमा नेपाल प्रहरी क्लबले १७३ रन मात्रै बनाउन सक्यो। सो टोलीका लागि पवन सर्राफले ४० रन, रसिद खानले ३४ र दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए।
बलिङतर्फ एपीएफका कार्कीले ४ विकेट एवम् कमल ऐरी, अविनाश बोहरा र शरद भेषवाकरले २-२ विकेट लिए। प्रहरीका तर्फबाट आरिफ शेखले ३ विकेट एवम् ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिएका थिए।
एपीएफले अब शनिवार फाइनलमा बिहीवारको त्रिभुवन सैनिक क्लब र वाग्मती प्रदेशबीचको सेमीफाइनल खेलको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा विजयी टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS


तस्बिर स्रोत, RSS

यूकेमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको दिन एक जना वरिष्ठ वैज्ञानिकले अझै थप ५०,००० को मृत्यु हुन सक्ने बताएका छन्।
सरकारको आपत्कालका लागि वैज्ञानिक सुझाव समूहका प्राध्यापक कालुम सेन्पलले बीबीसीलाई महामारी कम हुनभन्दा पहिले अर्को ४० देखि ५० हजार जनाको मृत्यु हुन सक्ने बताएका हुन्।
"अहिले उकालो लागिरहेको मृत्यु सङ्ख्या ओरालो लाग्दा पनि त्यसै गरी घट्ने सम्भावना हुन्छ," उनले भने।

तस्बिर स्रोत, तस्बिर सौजन्य: हर्क बस्नेत
जुम्लाको तिला गाउँपालिका गोठी गाउँमा आगलागी हुँदा ३२ वटा घर पूर्ण रूपमा जलेर ध्वस्त भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन्।
उनका अनुसार ६४ पशु गोठभित्र जलेर मरेका छन्। मानिसहरू आफैँलाई बाँच्न मुस्किल भएपछि पशुचौपायाको उद्धार गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाले पाँच जनासम्म सदस्य भएको पीडित परिवारलाई १५,००० रुपैयाँ र त्योभन्दा बढी परिवार भएकालाई २५,००० रुपैयाँ राहत दिएको छ।
प्रदेश सरकारमार्फत् प्राप्त पाँच लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्न थालिएको योगीले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँका जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा राहत वितरणको लागि हेलिकप्टर आउने तयारी भइरहेको छ ।
पानी अभाव भएका कारण आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन नसकिएको चौलागाईँले बताए।
नेपाल प्रहरी र नेपाली सेनाको टोली आगलागी नियन्त्रण र उद्धार कार्यलाई लागि परिचालित भएको र मानवीय क्षति नभएको चौलागाईँले बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

नेपाल कम्युनिस्ट पार्टी नेकपाको कुनै पनि समूहमा नदेखिएका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले 'पार्टी एकता अभियान' आरम्भ गरेका छन्।
बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले राष्ट्रिय एकता अभियान घोषणा गरेका हुन्।
नेकपा राजनीतिक तथा व्यावहारिक रूपमा फुटिसकेको तर कानुनी रूपमा नफुटेको अवस्थामा राजनीतिक तथा व्यावहारिक रूपमा पनि एकताका लागि उक्त अभियानको सुरु गरेको उनले बताए।
उनले भने, "तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकताले संसारलाई तरङ्गित बनाएको थियो। संसारलाई पहिलो उदाहरण बनेको थियो।"
पार्टी एकताका लागि १३ वर्षसम्म लगातार मेहनत गरेको भए पनि एकता भएको तीन वर्ष पनि नपुगी विभाजन भएको गौतमले बताए।
व्यावहारिक एकता नभई अबको चुनावमा पराजित हुने विकल्प नभएकाले फुटेर होइन जुटेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।
अभियानको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हुने गौतमले बताए।
उनका अनुसार उक्त अभियान सबै तहमा आयोजना बताइएको छ।
भारतका किसान नेताहरूले मङ्गलवार दिल्लीमा भएको हिंसाको निन्दा गरेका छन्।
उनीहरूले हिजोको प्रदर्शनमा बाह्य तत्त्वले घुसपैठ गरेको जनाएका छन्।
तर सरकारले ल्याएका कृषिसम्बन्धी कानुनहरूविरुद्ध जारी आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।
दिल्लीको बाह्य भागमा हिजो हजारौँ किसान र प्रहरीबीच भिडन्त भएको थियो।
त्यस क्रममा एक व्यक्तिको मृत्यु भएको थियो भने ८० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका थिए।

