दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएपछि म्यान्मारमा सैन्य कानुन विस्तार र अन्य समाचार

म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।

लाइभ कभरेज

  1. ठूलो रक्तपातपछि म्यान्मारमा सैन्य कानुन विस्तार, आइतवार झन्डै ५० प्रदर्शनकारीको मृत्यु

    म्यान्मार

    तस्बिर स्रोत, Reuters

    म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।

    गत माघ १९ गते सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि आन्दोलन चर्किएको छ।

    हिजो देशभरि भएका विरोधप्रदर्शनहरूमा झन्डै ५० जनाको मृत्यु भएको बताइएको छ।

    सेना र प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली प्रहार गरेका थिए। अधिकांश मृत्यु याङ्गुनमा भएको हो।

    नेत्री आङ सान सू चीलाई अदालतमा पेस गर्ने तालिका भएको एक दिनअघि रक्तपात भएको हो।

    तर आज उनलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको छ।

    प्रजातन्त्रवादी आन्दोलनकारीहरूले सू चीसहित अन्य नेताहरूको रिहाइको माग गरेका छन्।

    सैन्य शासकहरूले उनीविरुद्ध भ्रष्टाचारसहित सहित विभिन्न मुद्दा हालेका छन्।

    म्यान्मार

    तस्बिर स्रोत, EPA

  2. एमालेको अनौपचारिक बैठकमा आयोजक केपी शर्मा ओलीको 'कठोर' प्रस्तुति

  3. माधव नेपाल पक्षले भन्यो 'निर्णय मान्दैनौँ'

    नेकपा एमालेका दुई समूहको बैठक बिनानिष्कर्ष टुङ्गिएको सहभागी नेताहरूले बताएका छन्।

    माधवकुमार नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष भीम रावलका अनुसार गएको शुक्रवार प्रधानमन्त्री ओली पक्षधर नेताहरूको बैठकले गरेको निर्णय खारेज गर्न गरिएको मागबारे प्रधानमन्त्री ओलीले कुनै प्रतिबद्धता जनाएनन्।

    “करिब दुई घण्टा छलफल भयो। तर हाम्रो कुरा मिलेन,” उनले भने।

    नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्को बैठकको मिति निश्चित गरिएको छैन।

    प्रम ओली

    तस्बिर स्रोत, RSS

    सर्वोच्च अदालतले फैसलाले अघिल्लो साता एमालेलाई ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसहित दुई पक्षका नेताहरूको बैठक पहिलो पटक बसेको थियो।

    आजको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए।

    अडान

    धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आयोजित भेटघाटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता रघुजी पन्तले "एकअर्काका कुरा सुन्ने, बुझ्ने काम" भएको बताए।

    उनले भने, "हामीले आफ्ना अडान राख्यौँ।" आफूहरूले २८ गतेको निर्णय नमान्ने अडान राखेको उनले बताए।

    नेता रावलले २८ गते ओली पक्षले गरेको केन्द्रीय सदस्य थप र पदाधिकारी खारेजीसहितका निर्णय नउल्टाइएसम्म आफ्नो पक्षका गतिविधि जारी रहने बताए।

    शुक्रवार प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरूको बैठकले एमालेका अध्यक्ष र महासचिव पदलाई यथावत् राख्दै अन्य पदाधिकारी खारेज गरिएको विवरण आएको थियो।

    नेपाल-खनाल पक्षका कतिपय नेताहरूको जिम्मेवारी खोस्दै ओलीले सातवटै प्रदेशको इन्चार्ज आफूलाई समर्थन गर्ने नेतालाई तोकेका छन्।

    उक्त बैठकले नेकपा मओवादी केन्द्रबाट आएका २३ जना नेताहरूलाई केन्द्रीय समितिमा जिम्मेवारी दिने निर्णय गरेपछि ‌नेपाल पक्षले आक्रोश व्यक्त गरेको थियो।

    देशभरि समानान्तर सङ्गठन स्थापना गर्ने चेतावनी दिएको नेपाल पक्षले पूर्ववत् अवस्थामा समितिहरू कायम नभए चैत ७ का लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा भाग नलिने बताइरहेको छ।

    ओली पक्षका नेताहरूले केही प्रतिक्रिया दिइसकेका छैनन्।

  4. साउदी अरबको नयाँ नीतिबाट 'नेपाली श्रमिकलाई फाइदा पुग्ने',

    एमआरपी राहदानीका लागि रियादस्थित नेपाली दूतावासमा पङ्क्तिबद्ध भएका नेपाली श्रमिकहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, फाइल तस्बिर - एमआरपी राहदानीका लागि रियादस्थित नेपाली दूतावासमा पङ्क्तिबद्ध भएका नेपाली श्रमिकहरू

    नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकमध्येको एक साउदी अरबले लागु गरेको एउटा नयाँ नीतिले कैयौँ नेपाली कामदारलाई फाइदा पुग्ने त्यहाँस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

    ‘कफला’ प्रणाली भनिने त्यहाँको रोजगारसम्बन्धी एउटा व्यवस्थामा गरिएको परिवर्तन हिजोदेखि लागु भएको छ।

    नयाँ प्रावधानबाट समय सकिएर पनि मालिकको अनुमति पाउन नसक्दा स्वदेश फर्किन नसकेका र मन नपरेको कम्पनी छाड्न चाहने कामदारलाई सहज हुने बताइएको छ।

    साउदी अरबले गत नोभेम्बरमै कफला प्रणालीमा सुधारको घोषणा गरेको थियो।

    नयाँ व्यवस्थाले नेपाली कामदारलाई हुने फाइदाबारे रियादस्थित नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत भन्छन्, "अब सम्झौता पूरा भइसकेपछि काम, मालिक र ठाउँ परिवर्तन गर्न पाइने भयो," राजदूत राजपुतले भने, "[पहिलाको] त्यो कठोर अवस्थाको अन्त्य भएको छ।"

    नेपाली दूतावासका अनुसार पुरानो कफला प्रणालीका कारण कैयौँ नेपाली कामदारले आफूहरूले दु:ख पाएको गुनासो गर्ने गरेका थिए। अब भने त्यस्तो गुनासोमा कमी आउने अपेक्षा गरिएको छ।

    नयाँ प्रावधानबारे धेरैभन्दा धेरै नेपाली कामदारलाई जानकारी दिन दूतावासले अभियान नै चलाउन लागेको राजदूत राजपुतले बताएका छन्।

    अधिकारीहरूका अनुसार साउदी अरबमा अहिले तीन लाख २५,००० को हाराहारीमा नेपाली कामदारहरू भएको आधिकारिक तथ्याङ्क छ।

    त्यसबाहेक थप २०-२५ हजार नेपालीहरू अवैध रूपमा त्यहाँ भएको हुनसक्ने अनुमान छ।

  5. प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीच भेट

    भेटघाट

    तस्बिर स्रोत, Twitter/Surya Thapa

    प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यालयमा भेट गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन्।

    नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गत शुक्रवार नेपाल पक्षका केही नेतालाई दलभित्रको जिम्मेवारीबाट मुक्त गरिदिएपछि दुई समूहबीचको विवाद झन् चुलिएको थियो।

    सर्वोच्च अदालतले तत्कालीन नेकपा र नेकपा माओवादी केन्द्र अलगअलग दल कायम रहने निर्णय गरेपछि नेपाल र झलनाथ खनालसहित अन्य नेता तथा कार्यकर्ताले पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोडेर एमालेमै फर्किनुपर्ने परिस्थिति उत्पन्न भएको थियो।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

    ओलीपक्षीय नेताले पार्टीलाई सुदृढ बनाउने उद्देश्यले "जिम्मेवारीमा फेरबदल" गरिएको तर्क गरिरहेका छन् भने नेताद्वय नेपाल र झलनाथ खनाल पक्षले "विधानविपरीत" कदम भनिरहेको छ।

    आजको भेटघाटमा नेता खनाल उपस्थित थिएनन्।

    नेपालपक्षीय विष्णु रिजालले भने "संवाद र सहमतिका साथ सहकार्यबाहेक अर्को सुगम बाटो नभएको" भन्दै ट्वीट गरेका छन्।

    यो पनि पढ्नुहोस्

    • नेकपा एमाले अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले पार्टीभित्र गरेको निर्णयको राजनीतिक अर्थ
    • बादलसहित अन्य पूर्वमाओवादी नेतासँग स्पष्टीकरण मागिने, ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन अझै बाँकी
  6. अस्ट्रेलियामा लाखौँ महिला सडकमा

    सिड्नी

    तस्बिर स्रोत, Getty Images

    अस्ट्रेलियामा लाखौँ महिलाहरू यौन दुर्व्यवहारविरुद्ध आयोजित र्‍यालीमा सहभागी भएका छन्।

    अस्ट्रेलियाको संसद्‌लाई केन्द्रबिन्दु बनाएर भएको यौन आक्रमणका आरोपहरूपछि अस्ट्रेलियाभरि प्रदर्शन आयोजना गरिएका हुन्।