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सबै नेपालीले कोरोनाभाइरसविरुद्ध खोप प्राप्त गर्ने बताएका छन्।
कोभिडविरुद्ध खोप अभियानको शुभारम्भ गर्दै ओलीले सबै नेपालीले निःशुल्क खोप प्राप्त गर्ने बताएका हुन्।
“तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछौँ। मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्छ,” उनले भने।
खोप नाफा कमाउने विषय हुनु नहुने र यो सबैको पहुँचमा हुनुपर्ने उनले बताए।
सरकारले बुधवार करिब १२० स्थानबाट एकै पटक देशव्यापी रूपमा खोप कार्यक्रम अघि बढाएको छ।

तस्बिर स्रोत, RSS
“त्यसकारण हामीले नीति लिएका छौँ - कोही पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले निःशुल्क खोप प्राप्त गर्नेछ। चाहे हामी अनुदानका रूपमा प्राप्त गरौँ अथवा हामीले किन्न परोस्। तर हामी हाम्रा देशवासीहरूलाई निःशुल्क बिनाभेदभाव संवेदनशीलताका हिसाबले प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउने छौँ,” भर्चूअल कार्यक्रममा बोल्दै उनले भने।
खोप प्राप्त भए पनि मास्क प्रयोग, सरसफाइ, सामाजिक दूरी कायम गर्ने विषय र खानपानमा ध्यान दिन उनले सर्वसाधारणहरूलाई आग्रह गरे।
खोप कार्यक्रम सुरु गरेर कोभिड विरुद्धको लडाइँलाई माथि उठाएको उनले बताए।
कोरोनाभाइरस महामारीविरुद्ध लड्ने क्रममा निभाएको भूमिकाका लागि ओलीले चिकित्सक, नर्स, स्वास्थ्यसेवामा लागेका कर्मचारी, सरसफाइमा खटिएका कर्मचारी, सुरक्षा निकायमा अधिकारीहरू र एम्बुलेन्स सञ्चालकको तदारुकताको प्रशंसा गरे।
“जनता र देश सेवाको भावको सम्मान गर्न चाहन्छु,” उनले भने।
कतिपय कार्य परिपक्व नभएको हुन सक्ने भए पनि स्थानीय तह र त्यहाँ जनप्रतिनिधिहरूले औचित्य पुष्टि हुनेगरी काम गरेको भन्दै ओलीले प्रशंसा गरे।

तस्बिर स्रोत, EPA
नेपालमा सुरु भएको खोप अभियानका लागि भारतले सहयोग दिएको १० लाख मात्रा कोभिशील्ड खोप प्रयोग भइरहेको छ।
संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको हो।
नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले 'खोप कूटनीति' का रूपमा अर्थ्याएका छन्।
भारतको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड हो। त्यसले नेपालमा पनि आपत्कालीन प्रयोगको अनुमति पाएको छ।
भारतमा निर्मित उक्त खोपका बारेमा हामीलाई थाहा भएका कुरा के-के हुन् त? यहाँ पढ्नुहोस्।
संसद् विघटन गरिनुअगाडि ल्याएको ध्यादेशमार्फत् संवैधानिक परिषद्को कोरमसम्बन्धी प्रावधान परिवर्तन गरी संवैधानिक निकायहरूमा रिक्त पदमा नियुक्तिको सिफारिस गरिएको थियो।
प्रतिनिधिसभा भङ्ग भएपछि संसदीय सुनुवाइ नहुने भएकाले माघ २० मा ४५ दिन पुगेपछि सिफारिस व्यक्तिहरूले स्वतः नियुक्ति पाउने सरकार पक्षको भनाइ छ।
तर एउटा संवैधानिक निकायका पूर्वप्रमुख तथा कानुनविद्ले त्यस्तो नियुक्ति यथास्थितिमा कार्यान्वयन गर्नु संविधानविपरीत हुने बताएका छन्।
यसबारे विस्तृत समाचार यहाँ छ।