    'मार्च फर जस्टिस' नाममा सोमवार ४० सहरमा आयोजित प्रदर्शन 'अस्ट्रेलियाको इतिहासमा महिलाहरूको सबैभन्दा ठूलो प्रदर्शन’ हुने आयोजकहरूको अपेक्षा छ।

    थुप्रै प्रदर्शनकारीले विरोधमा कालो लुगा लगाएका छन्।

    प्रधानमन्त्री स्कट मोरिसनले प्रदर्शनकारीसँग भेट्न अस्वीकार गरेका छन्।

    आइतवार उनले संसद्‌भवनमा प्रदर्शनकारीको टोलीसँग भेट्न चाहे पनि प्रदर्शनकारीहरूले उनले र महिला मामिला मन्त्रीले र्‍यालीमै बोलेर माग सम्बोधन गर्नुपर्ने बताएका थिए।

    प्रदर्शन
  7. किमसँग कुरा गर्ने बाइडन प्रशासनको प्रयास

    एक अमेरिकी अधिकारीले समाचारसंस्थालाई रोएटर्स बताएअनुसार उत्तर कोरियासँग 'कैयौँ पटक' सम्पर्क गर्न खोजिएको भए पनि १२ महिनाभन्दा बढी समयमा 'कुनै अर्थपूर्ण सम्पर्क' स्थापना हुन सकेको छैन।

    के उत्तर कोरियाले अमेरिकी प्रयासलाई बेवास्ता गर्न खोजेको हो?

  8. ग्र्यामीमा कीर्तिमान

    बीयोन्से

    तस्बिर स्रोत, EPA/Handout

    गायिका बीयोन्सेले ग्र्यामी अवार्ड्समा नयाँ कीर्तिमान राखेकी छन्।

    यो वर्षसहित उनले अहिलेसम्म २८ पटक उक्त पुरस्कार पाएकी छन्। यसअघि एलिसन क्रौस सर्वाधिक ग्र्यामी अवार्ड्स पाउने कलाकार थिइन्।

    यस वर्षको पुरस्कार स्वीकार गर्दै बीयोन्सेले भनिन्, "म एकदमै सम्मानित भएकी छु, म एकदमै उत्साहित छु।"

    आइतवार आयोजित समारोहमा टेलर स्विफ्टले पनि कीर्तिमान राखेकी छन्। तीन पटक वर्षको उत्कृष्ट एल्बम जित्ने उनी पहिलो गायिका भएकी छन्।

    यसअघि उनले सन् २०१० र २०१६ मा पनि उक्त विधामा पुरस्कार पाएकी थिइन्।

  9. नेदरल्यान्ड्समा कोभिड खोपको प्रयोग अवरुद्ध

    नेदरल्यान्ड्स सरकारले आस्ट्राजेनेका कम्पनीको कोभिड खोपको प्रयोगलाई अस्थायी रूपमा रोकेको छ।

    उक्त खोप लिएका केहीमा रगत जम्ने समस्या देखिएको दाबीसहित समाचार प्रकाशित भएको बेला सावधानीका रूपमा त्यस्तो उपाय चालिएको डच स्वास्थ्यमन्त्रीले जनाएका छन्।

    त्यसबारे थप अनुसन्धान गरिने तर यतिखेरको निर्णय डेनमार्क र नर्वेबाट आएका सूचनाको भरमा भएको उनले बताए।

    आस्ट्राजेनेकाले कोभिड खोपका कारण रगत जमेको भन्ने खबरको खण्डन गरेको छ भने विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप रोक्नु नपर्ने जनाएको छ।

  10. ब्रजिलमा लकडाउनविरुद्ध प्रदर्शन

    ब्रजिलका राष्ट्रपति बोल्सोनारोका समर्थकहरूले देशभरि स्थानीय निकायले लगाएका लकडाउनविरुद्ध प्रदर्शन गरेका छन्।

    कोरोनाभाइरसको दोस्रो घातक लहरसँग सङ्घर्ष गर्न भन्दै त्यहाँ लकडाउन लगाइएको हो।

    रियो दि जेनेरियो र साउ पाउलोसहित देशभरि हजारौँ मानिसहरूले त्यस्तो प्रतिबन्ध खुकुलो पार्दै अर्थतन्त्रलाई तङ्ग्रिन दिनुपर्ने माग राखेका छन्।

    गत साता मात्र ब्रजिलमा दैनिक झन्डै २,००० मानिसले कोभिडका कारण ज्यान गुमाएका थिए।

  11. स्वागतम्

    नमस्कार। शुभप्रभात।

    बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो पेजमा हामी आज सोमवार चैत्र २ गते दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना तथा अन्य सामग्री प्रकाशित गर्नेछौँ।