तस्बिर स्रोत, MoHP
नेपालमा कोभिड खोप अभियान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा भर्चूअल माध्यमबाट जोडिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाएका छन्।
अमेरिकी सिनेटका कयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पमाथिको महाभियोग सुनुवाइ रोक्ने प्रयासस्वरूप एउटा मतदान गरेका छन्।
पचास जना रिपब्लिकन सांसदहरूमध्ये पाँच जनाले मात्र ट्रम्पको महाभियोग अगाडि बढाउने पक्षमा उभिए भने ४५ ले त्यसलाई रोक्नुपर्ने धारणा राखे।
ट्रम्पमाथिको महाभियोग पारित नहुनसक्ने यो एउटा स्पष्ट सङ्केत हो।
महाभियोग पारित हुन माथिल्लो सदनका कम्तीमा १७ रिपब्लिकन सांसदहरू र सबै डेमोक्रयाटहरू पक्षमा उभिनुपर्छ।

तस्बिर स्रोत, Reuters
संवैधानिक निकायका पूर्वप्रमुख तथा कानुनविद्ले संसद् विघटन हुनुअगावै अध्यादेशमार्फत् संवैधानिक परिषद्को कोरम परिवर्तन गरी गरिएको संवैधानिक नियुक्तिको सिफारिस यथास्थितिमा कार्यान्वयन गर्नु संविधानविपरीत हुने बताएका छन्।
नियुक्तिका लागि प्रस्तावित नामहरू प्रतिनिधिसभा विघटन भएको सूचना राष्ट्रपतिले जारी गर्नु ६ मिनेटअघि सङ्घीय संसद्को सचिवलायमा पठाइएको थियो।
संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा प्रस्तावित उम्मेदवारको नियुक्तिको लागि कुनै बाधा नपुग्ने व्यवस्था सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा उल्लेख छ।
ती नियुक्तिबारे सचिवालयलाई जानकारी गराइएको ४५ दिन माघ २० गते पुग्दैछ।

तस्बिर स्रोत, RSS
नेपालमा बुधवारदेखि कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुँदै छ।
कोरोनाभाइरस नियन्त्रण र रोकथाममा अग्रपङ्क्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी लगायतलाई खोप लगाइने अधिकारीहरूले जनाएका छन्।
आज सात वटै प्रदेशका ६२ वटा अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सुरु हुने यो कार्यक्रमको पहिलो चरण १० दिनभित्र सकिने बताइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बीबीसी न्यूज नेपालीसँग भने, "खोप कार्यक्रम सात वटै प्रदेशमा सुरु हुन्छ। पहिलो दिन १२० भन्दा बढी खोप केन्द्रहरूबाट खोप दिने काम हुने छ।"
"काठमान्डौंका अधिकांश ठूला अस्पतालहरू खोप केन्द्र बनाइएको छ। हरेक खोप केन्द्रहरूमा कतै सरसफाइ कर्मचारी, कतै नर्स त कतै एम्बुलेन्स चालक अनि कतै चिकित्सकहरूलाई खोप दिएर यो सुरु गरिने छ।"

तस्बिर स्रोत, RSS
सङ्क्रमणको अवस्था गत वर्षको माघ ९ गते नेपालमा पहिलो पटक कोरोनाभाइरसका सङ्क्रमित फेला परेका थिए। पछिल्लो एक वर्षमा नेपालमा २७०,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भइसकेको छ भने २,००० बढीको ज्यान गइसकेको छ।
खोप लगाएका व्यक्तिलाई आधा घण्टासम्म स्वास्थ्य निगरानीमा राखिने मन्त्री त्रिपाठीले बताए। उनले भने "केही दुष्प्रभाव देखिन्छ कि भन्नेमा सचेत छौँ। सबै खोप केन्द्र अस्पतालमा र लगाउनेहरू अस्पतालसँग जोडिएकाले त्यस्तो कुनै समस्या आउने छैन।"
नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको यो खोप 'कोभिशील्ड' अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनिकाले विकास गरेको अनि भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको हो।
बीबीसी न्यूज नेपालीको लाइभ अपडेट पेजमा स्वागत छ।
आज बुधवार दिनभरि हामी महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू यहाँ अपडेट गर्नेछौँ।